- वसन्त खड्का
- जेष्ठ ११, २०८१

के क्रिस्टियानो रोनाल्डोले ‘यमबुद्ध’को स्केच हातमा लिएका हुन्?
युवाहरु माझ चर्चित र्यापर (र्याप गायक) स्व. यम बुद्ध (वास्तविक नाम अनिल अधिकारी)को स्केच विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले समातेको दावीसहितको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। हाम्रो तथ्य जाँचले भने उक्त दावी मिथ्या देखिएको छ।
के छ भाइरल फोटोमा ?
हिपहप आर्टिस्ट नाम गरेको फेसबुक पेजबाट २०२४ मे १६ मा अपलोड गरेको फोटोमा विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले नेपाली युवामाझ चर्चित र्यापर स्व. यमबुद्धको स्केच समातेको जस्तो देखिन्छ । मंगलबार (२१ मे २०२४) सम्म यो फोटोमा २५ हजार पटक रियाक्ट, १५५ वटा कमेन्ट र ८४ पटक सेयर गरिएको छ।
भाइरल भइरहेको तस्वीरको स्क्रिनसट
फेसबुक लिंक
के हो तथ्य ?
भाइरल भइरहेको फोटोको तथ्यजाँचका लागि नेपालफ्याक्टचेकलाई अनुरोध आएपछि हामीले तथ्य जाँच गरेका छौँ।
यसक्रममा सबैभन्दा पहिले हामीले यो फोटोलाई विभिन्न रिभर्स इमेज सर्च इन्जिनमार्फत् खोजी गर्यौँ। खोजी गर्ने क्रममा टाइन आई रिभर्स इमेज सर्चले रोनाल्डोको सोही फोटोसँग मिल्दो तर फरक फोटो देखायो।
रिभर्स इमेज सर्चबाट देखिएको नतिजाको स्क्रिनसट
रोनाल्डोले उचालिरहेको अवार्डलाई जुम गरेर हेर्दा गिनिज वर्ल्ड रेकर्डस लेखिएको लोगो प्रष्ट देखियो।
त्यसपछि हामीले ‘रोनाल्डो गिनिज वर्ल्ड रेकर्डस’ कि वर्ड राखेर इन्टरनेटमा सर्च गर्दा रोनाल्डोले ३ सेप्टेम्बर २०२१ मा आफ्नो इन्स्टाग्राममा यही फोटो राखेको भेटियो।
रोनाल्डोको इन्स्टाग्राममा राखिएको फोटोको स्क्रिनसट
इन्स्टाग्रामको लिंक
उक्त तस्वीर सहितको सामग्री गिनिज वर्ल्ड रेकर्डसको आधिकारिक वेबसाइटमा पनि राखेको पाइयो । लिंक
रोनाल्डोले सन २००३ देखि २०२१ सम्म अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा व्यक्तिगत पुरुष विधामा सबैभन्दा धेरै गोल गरेर विश्व कीर्तिमान राखेको समाचार सहितको उक्त तस्वीर याहु न्यूजले पनि प्रकाशित गरेको छ । समाचारको लिंक
तथ्य जाँच
दाबीः विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले यमबुद्धको स्केच उठाए।
दाबीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्यः मिथ्या सूचना। भाइरल भइरहेको फोटोको तथ्य जाँच गर्दा फुटबलर क्रिस्टियानो रोनाल्डोले र्याप गायक यमबुद्धको स्केच बोकेको नभई गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र बोकेको देखियो। त्यसैले भाइरल भइरहेको फोटो मिथ्या रहेको निस्कर्षमा हामी पुग्यौँ।