- सागर बुढाथोकी
- साउन २, २०८१
के हो घर-घरमा निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने भन्दै भाइरल भइरहेको सूचनाको तथ्य?
घर-घरमा आएर नि:शुल्क स्वास्थ्य जाँच गर्ने बहानामा इञ्जेक्सनद्वारा एचआईभी एड्स जस्ता प्राणघातक रोगका जीवाणु फैलाउन सक्छन् भन्ने आशयको पोस्टहरु सामाजिक सञ्जालमा प्रसारित भएका छन्। फेसबुकमा भाइरल भएका ती पोस्टमा ‘यस्ता व्यक्तिहरू आएमा पुलिसलाई फोन गर्नुहोस्, किनकि यिनीहरू ‘आइएसआइएस’का आतंककारी हुन सक्छन्’ भन्ने दावी गरिएको छ।
तर, हाम्रो तथ्यजाँचमा यो दावी मिथ्या सूचना भएको देखियो। स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् यी तीन सम्बन्धित निकायमध्ये कसैले पनि यस्तो घटना भएको, उजुरी परेको नभेटिएको भन्दै यसलाई अफवाह मात्र भएको बताए।
के विषय भाइरल भयो ?
अहिले विभिन्न फेसबुक पेज, ग्रुप र प्रोफाइलहरुमा नेपाल सरकारको निशान छापसहितको एउटा पर्चा भाइरल भएको छ जसलाई हेर्दा कुनै सरकारी निकायले जारी गरेको जस्तो भ्रम दिन्छ।
उदाहरणका लागि हेरौँ राजेश कुमार साह नामको फेसबुकमा जुलाई १२ मा पोस्ट गरिएको सूचना-
मंगलबारसम्म यो पोस्ट झण्डै ५ हजार पटक सेयर भएको छ।
पोस्टमा ‘यदि कसैले तपाईँको घरमा मेडिकल कलेजबाट आएका हौँ भन्दै ब्लड सुगर, प्रेसर निःशुल्क जाँच गरिदिन्छौं भन्यो भने त्यसो नगर्न आग्रह गर्दै त्यस्ता व्यक्तिहरु ISIS आतङककारी हुन सक्ने र तिनीहरुले इन्जेक्सनबाट तपाईँको रगतमा एचआईभी एड्स भाइरस फैलाइदिन सक्ने दावी गरिएको छ।
उक्त ग्राफिक्ससहितको पोस्टमा नेपाल सरकारको निशान छापको प्रयोग गरेर ‘जनहितको लागि जारी सूचना’ समेत लेखिएको छ।
यही ग्राफिक्स र यही विवरण हामीले फेसबुकमा अरु थुप्रै पनि देख्यौँ। उदाहरणका लागि ‘हाम्रो लहान राम्रो लहान’ नामक फेसबुक पेजले (३,२०० सेयर) अर्काइभ लिंक, पूर्ण घर्ती नामको फेसबुक (१,८०० सेयर) अर्काइभ लिंक, अरुण गाउँपालिका ६ जरायोटार भोजपुर नामक फेसबुक पेज (१८४ सेयर) अर्काइभ लिंक, सञ्जय अधिकारी नामक फेसबुक (१६१ सेयर) अर्काइभ लिंक ,
के हो तथ्य?
यसको तथ्यजाँच गर्नका लागि सबैभन्दा पहिले भाइरल सामग्रीमा प्रयोग गरिएको ग्राफिक्सलाई हेर्यौँ।
विश्वसनीय बनाउन नेपाल सरकारको निशान छाप प्रयोग गरिए पनि त्यो सूचना कसले जारी गरेको हो, प्रष्ट देखिन्न। निशान छाप सरकारी निकायले मात्र प्रयोग गर्न पाउँछन्। तर यो ग्राफिक्समा सूचना कसले जारी गरेको हो, जारी गर्ने निकायसमेत प्रष्ट छैन।
भाइरल ग्राफिक्समा निशान छापसमेत अधुरो, अपुरो देखिन्छ।
के भन्छ स्वास्थ्य मन्त्रालय ?
हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई यसबारे सोध्यौँ। उनले सामाजिक सञ्जालमा दावी गरेजस्तो गतिविधि भइरहेको कुनै पनि सूचना स्वास्थ्य मन्त्रालय अन्तर्गतको संयन्त्रमा नआएको बताए।
उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्यका कुनै पनि निकायमा यस्तो गतिविधि भएको खबर पुगेको छैन।
‘स्वास्थ्यका कुनै पनि निकायले यस्तो किसिमको सूचना दिएका छैनन्, कसैले हल्ला फैलाएको हुनसक्छ,’ प्रवक्ता डा. बुढाथोकीले नेपालफ्याक्टचेकलाई भने।
प्रहरी यसो भन्छ
हामीले यही विषयमा बुझ्न नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीलाई सम्पर्क गर्यौँ। उनले नेपाल प्रहरीका कुनै पनि निकायमा यस्तो किसिमको गतिविधि भइरहेको सूचना नआएको बताए।
उनका अनुसार, हालसम्म यस्तो किसिमको घटना र गतिविधि भएको भनेर कुनै किसिमको उजुरीसमेत भएको छैन।
‘समाजमा डर फैलाउनको लागि कसैले अफवाह फैलाएको हुन सक्छ’, उनले भने।
घर-घरमा स्वास्थ्य जाँच सम्भव छ ?
यो विषयमा बुझ्न हामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषदका (एनएचआरसीका) सदस्य सचिव डा. प्रमोद जोशीलाई पनि सम्पर्क गर्यौँ। उनका अनुसार, कुनै पनि मेडिकल कलेज तथा अस्पतालले विभिन्न ठाउँमा गएर हेल्थ क्याम्प आयोजना गर्न सक्छन्। त्यसको लागि उनीहरुले सम्बन्धित स्थानीय तहको अनुमति लिनुपर्छ।
सम्बन्धित निकायको अनुमति नलिइकन उनीहरुले सीधै घर-घरमा गएर कुनै पनि स्वास्थ्य जाँच गर्न पाउँदैनन्।
त्यस्तै, कुनैपनि औषधि तथा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्नको लागि पनि स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति चाहिन्छ। यो प्रक्रिया पूरा नगरी कसैले पनि यस्ता काम गरे स्वास्थ्य मन्त्रालयको केन्द्र, प्रदेश र स्थानीय तहको संयन्त्रले ट्रयाक गरेर खबर गर्छ। र, यसरी ‘इथिकल अप्रुभल’ लिएर गरेको काममा मानव स्वास्थ्यलाई हानी गर्ने गतिविधि नहुने डा. जोशीले बताए।
भाइरल सामग्री बारे उनले भने, ‘कसैले अफवाह फैलाउनको लागि यस्तो सूचना तयार गरेको अनुमान गर्न सकिन्छ।’
भाइरल पोस्टमा ब्लड प्रेसर निःशुल्क जाँच गरिदिन्छौँ भन्दै इन्जेक्सनले भाइरस सार्ने भनिएको छ। तर प्रेसर नाप्न इन्जेक्सन प्रयोग गर्नुपर्दैन। प्रेसर नाप्ने उपकरण बेग्लै हुन्छ।
व्यवहारिक रुपमा सम्भव छैन : सरुवा रोग विशेषज्ञ
यो विषयमा हामीले टेकु अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई ‘इञ्जेक्शनद्वारा एचआईभीको जीवाणु फैलाउन सम्भव छ त?’ भनेर सोध्यौँ।
उनले पहिले नै एचआईभी संक्रमितको लागि प्रयोग गरिसकेको सिरिञ्जको प्रयोग गरेर रगत झिकेमा अथवा एचआईभीको जीवाणु भएको रगत सिरिञ्जमा राखेर बिरामीलाई दिएमा एचआईभी सर्ने सम्भावना रहेको बताए।
तर, यस्तो गर्न व्यवहारिक नभएको उनको भनाइ थियो। ‘सिल तोडिसकेको अथवा प्रयोग गरिसकेको सिरिञ्जले रगत झिक्न, बिना कारण सिरिञ्जबाट रगत लिन व्यावहारिक र तार्किक रुपमा सम्भव छैन, सामान्यभन्दा सामान्य मान्छेले मान्दैन’, डा. पुनले भने।
६ वर्षअगाडि पनि भाइरल भएको थियो
हामीले फेसबुकमा “ध्यान दिनुहोस ,यदि कसैले तपाईंको ढोकामा आएर भन्छ” कीवर्ड राखेर सर्च गर्दा ६ वर्षअगाडि अर्थात् सन् २०१८ मा पनि यही विषयमा निकै पोस्टहरु भेटिए।
त्यतिबेला रक्तचाप (ब्लडप्रेसर)को परीक्षण मात्र भनिएकोमा अहिले भने सुगर पनि थपिएको छ। त्यतिबेला नेपाल प्रहरीको हवाला दिँदै बिना कुनै ग्राफिक्स भाइरल गरिएकोमा अहिले भने ग्राफिक्ससहित भाइरल गरिएको छ। तर विषय भने लगभग उस्तै छ।
तथ्य जाँच
दावी : मेडिकल कलेजबाट आएको भन्दै झुक्काएर नि:शुल्क स्वास्थ्य जाँच गर्ने बहानामा इञ्जेक्सनद्वारा एचआईभी एड्सजस्ता प्राणघातक जीवाणु फैलाउन सक्ने समूह नेपालमा सक्रिय छन्।
दावीकर्ता : फेसबुक प्रयोगकर्ता।
तथ्य : मिथ्या सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका कुनै पनि निकायमा यस्तो गतिविधि भइरहेको सूचना पुगेको छैन। त्यस्तै नेपाल प्रहरीको संयन्त्रमा पनि यस्तो गतिविधि भइरहेको उजुरी परेको छैन। स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र एनएचआरसीका प्रवक्ताले आफू अन्तर्गतका निकायमा यस्तो गतिविधि भइरहेको जानकारी नआएको बताए। दावी गरिएका पोस्टमा यो विषयमा विस्तृत जानकारी समेत छैन भने नेपाल सरकारको निशान छाप पनि अधुरो, अपुरो प्रयोग गरिएको छ। कुनै पनि विश्वसनीय सञ्चार माध्यमले यो विषयमा समाचार बनाएका छैनन्।