तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

कुकुरले चाटेमा हातखुट्टा नै काट्नुपर्ने अवस्था आउँछ? भाइरल भिडियोको तथ्य जानौँ


कुकुरले चाटेमा हातखुट्टा नै काट्नुपर्ने अवस्था आउँछ? भाइरल भिडियोको तथ्य जानौँ

कुकुरले चाट्दा हातखुट्टा नै काट्नुपर्ने अवस्था आउने रोग लाग्ने भाइरस सार्छ भन्ने भ्रामक दावी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर वास्तविकता यो होइन – विरलै देखिने यो संक्रमण भाइरस होइन ब्याक्टेरियाको हो, र यसले सबैलाई असर गर्ने पनि होइन। हामीले यो दावीको तथ्य के हो भन्ने कुरा जाँच गरेर पत्ता लगाएका छौं।

के हो दावी ?

५६ हजार फलोअर रहेको किरण विश्वकर्मा नामको फेसबुक पेजमा २०२४ जुन २० मा ‘कुकुरले चाट्दैमा मात्र यस्तोसम्म खतरा’ शीर्षक राखेर एउटा छोटो भिडियो (रिल्स) अपलोड गरिएको छ।

मोसन ग्राफिक्स एनिमेशनबाट तयार गरिएको उक्त भिडियोको सुरुवातमा ‘कुकुरले चाट्दैमा मात्रै यति धेरै खतरा’ भन्ने आवाज छ। र, भिडियो चलिरहेको बेला स्क्रिनमा ठूलो अक्षरमा सावधान लेखेको देखिन्छ। 

त्यसपछि अगाडि भनिएको छ – ‘बुढाबुढी बाहिर घुम्न गएको बेला हातमा सानो चोट लाग्छ,त्यही चोट लिएर घरमा पुग्दाखेरि त्यो हातमा कुकुरले चाटिदिन्छ। कुकुरको र्‍यालले गर्दा ‘क्याफ्नोसिटोनिमा’ नामक भाइरस त्यो चोटबाट हातभित्र पस्छ। केही दिनपछि उसको हात र खुट्टा कालो हुन थाल्छ। त्यसपछि उसलाई हतार हतार हस्पिटलतिर लगिन्छ। धेरै इन्फेक्सन भएको कारणले गर्दा डक्टरले भन्छन्, कि हात र खुट्टा काट्नुपर्‍यो.. यस्तो भाइरस सबै कुकुरमा हुन्छ भन्ने त छैन तर पनि सचेत बनौँ र सबैलाई सचेत बनाउनको लागि भिडियोलाई सेयर गर्नुहोस्।’

भिडियोमा भनिएको घटना वास्तविक जस्तो सुनिएपनि कहाँ, कहिले र खास के भएको भन्ने बारेमा विस्तृत जानकारी दिइएको छैन। त्यस्तै भिडियोमा भनेको कुकुरको र्‍यालबाट सर्ने भनिएको भाइरस कस्तो किसिमको हो, कति संक्रामक हो र कति मानिसमा देखिएको छ भन्ने पनि उल्लेख गरिएको छैन। त्यस्तै, कस्तो किसिमको कुकुरले टोक्दा र कस्तो स्वास्थ्य समस्या भएका मानिसलाई यस्तो भाइरसको संक्रमण हुन्छ भन्ने पनि जानकारी दिइएको छैन।  घटना र रोगको बारेमा पूर्ण जानकारी नदिइकन  कुकुरले चाटेमा जोसुकै मानिसलाई डरलाग्दो समस्या आउनेजस्तो गरी भिडियो प्रस्तुत गरिएको छ।

यो तथ्य जाँच गर्दा (जुलाई ३१ बिहान) सम्म यो भिडियो १९ लाख पटक हेरिएको छ भने ५ हजार भन्दा बढी सेयर, १०० भन्दा बढी कमेण्ट र  झण्डै २३ हजार रियाक्सन छन्।

हेर्नुस्, स्क्रिनरेकर्ड-

 

तथ्य के हो ?

यो विषयको तथ्यजाँच गर्नका लागि हामीले विभिन्न मेडिकल जर्नलहरुमा सर्च गर्‍यौँ।

त्यही क्रममा नेशनल लाइब्रेरी अफ मेडिसिनमा सन् २०२१ अप्रिल १५ मा प्रकाशित दि क्यारेक्टरस्टिक्स अफ क्याप्ननोसाइटोफिगा इनफेक्शन : टेन इयर्स अफ एक्सपिरियन्स’ नामक अध्ययन फेला पार्‍यौँ।

त्यही क्रममा भिडियोमा ‘क्याफ्नोसिटोनिमा’ भाइरस भनेर गलत उच्चारण गरिएको थाहा पायौँ।  उक्त अध्ययनका अनुसार,त्यहाँ भनिएको संक्रमणको सही उच्चारण  क्याप्ननोसाइटोफिगा हो । र, क्याप्ननोसाइटोफिगा भिडियोमा दावी गरेजस्तो भाइरस नभएर ब्याक्टेरिया हो।

भाइरस र ब्याक्टेरिया दुई फरक प्रकारका सूक्ष्मजीवहरू हुन्, र तिनीहरूमा धेरै महत्वपूर्ण भिन्नताहरू हुन्छन्।

यो ब्याक्टेरिया कुकुर र बिरालोको मुखमा मात्र नभएर मानिसमा पनि हुनसक्छ।

कुकुर वा बिरालोको संक्रमणमा आएका सबै मानिसलाई यो ब्याक्टेरियाले संक्रमण गराउँदैन। रोग प्रतिरोधी क्षमता/ प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसलाई मात्रै यो ब्याक्टेरियाले संक्रमण गराउन सक्ने उक्त अध्ययनमा उल्लेख छ।

जस्तो कि, थालासेमिया तथा सिकलसेल एनिमिया भएका बिरामी तथा अपरेशन गरेर फियो फालेका बिरामी, एचआईभी एड्स लागेका, क्यान्सरको उपचारको क्रममा केमोथेरापी गर्दै गरेका, अंग प्रत्यारोपण गरेर रोग प्रतिरोधात्मक क्षमता घटाउने औषधि खाँदै गरेका र विभिन्न दीर्घरोग भएका ज्येष्ठ नागरिकलाई यसको संक्रमण हुन सक्छ।

जनसङ्ख्यामा आधारित एक अध्ययनलाई उदृत गर्दै प्रति १० लाख जनसङख्यामा झण्डै ०.६७ जना मानिसमा यो संक्रमण भएको उक्त अध्ययनमा उल्लेख छ। यो भनेको १० लाख जनसङख्यामा १ जना पनि होइन।

विज्ञ के भन्छन् ?

यो विषयमा थप बुझ्न हामीले जीवाणु वैज्ञानिक सुदिप खड्कालाई सम्पर्क गर्‍यौ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई यो मात्र होइन,  फोहोर पानी, धूलो माटो लगायतले पनि संक्रमण हुनसक्छ। उनका अनुसार, भिडियोमा भनेजस्तै घाउ पाकेर स्थिति बिग्रँदै गएमा अत्यन्तै थोरै मानिसको हात र खुट्टा काट्नु पर्ने अवस्था आउन सक्छ। र, यो अवस्थामा पुर्‍याउन क्याप्ननोसाइटोफिगा ब्याक्टेरिया मात्र जिम्मेवार हुँदैन।

के यस्तो किसिमको ब्याक्टेरियाको संक्रमण भएको बिरामी नेपाली चिकित्सकले हेरेका छन् त ?

यो विषयमा बुझ्न हामीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग सम्पर्क गर्‍यौ। कुकुर/बिरालोले टोकेको उपचार गराउन उक्त अस्पतालमा दिनहुँ बिरामीहरु पुग्छन्। 

‘घाउ चोटमा कुकुरले चाट्दैमा यस्तो जटिलता देखिन्छ र’ भन्ने प्रश्न सोध्दा डा. पुनले यस्तो समस्या लिएर अस्पताल आएका बिरामी हालसम्म नहेरेको बताए। ‘यस्तो समस्या लिएर आएका बिरामी मैले हालसम्म हेरेको छैन, नेपालमा यस्तो भएको सुनेको पनि छैन” डा. पुनले भने।

यो विषयमा थप बुझ्न हामीले संक्रामक रोग तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारीलाई सम्पर्क गर्‍यौँ। उनले यो रोग विश्वमै दुर्लभ भएको र अत्यन्तै कम मानिसलाई मात्र देखिएको बताए।

ग्राण्डी,मेडिसिटी, ह्याम्सजस्ता नेपालका ठूला अस्पतालको आइसियूमा काम गरिसकेका उनले यस्तो संक्रमण भएको बिरामी आफूले नभेटेको र अन्य चिकित्सकले पनि नसुनाएको बताए।

“दुर्लभ भएता पनि यस्तो संक्रमण नहुने भन्ने हुँदैन तर मैले चाहीँ यस्तो समस्या भएका बिरामी हेरेको छैन” डा. अधिकारीले भने।

हातखुट्टै काट्नु पर्ने अवस्था आउँछ ?

क्याप्ननोसाइटोफिगा ब्याक्टेरिया संक्रमणको बारेमा थप बुझ्न हामीले संयुक्त राज्य अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको (सिडिसी) वेबसाइटमा सर्च गर्‍यौँ।

सिडिसीका अनुसार, प्रतिरोधी क्षमता कम भएका मानिसमा कुकुर वा बिरालोले टोकेको ठाउँ वरिपरिको भागमा दुख्ने, रातो हुने, पिप निस्कने, मांसपेशी दुख्ने, टाउको दुखेर ज्वरो आउने जस्ता लक्षण देखिन्छन्। त्यस्तै, बान्ता हुने, पेट दुख्ने र पखाला लाग्ने समेत हुनसक्छ। यस्तो अवस्थामा चिकित्सकले एण्टीबायोटिक दिएर उपचार गराउन सक्छन्। 

भिडियोमा कुकरले चाटेमा मानिसको हात र खुट्टा काट्नुपर्ने अवस्था आएको समेत दावी गरिएको छ। तर यस्तो  जटिलता अत्यन्तै कम मानिसलाई मात्र देखिने सिडिसीले जनाएको छ।

सिडिसीका अनुसार, क्याप्ननोसाइटोफिगा संक्रमण हुदाँ छिटो उपचार गराउन सकिएन भने कतिपय बिरामीलाई शरीरमा संक्रमण फैलिने (जसलाई मेडिकल भाषामा सेप्सिस भनिन्छ) हुन्छ । त्यसैगरी हृदयघात, मृगौलाले काम नगर्ने, र संक्रमण भएको अंगका छाला सुन्निने र छालाको रंग बदलिनेसम्म जटिलता हुन्छ । यस्ता संक्रमण बढेर केही मानिसको हात वा खुट्टाको औला वा संक्रमण फैलिएको अंग काट्नुपर्ने हुनसक्छ। तर, यस्तो समस्या अत्यन्त कम मानिसलाई मात्र हुने सिडिसीले उल्लेख गरेको छ।

तथ्यजाँच

दावी : चोटपटक लागेको ठाउँमा कुकुरले चाटेमा हातखुट्टा नै काट्नुपर्छ।

दावीकर्ता : किरण विश्वकर्मा फेसबुक पेज।

तथ्यजाँच : भ्रामक सूचना । भिडियोमा चोटपटक लागेको अंगमा कुकुरले चाटेमा जोसुकै मानिसलाई संक्रमण भएर शरीरका अंग नै काट्नुपर्ने आशयको दावी गरिएको छ। तर, भिडियोमा भनेजस्तै ‘क्याफ्नोसिटोनिमा भाइरस’ नभएर ‘क्याप्ननोसाइटोफिगा ब्याक्टेरिया’ हो। यो ब्याक्टेरियाको संक्रमण सबै मानिसलाई नभएर प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसमा दुर्लभ रुपमा देखिन्छ। त्यस्तै संक्रमण भएका सबैको हात खुट्टा काट्नुपर्ने अवस्था आउँदैन। त्यसैले किरण विश्वकर्माले गरेको दावी भ्रामक छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add