- सागर बुढाथोकी
- साउन ७, २०८१
अमेरिकाले गौमूत्रको ‘पेटेन्ट राइट’ लिएको रमा सिंहको दावीको तथ्य के हो ?
गाईको पिसाब (गौमूत्र)को पेटेन्ट अमेरिकाले लिएको र यसलाई एन्टिबायोटिक , एन्टिफंगल र एन्टी क्यान्सर एजेन्टको रुपमा औषधीय प्रयोग भएको दावीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ। सञ्चारकर्मी रमा सिंहले फेसबुकमा राखेको दावी अनुसार अमेरिकाले गौमूत्रबाट क्याप्सुल बनाएर महंगोमा बेचिरहेको छ।
तर, हाम्रो तथ्यजाँचमा भने यो दावी भ्रामक भएको देखियो। युनाइटेड स्टेट प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसको डकुमेन्ट अनुसार गौमूत्रको पेटेन्ट राइट अमेरिकाले लिएको नभएर भारतीय नागरिकले अमेरिकामा दर्ता गराएका हुन्। त्यस्तै उनले फेसबुकमा राखेको गौमूत्रको भनिएको क्याप्सुल बनाउने कम्पनी पनि अमेरिकाको नभएर भारतको देखिएको छ।
के छ दावी ?
४७ हजारभन्दा बढी फलोअर रहेको सञ्चारकर्मी रमा सिंहको फेसबुकमा २०२४ जुलाई १९ मा गौमूत्रको महिमा शीर्षकमा एउटा लामो स्टाटस पोस्ट गरिएको छ।
उक्त स्टाटसमा नेपाली भाषामा तीन बूँदे दावी गरिएको छ।
पहिलो दावी छ- गौमूत्रको बारेमा अमेरिकाले प्याटेन्ट राइट्स लिएको छ, जसको US Patents No. 6,896,907 र 6,410,059 हो। औषधीय प्रयोग विशेष गरेर bioenhancer, एन्टिबायोटिक, एन्टिफंगल र एन्टीक्यान्सर एजेन्टको रूपमा।
त्यस्तै, दोस्रो नम्बर बूँदामा ‘अमेरिकाले भारतको गुजरातबाट लोकल गाई लगेर हजारौँको संख्यामा पालिराखेको र भारत र ब्राजिलबाट लोकल गोरूको वीर्य लगेर त्यहाँ गौमूत्र उत्पादन गरिरहेको छ’ लेखिएको छ।
तेस्रो नम्बरमा ‘अमेरिकाले 0.5 gm को क्याप्सुल बनाएर 60 क्याप्सुलको डिब्बा जम्मा 30 ml गौमूत्र “इमिनो मोडुलेटर” भनेर US$ 30.4 मा बेचिरहेको, अर्थात् १ लिटरको रू १ लाख ३५ हजार डलर’ दावी गरिएको छ।
यो तथ्यजाँच गर्दासम्म यो पोस्टमा ४ सयभन्दा बढी रियाक्सन, ३ सय भन्दा बढी सेयर र ८२ वटा कमेन्ट छ।
हेर्नुस् स्क्रिनसट
के हो तथ्य ?
यसको तथ्यजाँच गर्न हामी युनाइटेड स्टेट प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसको आधिकारिक वेबसाइटमा गयौँ। यो वेबसाइटमा प्याटेन्ट नम्बर सर्च गर्दा त्यसको विस्तृत विवरण आउँछ।
हामीले सिंहले दावी गरेको प्याटेन्ट नम्बर 6,896,907 सर्च गर्यौँ। ‘यूज अफ बायोक्टिभ फ्र्याकशन फ्रम काउ यूरिन डिस्टिलेट एज अ बायो इनह्यान्सर अफ एण्टी इनफेक्टिभ, एण्टी क्यान्सर एजेण्टस एण्ट न्युट्रिएन्टस’ शीर्षकमा उक्त वेबसाइटमा सन् २००५ मे २४ मा उक्त प्याटेन्ट नम्बर दर्ता भएको भेट्यौ । हेर्नुस्, पिडिएफ लिंक ।
तर सिंहले दावी गरेजस्तै उक्त प्याटेन्ट राइट अमेरिकाले लिएको भने होइन । उक्त प्याटेन्ट राइट लिनेहरु सुमन प्रित सिंह खनूजा, सुशिल कुमार, जय शंकर आर्या लगायतका भारतीयहरु हुन्। यसको असाइनीमा समेत काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च, नयाँ दिल्ली (भारत) लेखेको देखियो।
त्यस्तै सिंहले दावी गरेको अर्को प्याटेन्ट नम्बर 6,410,059 पनि सोही वेबसाइटमा सर्च गर्यौँ। सोही समूहले सन् २००२ जुन २५ मा ‘फर्मास्युटिकल्स कम्पोजिशन कन्टेनिङ काउ यूरिन डिस्टिलेट एण्ड एन एण्टीबायोटिक’ शीर्षकमा प्याटेन्ट दर्ता गरेको भेटियो। हेर्नुस्, पिडिएफ लिंक।
हामीले यसको बारेमा थप बुझ्न गुगल पेटेन्ट वेबमा सर्च गर्यौ । गुगल पेटेन्टका अनुसार गौमूत्रको बारेमा भारतीय नागरिकहरुले लिएको पेटेन्ट राइटको म्याद सकिसकेको छ । ‘फि रिलेटेड इस्यू’ इङ्गित गर्दै म्याद सकिएको जनाइएको छ।
हेर्नुस्, स्क्रिनसट
सिंहले आफ्नो पोस्टमा दुई वटा नम्बर राखेर पेटेन्ट राइट अमेरिकाले लिएको भनेतापनि यो दावी भ्रामक देखियो । किनकि, युनाइटेड स्टेट प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसका अनुसार उक्त प्याटेन्ट नम्बर भारतीयको नाममा छ। यसको पेटेन्ट राइट अमेरिकाले लिएको होइन अमेरिकाको पेटेन्ट कार्यलयमा भारतीयले दर्ता गरेका हुन्।
हामीले यो विषयमा थप बुझ्न स्टानफोर्ड विश्वविद्यालयमा कार्यरत वैज्ञानिक सुदिप खड्कासँग सम्पर्क गर्यौ । उनले पेटेन्ट राइट लिनु र पेटेन्ट राइट लिँदा गरेको दावी अनुसार औषधि बन्नु या नबन्नु अलग कुरा रहेको बताए।
अर्थात्, पेटेन्ट दर्ता गर्दा कुनै पनि आविष्कार/वस्तु ले काम गर्छ भन्ने प्रमाणित गर्न पर्दैन। त्यसैले,हजारौं/लाखौं औषधिको पेटेन्ट राइट लिइएको हुन्छ। वैज्ञानिक अनुसन्धानपश्चात् सो पेटेन्टले काम गर्दछ भन्ने प्रमाणित गरेपछि मात्रै अमेरिकाको फूड एण्ड ड्रग एडमिनिष्ट्रेशनले औषधिको मान्यता दिन्छ।
उनले यसलाई एउटा उदाहरण दिएर बुझाए – ‘डम्फू र मादल बजाउँदै चिप्ले किराको सुकुटी खाए क्यान्सरमा राहत मिल्छ’ भन्ने दावी गरेर निश्चित रकम तिरेर कागजात बुझाएपछि यो उपचार पद्धतिको पेटेन्ट राइट लिन्छु भन्न पाइन्छ। त्यसको लागि यसले काम गर्छ कि गर्दैन र ठोस प्रमाण के हो भनेर बुझाउनु पर्दैन।
गौमूत्रको हकमा आजको मितिसम्म त्यस्तै दावी आएको खड्का बताउँछन्। खड्काका अनुसार, पेटेन्ट फाइल गरेको करिब २० वर्षमा यसले काम गर्दछ भन्ने कुनै आधार देखिएन, वा पेटेन्ट फाइल गर्नेहरुले देखाउन सकेनन्, त्यसलै त्यसको म्याद सकिँदा उनीहरुले नवीकरण गरेनन् ।
“पेटेन्ट राइट लिइसकेपछि अरु कसैले त्यही औषधि अनुमति बिना बनाउन पाउँदैन भन्ने मात्र हो, पेटेन्ट राइट लिनु भनेको औषधि नै प्रमाणित हुनु होइन” खड्काले भने ।
गौमूत्रको क्याप्सुल अमेरिकाले बनाएको दावी नि ?
सिंहले अमेरिकाले ०.५ ग्रामको क्याप्सुल बनाएर एक डिब्बामा ६० वटा क्याप्सुल राखेर जम्मा ३० एमएल गौमूत्र “इमिनो मोडुलेटर” भनेर ३०.४ अमेरिकी डलर अर्थात् १ लिटरको रू १ लाख ३५ हजार डलरमा बेचेको दावी गर्दै पोस्टमा उक्त क्याप्सुलको डिब्बाको फोटो समेत राखेकी छिन्।
हामीले यसको तथ्य जाँच गर्न उक्त डिब्बाको फोटोलाई रिभर्स इमेज सर्च गर्यौँ। यस क्रममा हामी अनलाइन सपिङ साइट इबेको एउटा प्रडक्टमा पुग्यौँ जसमा राखिएको फोटो हुबहु रमा सिंहले राखेको जस्तै देखिन्छ।
हेर्नुस स्क्रिनसट-
त्यहाँ हेर्दा उक्त प्रडक्ट VHCA हर्बल प्राइभेट लिमिटेडले उत्पादन गरेको भेट्यौँ। कम्पनी बारे गुगलमा थप सर्च गर्दा गर्दा उक्त प्रडक्ट भारतको नर्थ वेस्ट दिल्लीमा उत्पादन हुने भेटियो । र, यो प्रडक्टमा गाईको मूत्र सँगै अमला, वेदा र हरिताकी जडिबुटीको मिश्रण गरिएको कम्पनीले उल्लेख गरेको छ।
र, यसको मूल्य २३. ९९ डलर उल्लेख छ। सिंहले दावी गरेको जस्तो एक लिटरको १ लाख ३५ हजार डलर पर्ने कतै उल्लेख छैन।
भारतको अनलाइन सपिङ पोर्टल फ्लिपकार्टमा पनि हामीले यही क्याप्सुल भेट्यौँ।
त्यसैले सिंहको अमेरिकाले क्याप्सुल बनाएको दावी पनि मिथ्या छ।
सिंहले ‘अमेरिकाले भारतको गुजरातबाट लोकल गाई लगेर हजारौको संख्यामा पालिराखेको, भारत र ब्राजिलबाट लोकल गोरूको वीर्य लगेर त्यहॉ गौमूत्र उत्पादन गरिरहेको समेत दावी गरिरहेकी छिन्।
यसको गर्नका लागि हामीले गुगलमा डिप सर्च गर्यौ । तर, कतै पनि गुजरातबाट गौमूत्र उत्पादनको लागि अमेरिकाले गाई लगेको समाचार तथा अन्य जानकारी फेला पारेनौँ।
तथ्य जाँच
दावी : अमेरिकाले गौमूत्रको पेटेन्ट राइट लिएको, अमेरिकाले गौमूत्रको क्याप्सुल बनाएको।
दावीकर्ता : रमा सिंह (सञ्चारकर्मी)।
तथ्य : भ्रामक सूचना। सिंहले दावी गरे जस्तै अमेरिकाले गौमूत्रको पेटेन्ट राइट लिएको र क्याप्सुल बनाएको छैन। युनाइटेड स्टेट प्याटेन्ट एण्ड ट्रेडमार्क अफिसका अनुसार गौमूत्रको पेटेन्ट राइट भारतीय नागरिकहरुले अमेरिकामा दर्ता गराएका हुन् जुन अहिले एक्सपायर्ड भइसकेको देखिन्छ। त्यस्तै, सिंहले फेसबुकमा राखेको क्याप्सुलको बट्टा बारे खोजी गर्दा त्यो क्याप्सुल बनाउने कम्पनी पनि भारतको भएको भेटियो। त्यसैले रमा सिंहले गौमूत्रको बारेमा फेसबुकमा गरेको दावी भ्रामक हो।