तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

बालेनको आलोचना गर्दै महानगर कार्यालय डुबानमा परेको दावी गर्दै राखिएको फोटो यसकारण गलत


बालेनको आलोचना गर्दै महानगर कार्यालय डुबानमा परेको दावी गर्दै राखिएको फोटो यसकारण गलत

काठमाडौँ महानगरपालिकाको मुख्य कार्यालयमा पानी जमेको दावीसहित एक फोटो सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर नामले चिनिने) मा फैलिएको छ। फोटो सँगैको ट्विटमा आफ्नो मुख्य कार्यालय माल्दिभ्सको टापु जस्तो तैरिरहेको भए पनि काठमाडौँ महानगरपालिकाका मेयरले केपी ओलीविरुद्ध स्टायटस लेखेको भन्दै आलोचना गरिएको छ। 

तर हामीले गरेको तथ्यजाँचमा यो मिथ्या सूचना रहेको देखियो। यो फोटो काठमाडौँ महानगरपालिकाको नभई ललितपुरको र तीन वर्ष पुरानो भएको हामीले पायौँ।  

के हो दावी?

सामाजिक सञ्जाल एक्समा @shining_prince1 ह्याण्डल भई विशाल पराजुली (मोरङ) नाम गरेका प्रयोगकर्ताले “यो हो काठमाडौँ महानगरपालिकाको कार्यालय।आफ्नो मुख्य कार्यालय माल्दिभ्सको टापु जस्तो तैरिरहेको छ” भन्दै एक फोटोसमेत राखेका छन्। 

२०२४ जुलाई ८ सोमबार गरिएको यो पोस्टमा रहेको फोटोमा दुई वटा अस्थायी जस्तो देखिने संरचना बीच पानी जमेको र सो पानीमा ग्यास सिलिण्डर लगायत सामान छरिएको देख्न सकिन्छ।

प्रोफाइल बायोमा आफूलाई अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगको सदस्य बताउने एक्स प्रयोगकर्ताले राखेको पोष्ट बिहीबार बिहान यो तथ्यजाँच तयार गर्दासम्म २९ हजारभन्दा बढी पटक हेरिएको छ। यसमा १३५ जनाले लाइक गरेका छन् भने २४ जनाले रिपोष्ट र ८३ वटा रिप्लाई देखिन्छ। 

हेर्नुहोस उनको पोष्टको अर्काईभ लिङ्क

के हो तथ्य?

यो फोटो दावी गरिएजस्तो काठमाडौँ महानगरपालिकाको कार्यालयको हो कि होईन यकिन गर्न हामीले विभिन्न सर्च इन्जिनमा रिभर्स इमेज सर्च गर्‍यौँ। 

यसै क्रममा सोही फोटो हामीले अलामी नामक स्टक फोटो वेबसाइटमा राखेको भेट्यौं। फोटोमा क्रेडिट आर्यन धिमाल र जुमा प्रेस वायर लेखिएको छ। फोटोको क्याप्सन विवरणमा सो फोटो ६ सेप्टेम्बर २०२१ मा काठमाडौँमा खिचिएको उल्लेख छ। 

हेर्नुस् अर्काइभ लिङ्क।

क्याप्सनमा काठमाडौँ उल्लेख भए पनि कुन ठाउँ उल्लेख नभएकोले हामीले थप जानकारी लिन फोटो पत्रकार आर्यन धिमाललाई पनि सम्पर्क गर्‍यौँ। धिमाल अनलाइनखबरमा काम गर्छन्।  उनका अनुसार फोटो काठमाडौँ महानगरपालिकाभित्रको नभई बल्खुको तरकारी तथा फलफूल बजार पुल पारीको हो जुन ललितपुर महानगरपालिका अन्तर्गत पर्छ।  

तथ्यजाँच

दावी :  काठमाडौँ महानगरपालिकाको मुख्य कार्यालय डुबानमा परेको दावीसहितको फोटो।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता (विशाल पराजुली- एक्स ह्याण्डल)।

तथ्यः मिथ्या सूचना।  काठमाडौँ महानगरपालिकाको मुख्य कार्यालयको हो भन्ने दावी सहितको फोटो काठमाडौँ महानगरपालिका कार्यालयको होइन। यो फोटो ललितपुरमा खिचिएको फोटो खिच्ने फोटो पत्रकार आर्यन धिमालले पुष्टि गरे। अलामीमा रहेको विवरणले फोटो अहिलेको होइन, तीन वर्षअघि सन् २०२१ को भएको देखाउँछ।  


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add