तथ्यजाँच मिथ्या सूचना

नझुक्किनुस्, सिड्नीको ओपेरा हाउसमा नेपाली झण्डाको लाइटिङसहितको यो फोटो सही होइन


नझुक्किनुस्, सिड्नीको ओपेरा हाउसमा नेपाली झण्डाको लाइटिङसहितको यो फोटो सही होइन

सामाजिक सञ्जालमा अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसको लाइटिङमा चन्द्रसूर्यसहितको रातो नेपाली झण्डा जगमगाएको दृश्य भाइरल भएको छ।

तर हाम्रो तथ्य जाँचमा भने यो फोटो मिथ्या भएको देखिएको छ। ओपेरा हाउसले नेपाली झण्डासहितको लाइटिङ नगरेको जनाएको छ।

के छ भाइरल फोटोमा ?

क्रिकेट एसोसिएसन अफ नेपाल – क्यान नामको फेसबुक ग्रुपमा गत बिहीबार (२०२४ मार्च ७) मा सिडनीको ओपेरा हाउसमा नेपालको झण्डा लेखिएको फोटोसहितको पोस्टमा बुधबारसम्म २० हजार रियाक्सन देखिन्छ भने १२२ पटक यसलाई सेयर गरिएको छ। त्यस्तै १०२ वटा कमेन्ट पनि देख्न सकिन्छ। अर्काइभ लिङ्क

त्यसैगरी १ लाइक फर माइ कन्ट्री नामको १० लाख फलोअर्स भएको अर्को फेसबुक पेजमा पनि यही फोटो पोस्ट गरिएको छ। त्यसमा १४ हजार रियाक्सन छन् भने १५४ कमेन्ट भएको यो पोस्टलाई ८७ पटक सेयर गरिएको छ। अर्काइभ लिङ्क

 

फेसबुकमा “Nepal’s flag in Sydney’s Opera House” कीवर्ड राखेर सर्च गर्दा अरु पनि थुप्रै पेज र ग्रुपहरुमा यही फोटो सेयर भएको हामीले भेट्यौँ।

त्यसैगरी टिकटकमा पनि हामीले ओपेरा हाउसमा नेपाली झण्डाको लाइटिङसहितको भिडियो भाइरल भएको हामीले पायौँ। @anishanti5 युजर नेमबाट पोस्ट भएको भिडियोमा ११७५ लाइक देखिन्छ।

के हो तथ्य ?

हामीले सिड्नी ओपेरा हाउसको आधिकारिक वेबसाइट र सोसल मिडियामा त्यहाँ गरिने लाइटिङको विषय खोज्यौँ। विभिन्न अवसरमा त्यहाँ लाइटिङ गरिने सही हो। हेर्नुस् केही उदाहरण-

के नेपालको झण्डा पनि यसै गरी लाइटिङ गरिएको थियो ?

नेपालमा भाइरल भएको फोटो र भिडियोसहित हामीले यो जिज्ञासा सिड्नी ओपेरा हाउसकी कम्युनिकेसन म्यानेजर इज्जी म्युरिसनलाई इमेलमा राख्यौँ।

उनले ओपेरा हाउसको सेल्स (पालहरु) मा नेपाली झण्डाको लाइटिङ नगरिएको प्रष्ट पारिन्। बिगारिएको फोटो उत्पादन र वितरणमा आफूहरु संलग्न नरहेको पनि उनले बताइन्।

हेर्नुस् उनको इमेल-

तथ्य जाँच

दावी : अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसमा नेपालको झण्डा लाइटिङ गरियो।

दावी गर्ने : सामाजिक सञ्जाल प्रयोगकर्ताहरु।

तथ्य : मिथ्या सूचना। सिड्नी ओपेरा हाउसका कम्युनिकेसन म्यानेजर इज्जी म्युरिसनले नेपालफ्याक्टचेकलाई प्रतिक्रिया दिँदै ओपेरा हाउसको सेल्स (पालहरु) मा नेपाली झण्डाको लाइटिङ नगरिएको बताइन्। तसर्थ सामाजिक सञ्जालमा बिगारिएको फोटो भाइरल बनाइएको निश्कर्ष हाम्रो रह्यो।

 

[के तपाईँलाई सामाजिक सञ्जाल वा मिडियामा आएका कुनै विषय, फोटोमा शंका छ? हामीलाई ‌+9779886069780 नम्बरमा ह्वाट्सएप वा भाइबरमा पठाउनुस्। हामी सम्भव भएसम्म त्यसको तथ्य जाँच गरी सबैलाई जानकारी दिनेछौँ]


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add