तथ्यजाँच भ्रामक सूचना

के नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न नेपाली महिला गएकी हुन्?


के नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न नेपाली महिला गएकी हुन्?

बुधबार (१६ फागुन २०८०) को दिन चल्तिका केही अनलाइन मिडियाहरुमा नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो महिला भएको दावी गर्दै एउटा समाचार प्रकाशन भयो। यो समाचारलाई विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि सेयर गरे। तर हाम्रो तथ्यजाँचले भने यो समाचार भ्रामक भएको देखाएको छ।

के छ समाचारमा ?

रातोपाटी अनलाइनले ‘सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला’ लेखेको छ । त्यस्तै समाचारमा लेखिएको छ, ‘नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधबार अध्ययनका लागि नासा प्रस्थान गरेकी हुन् ।

समाचारको स्क्रिनसट


समाचारको आर्काइभ लिंक

नेपालखबर, नेपालप्रेस, नेपालभ्यूजले पनि सोही विवरणसहितको समाचार प्रकाशित गरेका छन ।

नेपालखबरमा प्रकाशित समाचारको स्क्रिनसट


समाचारको आर्काइभ लिंक

नेपाल प्रेसमा प्रकाशित समाचारको स्क्रिनसट


समाचारको आर्काइभ लिंक

नेपालभ्यूजमा प्रकाशित समाचारको स्क्रिनसट


समाचारको आर्काइभ लिंक

त्यस्तै अनलाइन खबरले आफ्नो ट्वीटर एकाउन्टमा भिडियो राख्दै लेखेको छ ‘नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली बनेकी रोजिता बुद्धाचार्य के भन्छिन् ?’

भिडियोको आर्काइभ लिंक

गोरखापत्रले आफ्नो युटुव च्यानलमा ‘ नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली बनिन् रोजिता बुद्धाचार्य’ शीर्षकमा भिडियो राखेको छ । भिडियोको  लिंक 

चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दले समेत रोजिता बुद्धाचार्यले नासामा पूर्ण छात्रवृत्ति पाएको र उनी त्यहाँ अध्ययन गर्ने पहिलो नेपाली रहेको उल्लेख गरेको छ ।

रुटिन अफ नेपाल बन्दले पोस्ट गरेको विवरणको स्क्रिनसट 

अरु पनि थुप्रै मूलधारका अनलाइन मिडियाहरुमा यो समाचार आएको देखिन्छ।

के हो तथ्य ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको सन् २०२४ को छात्रवृत्ति घोषणा हुनै बाँकी नै छ । यसका लागि आवेदन दिने म्याद  अप्रिल ३० सम्म छ । यस विषयमा नासाको आधिकारिक साइटमा उल्लेख गरिएको छ ।

नासाको साइटमा उल्लेखित विवरणको स्क्रिनसट


मिडिया र सोसल मिडियाले समाचारमा नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो महिला दाबी गरेकी रोजिता बुद्धाचार्यले स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा सन् २०१७ मा समर इन्टर्नसिप गरेकी थिइन ।
यस विषयमा सन २०१७ मा प्रकाशित समाचारको स्क्रिन सर्ट

छोटकरीमा एटिएसआई भनिने स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा रोजिताले सन् २०१७ मा समर इन्टर्नसिप गरेकी हुन्। उक्त संस्था सन १९८१ मा स्थापना भएको कम्युनिटीबेस्ड साइन्स सेन्टर हो । एसोसिएसन अफ युनिभर्सिटिज फर रिसर्च इन एस्ट्रोनोमीले नासाका लागि सञ्चालन गरेको यो सेन्टरमा रोजिताले २०१७ अगस्त ७ मा प्रस्तुति पनि दिएकी थिइन, जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ ।

रोजिता छात्रवृत्तिमै पढ्नका लागि हाल बेलायत पुगेकी छिन् । उनले बेल बर्नेल ग्रेजुएट स्कलरसिप प्राप्त गरेकी हुन् । यो छात्रवृत्ति युनिभर्सिटी अफ म्यानचेस्टरले छात्रवृत्ति डक्टरल स्कलरसिप फन्ड अन्तर्गत भौतिकशास्त्र (फिजिक्स) अध्ययनका लागि दिन्छ । यस बारेको थप जानकारी यहाँ छ ।

छात्रवृत्तिमा उनी सहित छनोटमा परेकाहरुको नामलिस्टको स्क्रिनसर्ट

यस विषयमा रोजिता आफैले पनि फेसबुक पोस्टमार्फत स्पष्ट पारेकी छिन् । उनले आफू बेलायतको लिभरपुलमा रहेको खुलाउँदै आफूले ‘नबोलेका, नभनेका, कहीँ कतै सेयर नगरेका नलेखेका कुरालाई भेरिफाइ नगरी’ लेखिएको दावी गरेकी छिन्।

उनको फेसबुक पोस्टको स्क्रिनसट


उनको फेसबुक पोस्टको आर्काइभ लिंक

तथ्यजाँच

दाबीः नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन रोजिता बुद्धाचार्य

दाबीकर्ताः रातोपाटी, नेपालखबर, नेपालप्रेस, नेपालभ्यूव, गोरखापत्र, अनलाइन खबर र रुटिन अफ नेपाल बन्द

तथ्यः भ्रामक। रोजिता बुद्धाचार्यले स्कलरसिप पाएको साँचो हो। तर अमेरिकाको नासामा हैन बेलायतमा। त्यहाँको युनिभर्सिटी अफ म्यानचेस्टरले डक्टरल स्कलरसिप फन्ड अन्तर्गत भौतिकशास्त्र (फिजिक्स) अध्ययनका लागि स्कलरसिप दिएको हो। उनले सन् २०१७ मा अमेरिकाको बाल्टिमोरस्थित स्पेश टेलिस्कोप साइन्स इन्स्टीच्यूटमा ३ महिने समर इन्टर्नशिप गरेकी थिइन । रोजिता आफैले पनि यो विषयमा सामाजिक सञ्जालमा स्पष्ट पारेकी छिन्। त्यसैले मिडिया र सोसल मिडियामा गरिएका दाबी भ्रामक भएको निष्कर्षमा हामी पुग्यौँ ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add