- सागर बुढाथोकी
- साउन ६, २०८१
काठमाडौँको बागमती नदीले कार बगाएको भन्दै भाइरल भएको भिडियो भारतको
काठमाडौँको बागमती नदीमा आएको बाढीले कार बगाएको दावीसहित हालिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। ३४ लाख पटक हेरिएको उक्त भिडियोमा कालो रङको एउटा कार बाढीले बगाएको देख्न सकिन्छ।
तर, हाम्रो तथ्य जाँचले यो भिडियो नेपालसँग सम्बन्धित नभएकोले मिथ्या सूचना भएको देखियो।
के छ भिडियोमा ?
इन्स्टाग्राम र फेसबुक रिलमा २०२४ जुलाई ८ मा (२०८१ असार २४) का दिन अजित शेर्पाले एउटा भिडियो राखेका छन्। उक्त भिडियोमा ‘आज काठमाडौंमा बागमती नदी’ लेखिएको छ।
भिडियोको पृष्ठभूमिमा र्यापर मिस्टर डिको ‘नयाँ नेपाल आयो आयो…घण्टाको आयो’ भन्ने गीत मिक्सिङ गरिएको छ।
हेर्नुहोस् स्क्रिनसट
भिडियोमा नदीमा आएको बाढीले कार बगाएको देख्न सकिन्छ। यो तथ्यजाँच गर्दासम्म ३४ लाख पटक हेरिएको भिडियोमा ६२ हजार भन्दा बढी रियाक्शन छ भने १४ सय जनाले सेयर गरेका छन्।
काठमाडौंको बागमती नदी दावी गरेर कोमल सिंह भण्डारीले युट्युबमा सोही भिडियो अपलोड गरेका छन् । (अर्काइभ लिंक) त्यस्तै,एमपी नेपाल न्यूज नामक युट्युब च्यानले ‘बागमतीको बहावले नयाँ गाडी बगायो’ शीर्षक राखेर सोही भिडियो अपलोड गरेको छ । (अर्काइभ लिंक) दिपक शाह नामक युट्युब च्यानलमा पनि ‘नदीले बगायो गाडी। #floods’ शीर्षकमा सोही भिडियो अपलोड भएको छ । (अर्काइभ लिंक)
त्यसैगरी अन्य प्रयोगकर्ताले पनि सोही भिडियो युट्युब, इन्स्टाग्राम र फेसबुकमा रिलमा अपलोड गरेको भेटिन्छ।
के हो तथ्य?
दावी गरिएजस्तो यो भिडियो काठमाडौँको बागमती नदीको हो की होइन भनेर हामीले गुगलमा डिप सर्च गर्यौँ।
‘बागमती नदीमा बाढी’, ‘बागमतीले कार बगायो’, ‘काठमाडौँमा बाढी’ की-वर्डहरु राखेर पछिल्लो एक महिनामा प्रकाशित समाचारहरु हेर्दा बागमती नदीमा बाढी आएका समाचारहरु भेटे पनि कार बगाएको समाचार भेटेनौँ।
कार बगाएको भिडियो काठमाडौँको बागमती नदीको हो कि होइन यकिन गर्न हामीले भिडियोका केही ‘स्क्रिनसट’ लिई विभिन्न ‘सर्च इञ्जिन’मा ‘रिभर्स इमेज सर्च’ गरेर हेर्यौँ ।
यस क्रममा भारतको न्यूज १८ अनलाइनमा ‘Video: Vehicles Float In Haridwar As Heavy Rains Brings Floods’ २९ जुन २०२४ मा प्रकाशित एउटा समाचार फेला पार्यौँ। उक्त समाचारमा एसियन न्यूज इन्टरनेशनल मिडियाको पहिले ट्विटर भनेर चिनिने एक्स ह्याण्डलमा अपलोड गरिएको भिडियो ‘इम्बेड’ गरिएको छ। उक्त भिडियोको केही अंश बागमती नदीको बाढी भन्दै हालेको भिडियोसँग मिलेको देखिन्छ।
#WATCH | Uttarakhand: Vehicles were seen floating in Haridwar as roads were heavily flooded due to continuous downpour. pic.twitter.com/fOusl1xETz
— ANI (@ANI) June 29, 2024
भारतीय मिडिया इकोनोमिक्स टाइम्सले जुन २९ मा ‘Haridwar flood: Cars swept away in flooded Sukhi river after heavy rain’ शीर्षकमा समाचार प्रकाशित गरेको फेला पार्यौँ। उक्त समाचारमा इम्बेड गरिएका भिडियोका केही अंश पनि बागमती नदीको भनेर दावी गरेर हालिएको भिडियोसँग मिल्न जान्छ।
यो विषयमा जुन ३० इण्डियन एक्सप्रेसले ‘Watch: Cars swept away in Haridwar as Sukhi River floods amid heavy rains’ समाचार प्रकाशित गरेको भेटियो। इण्डिएन एक्सप्रेसको समाचारमा अनुसार, जुन २९ मा भारतको उत्तराखण्डमा भीषण वर्षा भएको कारण गंगा नदीमा ठूलो बाढी आएको थियो। त्यसैबेला हरिद्वार क्षेत्रका नदी किनारमा पार्किङ गरेर राखेका कारहरु बगाएका थिए।
इण्डिएन एक्सप्रेसको समाचारमा पत्रकार सचिन गुप्ताले एक्समा राखेको भिडियो इम्बेड गरिएको छ। फरक एंगलबाट खिचिएको उक्त भिडियो काठमाडौँको बागमती नदिमा आएको बाढी दावी गरेर हालेको भिडियोसँग मिल्न जान्छ ।
Flood in Haridwar Ganga !! pic.twitter.com/RU7c9uo0Rm
— Sachin Gupta (@SachinGuptaUP) June 29, 2024
भारतका विभिन्न युट्युब च्यानलले सोही भिडियो हरिद्वारको भनेर अपलोड गरेका छन्। हेर्नुस् लिकं १ लिंक २
तथ्यजाँच
दावी : काठमाडौँको बागमती नदीमा आएको बाढीले कार बगाएको भिडियो।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्य : मिथ्या सूचना । यो भिडियो भारतको उत्तराखण्ड राज्यको हरिद्वार क्षेत्रमा गंगा नदीमा आएको बाढीको हो। भारतीय मिडियाका अनुसार जुन २९ मा हरिद्वार क्षेत्रमा भीषण बाढी आएर दर्जनौँ कारहरु बगाएको थियो।