- प्रविण भट्ट
- साउन ११, २०८१
नझुक्किनुस्, यो भिडियो राजावादी आन्दोलनको नभई ‘धरान रन’को हो
‘राजा आऊ, देश बचाऊ’ भन्दै निस्किएको जनसागर भन्ने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। यो तथ्यजाँच तयार पार्दासम्म ११ लाख पटक हेरिएको भिडियोमा राजसंस्था नभइकन देश अगाडि बढ्न नसक्ने भन्दै गरेको अडियोसमेत राखिएको छ।
हाम्रो तथ्यजाँचमा उक्त भिडियो भ्रामक भएको पाइएको छ।
के हो दावी?
३७ हजार फलोअर रहेको ‘फ्रम नेपाल’ नामको फेसबुक पेजमा जुलाई १७, २०२४ (साउन २, २०८१) मा ‘अब के हुन्छ राजा आउ देश बचाउ भन्दै निस्किएको जनसागर’ लेखिएको एक भिडियो पोस्ट गरिएको छ।
भिडियोमा कयौं मानिस फिनिस दौडिरहेको देख्न सकिन्छ। भिडियोको आवाजमा राजसंस्थाको पक्षमा बोलेको एक संवादसमेत सुन्न सकिन्छ।
यो तथ्यजाँच तयार पार्दा सम्म सो भिडियोमा ४० हजार भन्दा बढी रियाक्सन र दुई हजार कमेन्ट छन् भने ५ हजार १ सय पटक भिडियो सेयर भएको देखिन्छ।
हेर्नुहोस स्क्रिनरेकर्ड
के हो तथ्य?
भिडियोलाई फ्रेम फ्रेम गरी नियालेर हेर्दा प्रष्टसँग एक घरमा धरान लेखेको देख्न सकिन्छ। क्यामरा दायाँतिर घुमाएको अवस्थामा एउटा फिनिस लाइन देख्न सकिन्छ, जसमा “Dharan 10K Run 2024” लेखेको देख्न सकिन्छ।
हेर्नुहोस स्क्रिनसट-
भिडियोका बारेमा थप बुझ्न हामीले धरान रनको फेसबुक पेज हेर्यौँ। त्यसमा धरान १० के रनको एक भिडियो भेट्यौँ। युट्युबमा राखिएको यो भिडियो को १३ मिनेट १० सेकेन्डदेखि १३ मिनेट २१ सेकेन्डसम्मका दृश्य हेर्दा भाइरल भिडियो कै जस्तो देखिन्छ।
न्यु इन्टरटेनमेन्ट च्यानलले राखेको यो भिडियो २०२४ फेब्रुअरी २४ तारिखका दिन अपलोड भएको हो।
हेर्नुहोस स्क्रिनसट-
अतः यो भिडियो कुनै जनसागर अथवा आन्दोलनको नभई धरान १० के रन २०२४ को हो।
धरान रनको फेसबुकमा राखिएको विवरण अनुसार धरान रन एउटा च्यारिटी संस्था हो जसले साप्ताहिक रुपमा शनिबार दौडको आयोजना गर्छ र वार्षिक रुपमा एउटा मुख्य दौड आयोजना गर्छ। यो संस्थाको मुख्य उद्देश्य बालबालिकाको शिक्षाका लागि चन्दा संकलन हो। राजावादी आन्दोलनसँग यसको कुनै साइनो छैन।
तथ्य जाँच
दावी : राजा आऊ देश बचाऊ भन्दै निस्किएको जनसागर भएको दावी सहिरको भिडियो।
दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता (फ्रम नेपाल फेसबुक पेज)।
तथ्यः भ्रामक सूचना। यो भिडियो राजावादी आन्दोलनसँग सम्बन्धित छैन, भिडियो धरान १० के रन, २०२४ को हो। असम्बन्धित आवाज जोडेर गलत दावीका साथ भिडियो भ्रामक रुपमा फैलाइएको हाम्रो निश्कर्ष छ।