- वसन्त खड्का
- चैत्र २८, २०८०
सिद्धबाबाको सुरुङ भन्दै भाइरल भइरहेको भिडियो नेपालको हैन, जापानको
- सीपी खनाल
केही समय यता सामाजिक सञ्जालमा निर्माणधीन पाल्पाको सिद्धबाबाको सुरुङ सम्पन्न भएर गाडी चलिरहेको दाबीसहितको एउटा भिडियो भाइरल भइरहेको छ। हाम्रो तथ्यजाँचले भने उक्त भिडियो नेपालको नभएको पाइएको छ।
के छ भाइरल भिडियोमा ?
एन्जेल मिडिया नाम गरेको फेसबुक पेजबाट २०२४ अप्रिल ९मा एउटा भिडियो पोस्ट गर्दै लेखिएको छ, ‘बुटवलको सिद्धबाबा भन्ने ठाउँको सुरुङ मार्ग सम्पन्न भएर मजाले गाडी आउनेजाने गरिरहेको छ।’
भिडियोमा पनि सिद्धबाबा जाने सुरुङमार्गको काम पूरा भइसकेको र तिनाउपुल थुनेर ड्याम पनि बनाइएको दाबी गरिएको छ।
साथै, त्यहाँ देखिएको पुललाई तिनाउ पुल भनेर दाबी गरिएको छ। सो पोस्टलाई सात हजार ३०० पटक रियाक्ट, ७४३ कमेन्ट र ३४८ पटक सेयर गरिएको छ । साथै सो पोस्टलाई दुई लाख ६४ हजार पटक हेरिएको छ ।
भाइरल भइरहेको भिडियोको स्क्रिनसट
तथ्य के हो ?
भाइरल भिडियोमा गरिएको दाबीप्रति आशंका लागेपछि हामीले उक्त भिडियोबाट केही स्क्रिनसट लिएर गुगल रिभर्स इमेज सर्चमार्फत भिडियोमा दाबी गरिएको ठाउँ पत्ता लगाउने प्रयत्न गर्यौँ। यस क्रममा भिडियोमा देखिएको जस्तो एउटा तस्वीर देखियो।
उक्त लिङ्कलाई खोलेर हेर्दा जापानीज भाषाको हेडलाइनसहितको एउटा तस्वीर देखियो । उक्त सामग्रीलाई अंग्रेजी भाषामा अनुवाद गरेर हेर्दा जापानको इशिकावा प्रान्तको टेडोरिगावा ड्याम उल्लेख गरिएको पाइयो।
रिभर्स इमेज सर्चको स्क्रिनसट
जापानीज भाषमा रहेको सामग्रीलाई अग्रेजी भाषामा अनुवाद गरिएको सामग्रीको स्क्रिनसर्ट
इन्टरनेटमा टेडोरिगावा ड्याम सर्च गर्दा हामीले ब्रुस विल्सन नामको युट्युब च्यानलबाट अप्रिल २०२३ मा अपलोड गरिएको एउटा भिडियो फेला पार्यौँ। उक्त भिडियो र भाइरल भिडियोमा देखिएका ठाउँहरु समान देखिन्छ । युटुव भिडियोको लिंक
दुई भिडियोमा देखिएका समान किसिमका केही कुरालाई हामीले स्क्रिनसटमार्फत् देखाएका छौँ।
दुई फरक भिडियोमा समान देखिएका कुराहरुको स्क्रिनसट
दुबै भिडियोमा देखिएको टेडोरिगावा ड्यामको स्क्रिनसट
तथ्यजाँच
दाबीः बुटवलको सिद्धबाबा भन्ने ठाउँको सुरुङ मार्ग सम्पन्न भएर मजाले गाडी आउनेजाने गरिरहेको भिडियो।
दाबीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।
दाबीः मिथ्या सूचना। भाइरल भइरहेको भिडियो स्क्रिनसटलाई गुगल रिभर्स इमेज सर्चबाट सर्च गर्दा स्क्रिनसट जस्तै देखिने तस्वीर फेला पार्यौँ। र, रिभर्स इमेज सर्चबाट फेला परेका सामग्री जापानी भाषामा रहेकाले अंग्रेजी भाषा अनुवाद गरेर हेर्दा जापानको टेडोरिगावा ड्याम उल्लेख गरिएको पाइयो । इन्टरनेटमा टेडोरिगावा ड्याम सर्च गर्दा फेला परेको भिडियो र भाइरल भिडियोमा देखिएका ठाउँहरु समान देखिन्छ । त्यस्तैले सिद्धबाबाको सुरुङ भन्दै भाइरल भइरहेको भिडियो मिथ्या रहेको निष्कर्षमा हामी पुग्यौँ।