- वसन्त खड्का
- चैत्र २९, २०८०
विद्यालय संख्याबारे रुटिन अफ नेपाल बन्दको दावी गलत
युवामाझ चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दले बिहीबार (चैत २९, २०८०) मा गरेको पोस्टमा बर्दियाको बढैयाताल गाउँपालिकामा जम्मा २७ वटा विद्यालय रहेको दाबी गरिएको छ। तर हाम्रो तथ्यजाँचले विद्यालय संख्याबारे गरिएको दाबी गलत देखिएको छ।
के छ दावी ?
रुटिन अफ नेपाल बन्दले बिहीबार फेसबुक पेजमा सूचना राख्दै लेखेको छ, ‘पढाइ कता जाँदैछः बर्दियाको बढैयाताल गाउँ पालिकामा कक्षा ८ को फाइनल एक्जाममा ७ वटा स्कुलका सबै स्टुडेन्ट फेल भएका छन्। त्यहाँ टोटल २७ वटा स्कूल छ।’
सो पोस्टमा बिहीबार साँझसम्म २५ हजार रियाक्सन, तीन हजार १०० कमेन्ट भएको देखिन्छ भने उक्त पोस्टलाई २८४ पटक सेयर गरिएको छ।
रुटिन अफ नेपाल बन्दले सेयर गरेको पोस्टको स्क्रिनसट
उक्त पोस्टको आर्काइभ लिंक
के हो वास्तविकता ?
बढैयाताल गाउँपालिकामा रहेका विद्यालयको संख्याबारेमा शंका लागेपछि हामीले त्यहाँ रहेका विद्यालयको संख्या खोज्यौँ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत असार २४ गते एक सूचना जारी गर्दै आइईएमआइएस (इन्टिग्रेटेड एजुकेशनल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) मा अद्यावधिक गरेको विद्यालयको तथ्याङ्क फेला पार्यौँ। उक्त सूचनामा देशभरका विद्यालयको विवरण राखिएको छ। त्यसमा हेर्दा लुम्बिनी प्रदेशको बर्दिया जिल्लास्थित बढैयाताल गाउँपालिकामा विद्यालयको संख्या ४३ रहेको देखिन्छ।
बढैयातालमा रहेका विद्यालयको सूचीको स्क्रिनसट
सूचनाको लिंक
सो पीडीएफमा रहेको सूचनालाई हामीले गुगल सिट्समा लगी बढैयाताल गाउँपालिकाका विद्यालयहरुमात्र छनौट गरेर यहाँ राखेका छौँ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।
बढैयाताल गाउँपालिकाको वेवसाइटमा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने निजी र सामुदायिक गरेर ५३ विद्यालय रहेको उल्लेख गरिएको छ।
गाउँपालिकाको वेवसाइटमा उल्लेख गरिएको विवरणको स्क्रिनसट
गाउँपालिकाको वेवसाइट लिंक
तथ्यजाँच
दाबीः बर्दियाको बढैयाताल गाउँपालिकामा २७ वटा विद्यालय छन् ।
दाविकर्ताः रुटिन अफ नेपाल बन्द ।
तथ्यः मिथ्या सूचना। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको आइईएमआइएसमा अद्यावधिक विद्यालयको सूची र गाउँपालिकाको वेवसाइटमा उल्लेख भएको विद्यालय संख्या भन्दा रुटिन अफ नेपाल बन्दले दाबी गरेको विद्यालय संख्या फरक र कम देखिन्छ । त्यसैले उक्त दाबी मिथ्या रहेको निष्कर्षमा हामी पुग्यौँ ।