- सागर बुढाथोकी
- साउन १०, २०८१
नझुक्किनुस्, यी भाइरल फोटोहरु सौर्य एयरलाइन्स दुर्घटनाका होइनन्
२०८१ साउन ९ गते काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाको दृश्य दावी गर्दै राखिएका तीन वटा फोटो सामाजिक सञ्जालमा भाइरल भाइरल भएको छ।
तर, हाम्रो तथ्य जाँचमा भने यो दावी भ्रामक देखिएको छ। यी तीन मध्ये दुई वटा फोटो यूएस-बाङ्ग्ला एयरलाइन्सको र एउटा फोटो यति एयरलाइन्सको दुर्घटनाको हो।
के छ दावी ?
‘गुर्भाकोट जनता जागरुक समाज’ नामक फेसबुक प्रोफाइलमा मंगलबार दिउसो विमान दुर्घटनाका तीन वटा फोटो र एउटा भिडियो पोस्ट गरिएको छ।
हामीले तथ्यजाँच गर्दासम्म यो पोस्ट २७ पटक सेयर भएको छ भने ६६ वटा कमेन्ट गरिएको छ।
हेर्नुस्, स्क्रिनसट
हेर्नुस्, अर्काइभ लिंक
के हो तथ्य ?
भाइरल पोस्टको पहिलो फोटोमा विमानको आधा भाग जलिसकेको र नेपाली सेना र प्रहरीका उद्धारकर्ताहरु खटिएका देखिन्छन्।
हेर्नुस् फोटो-
यसको तथ्यजाँच गर्नका लागि यो फोटोलाई विभिन्न सर्च इन्जिनमा रिभर्स ईमेज सर्च गरेर हेर्यौँ। यस क्रममा हामीले यो फोटो सौर्य एयरलाइन्सको नभई सन् २०१८ मार्च १२ मा काठमाडौँमा दुर्घटना भएको यूएस-बाङ्ग्ला एयरलाइन्सको रहेको भेट्यौँ।
लस एञ्जल्स टाइमले यो बारे लेखेको समाचारमा यो फोटो प्रकाश माथेमाले खिचेको लेखिएको छ।
समाचारका अनुसार, ढाकाबाट आएको यूएस-बाङ्ग्ला एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा दुर्घटना भएको थियो। त्यो दुर्घटनामा विमानमा सवार ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो।
हेर्नुस्, स्क्रिनसट-
त्यसैगरी, यो फोटो यूएस-बाङ्ग्ला एयरलाइन्स दुर्घटनाको भएको उल्लेख गर्दै सीएनएन, साउथ चाइना मर्निङ पोस्ट, द विक लगायतले समाचारले लेखेका छन्।
दोस्रो फोटो
दोस्रो फोटोमा पनि उद्दारकर्ताहरु एउटा विमानको भग्नावशेष वरपर देखिन्छन्।
यो फोटोलाई पनि हामीले हामीले विभिन्न सर्च इञ्जिनमा रिभर्स इमेज सर्च गरेर हेर्यौँ। यो पनि सौर्य एयरलाइन्सको नभई सन् २०१८ कै यूएस-बाङ्ग्ला एयरलाइन्स दुर्घटनाको रहेको भेट्यौँ।
यो फोटो यूएस-बाङ्ग्ला एयरलाइन्स दुर्घटनाको भएको उल्लेख गर्दै फर्स्टपोस्ट डटकमले समाचार लेखेको छ। समाचारमा फोटोको क्रेडिट निरञ्जन श्रेष्ठलाई दिइएको छ।
हेर्नुस् स्क्रिनसट-
हेर्नुस्, अर्काइभ लिंक
सो फोटो यूएस-बाङ्ग्ला एयरलाइन्सको दुर्घटनाको भएको उल्लेख गर्दै अक्युवेदर डटकम, यूएसए टूडे, द फ्लोरिडा टाइम्स युनियन लगायत सञ्चार माध्यमले पनि समाचार लेखेका छन्।
तेस्रो फोटो
तेस्रो फोटोमा नेपाली सेना र प्रहरीका सुरक्षाकर्मी देखिन्छन्। विमान पनि अघिल्ला दुई फोटोको भन्दा फरक देखिन्छ।
हेर्नुस्, तेस्रो फोटो
तेस्रो फोटोबारे खोज्ने क्रममा हामीले यो सौर्य एयरलाइन्सको नभई सन् २०२३ मा जनवरी १५ मा दुर्घटना भएको यति एयरलाइन्सको विमान रहेको भेट्यौँ। पोखरामा सेती खोँचमा भएको उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो।
उक्त फोटो यति एयरलाइन्सको विमान दुर्घटना भएको उल्लेख गर्दै फक्सफोर्टीफो डटकमले समाचार लेखेको छ । समाचारका अनुसार उक्त फोटो अनिश भट्टराईले खिचेका हुन्।
हेर्नुस् स्क्रिनसट-
सो फोटो यति एयरलाइन्सको विमान दुर्घटनाको भएको उल्लेख गर्दै द ग्लोबल मेल, फर्स्टपोस्ट लगायतले समाचार लेखेका छन्।
तथ्य जाँच
दावी : काठमाडौँमा २०८१ साउन ९ गते भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको दावी गरिएका फोटोहरु।
दावीकर्ता : गुर्भाकोट जनता जागरुक समाज नामको फेसबुक प्रोफाइल।
तथ्य जाँच : भ्रामक सूचना। यी तीन वटै फोटो सौर्य एयरलाइन्सको विमान दुर्घटनासँग समबन्धित छैन। हामीले गुगलमा रिभर्स इमेज सर्च गर्दा तीन मध्ये दुई वटा फोटो सन् २०१८ मार्च १२ मा त्रिभुवन विमानस्थलमा दुर्घटना भएको यूएस-बाङ्ग्ला एयरलाइन्सको र एउटा फोटो सन २०२३ जनवरी १५ मा दुर्घटना भएको यति एयरलाइन्सको विमानको भएको भेट्यौँ।