- वसन्त खड्का
- बैशाख १३, २०८१

रघुवीर महासेठ उद्योग मन्त्री होइन भौतिक पूर्वाधार तथा यातायात मन्त्री
एपिवान टेलिभिजनबाट प्रसारण हुने ‘द प्रकाश सुवेदी सो’ को दोस्रो सिजन अन्तर्गतको १९ औँ एपिसोडमा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले कार्यक्रमका अतिथि केकी अधिकारीसँग कुराकानीका क्रममा वर्तमान मन्त्रिपरिषदका सदस्य रघुवीर महासेठ उद्योग मन्त्री हुन् भनेर चिनाएका छन्। तर हाम्रो तथ्यजाँचले भने उक्त दाबी गलत देखिएको छ।
के छ दाबी?
कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले अतिथि नायिका केकी अधिकारीसँग ‘चिन्नुहुन्छ?’ सेगमेन्ट अन्तर्गत रघुवीर महासेठको तस्विर देखाउँदै ‘उहाँलाई चिन्नुहुन्छ’ भनेर सोध्छन्।
रजतपट अनलाइन टिभीबाट अप्रिल २१, २०२४ मा अप्लोड गरिएको ५९ मिनेट लामो भिडियोको २८ मिनेट २५ सेकेन्डमा प्रस्तोताले अतिथिलाई यो प्रश्न सोध्छन्।
नायिका अधिकारीले ‘उहाँ कलाकार जस्तो लागेन, सञ्चार मन्त्रालयमा हुनुहुन्छ ?’ भनेर प्रश्न गर्छिन्। कार्यक्रम सञ्चालक सुवेदीले नायिका अधिकारीसँग उल्टै प्रश्न सोध्दै सञ्चार मन्त्रालयमा के मन्त्री ? भन्छन् । नायिकाले मन्त्री त होइन भनेपछि सुवेदीले उहाँ मन्त्रीज्यू नै हो भन्छन्। सुवेदीले रघुवीर महासेठ भन्ने नाम सुन्नु भएको थियो भनेर अधिकारीसँग सोध्दै कार्यक्रम सञ्चालकले ‘हो, उहाँ यतिखेर उद्योगमन्त्री हुनुहुन्छ’ भनेर जवाफ दिन्छन्।
स्क्रिनमा रघुबीर महासेठको तस्वीर देखाउँदै अथितिसँग प्रश्न सोध्दै कार्यक्रम सञ्चालक
रजतपट अनलाइन टिभीबाट अप्रिल २१, २०२४ मा युट्युबमा अप्लोड गरिएको कार्यक्रमको लिंक
तथ्य के हो ?
हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक वेबसाइटमा गएर वर्तमान मन्त्रिपरिषदका सदस्यहरुको सूची हेर्यौँ। उक्त सूचीमा महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
वर्तमान मन्त्रिपरिषदका सदस्यहरुको सूचीको स्क्रिनसट
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक वेबसाइटको लिङ्क
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वेबसाइटमा पनि महासेठको तस्वीर सहित उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकै रुपमा परिचय गराइएको छ ।
वेबसाइटको स्क्रिनसट
राष्ट्रपति कार्यालयले फागुन २३ गते जारी गरेको मन्त्रिपरिषदका सदस्यको जिम्मेवारी सहितको सूचीमा महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री उल्लेख गरिएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिः
तथ्यजाँच
दाबीः रघुवीर महासेठ उद्योग मन्त्री हुन्।
दाबीकर्ताः एपिवान टेलिभिजनबाट प्रसारण हुने ‘द प्रकाश सुवेदी सो’
तथ्यः मिथ्या सूचना। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बहालवाला मन्त्रीहरुको सूची र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आधिकारिक वेबसाइटमा समेत महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रुपमा जिम्मेवारी दिइएको उल्लेख गरिएको छ। तसर्थ महासेठ उद्योग मन्त्री नभएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन्।