- वसन्त खड्का
- जेष्ठ १८, २०८१

के नेपालको संविधान अनुसार सांसद भएका हरेक व्यक्ति प्रधानमन्त्री बन्न सक्छन्?
प्राइम टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पार्टीका तर्फबाट प्रतिनिधि सभामा प्रमुख सचेतक समेत रहेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले नेपालका हरेक सांसद संविधान अनुसार प्रधानमन्त्री बन्न सक्ने दाबी गरेका छन् । हाम्रो तथ्यजाँचले भने उक्त दाबी मिथ्या देखिएको छ।
के छ दाबी ?
प्राइम टेलिभिजनको युट्युब च्यानलमा २४ मे, २०२४ मा ४६ मिनेट ३१ सेकेन्ड लामो भिडियो अपलोड गरिएको छ। सो भिडियोको ७ मिनेट ४४ सेकेन्डमा पत्रकार धमलाको प्रश्नको जवाफमा सांसद शाहीले भनेका छन्, ‘नेपालका हरेक सांसदको प्रधानमन्त्री बन्न सक्ने हैसियत रहन्छ। नेपालको संविधानले दिन्छ सांसदलाई……. अनि जनताबाट निर्वाचित भएको सांसद यो देशको प्रधानमन्त्री किन हुन सक्दैन?’
उनको दाबी सहितको अन्तर्वार्ताको भिडियो लिंक
के हो तथ्य ?
सांसद शाहीको दावीको तथ्य जाँच गर्न हामीले नेपालको संविधानको धारा २८९ मा रहेको पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्था हेर्यौँ। सो धारामा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्नका लागि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।
नेपालको संविधानको धारा २८९ मा उल्लेख गरिएको व्यवस्थाको स्क्रिनसट
संविधानको धारा २८९ ले सांसद शाहीले दाबी गरेजस्तो सांसद मात्र नभई ती सांसद नेपालको वंशज नागरिक पनि हुनुपर्ने व्यवस्था गरेको छ।
हामीले संसद सचिवालयमा अंगीकृत नागरिक सांसद बन्न सक्छन् भन्ने जिज्ञासा राख्दा सचिवालयका अधिकारीले अंगीकृत नागरिक सांसद बन्न नमिल्ने भन्ने व्यवस्था नरहेको जानकारी गराए।
तथ्य जाँच
दाबीः नेपालको संविधान अनुसार सबै सांसद प्रधानमन्त्री हुन सक्छन् ।
दाबीकर्ताः सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ।
तथ्यः मिथ्या सूचना। विक्रम संवत् २०७२ सालमा जारी भएको नेपालको संविधानको धारा २८९ मा रहेको पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्थामा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका पदमा निर्वाचित मनोनित वा नियुक्त गर्नका लागि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने उल्लेख गरिएको छ। सांसद भएको व्यक्तिको नागरिकता वंशज नभई अंगीकृत भएको खण्डमा सो व्यक्ति प्रधानमन्त्रीमा नियुक्त हुन योग्य हुँदैन। त्यसैले सांसद शाहीको दाबी गलत भएको निष्कर्षमा हामी पुग्यौँ।