- सागर बुढाथोकी
- साउन १, २०८१
के काठमाडौंका मेयर बालेन शाहलाई उत्तर कोरियाबाट भ्रमणको निम्तो आएको हो ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई उत्तर कोरियाली नेता किम जोंग उनले भ्रमणको निम्तो दिएको दावी गर्दै भिडियोहरु अपलोड गरिएको छ। भिडियोमा मेयर शाहलाई किम जोंगले निम्तो दिएको, मेयर बालेन र किम जोंगको पहिलो पटक भेट भइसकेको लगायतका दावी गरिएको छ।
तर हाम्रो तथ्य जाँचमा यस्ता दावी मिथ्या देखियो।
के छ दावी ?
२०२४ जुन २८ मा ९ लाख ३८ हजार सस्क्राइबर भएको खबर बुलेटिन टिभी नामक युट्युब च्यानलमा अशुद्ध नेपाली भाषामा ‘Balen Shah र सुनिता डंगोललाई किम जोङको निम्तोले विश्वभर हंगामा, भारत र चीनमा खैलाबैला मच्चियो’ शीर्षकमा एउटा भिडियो अपलोड गरेको छ।
उक्त भिडियोमा गणेश बज्राचार्य नामका व्यक्तिलाई अन्तर्वार्ताकारले ‘ब्राजिलबाट फर्केपछि उत्तर कोरियाले बोलाएको व्यापक चर्चा छ, समग्रमा बालेन शाहको प्रगतिलाई कसरी हेर्नुहुन्छ’ भन्दै प्रश्न सोध्छन्। त्यसपछि बज्राचार्यले बालेनको कामको चर्चा गर्दै ती देशले नचिनेपनि विश्वको ठूला देशले चिनेकाले बालेन महत्त्वपूर्ण व्यक्ति भएको सुनाउँछन्। बज्राचार्य को हुन् भन्ने परिचय भने खुलाइएको छैन।
२४ मिनेट ३ सेकेण्ड लामो भिडियोमा उनले बालेन शाहको प्रशंसा गर्दै किम जोंगले निम्तो दिएकाले कोरिया जाने बताउँछन्। तर, बालेनलाई निम्तो कहिले आयो, के माध्यममा आयो र बालेन कहिले जादैँछन् भन्नेबारे त्यो भिडियोमा केही जानकारी दिइएको छैन।
मंगलबार दिउँसोसम्म उक्त भिडियो ५१ हजार जनाले हेरेका छन्।
युट्युब भिडियोको थम्बनेल
सोही युट्युब च्यानलमा जुलाई १ मा अशुद्ध नेपाली भाषामा ‘Balen Shah र किम जोङको भेटवार्ता बारे बालेनको बुबाको साथीले बल्ल खुलाए, बालेनको चर्चा विश्वभर’ शीर्षकमा अर्को भिडियो अपलोड गरिएको छ।
भिडियोमा एङ्करले ‘काठमाडौंको मेयर बालेन्द्र शाहलाई नेपालले चिनेका छैनन् तर हेर्ने हो भने चाइनाको निम्तो अस्वीकार गरेका बालेन शाहलाई यतिबेला उत्तर कोरियाबाट निम्तो आएको छ’ भन्छन्।
बोल्ने व्यक्तिलाई हीरालाल भुजेल भनेर चिनाइएको छ। तर उनी कुन पृष्ठभूमिका हुन् भन्ने खुलाइएको छैन। २२ मिनेट १७ सेकेण्ड लामो भिडियोमा भुजेलले बालेनको प्रशंसा गर्दै अन्य पार्टीको विरोध गर्छन्। भिडियोको शीर्षकमा दावी गरेजस्तै प्रसंग उक्त भिडियोमा हामीले भेटेनौँ।
मंगलबार दिउँसोसम्म उक्त भिडियो ९ हजारभन्दा बढीले हेरेका छन् ।
युट्युब भिडियोको थम्बनेल
त्यसैगरी जुलाई २ मा सोही च्यानलमा अशुद्ध नेपाली भाषामा ‘Balen Shah र किम जोङको पहिलो भेट मै हंगामा, विश्वभर बालेनको चर्चा,रातो कार्पेटमा भव्य स्वागत’ शीर्षकमा अर्को भिडियो अपलोड गरिएको छ।
यो भिडियोमा गोपाल थापा नामक व्यक्तिले बालेन शाहको प्रशंसा गर्छन्। १५ मिनेट २८ सेकेण्ड लामो भिडियोमा शीर्षकमा राखिएको जस्तै बालेन र किम जोङको भेट कहाँ र कहिले भएको प्रसंग भने छैन। थापाले भिडियोमा किम जोङले राम्रो काम गर्ने मान्छेलाई साथ दिने, अमेरिकासँग नडराएको शक्तिशाली मान्छे हो भन्छन् ।
‘नेपालमा एउटा बहादुर जन्मेको रैछस्, हात समातेर अंगालो मारेर आशिर्वाद दिएर तपाईँलाई केही पर्यो भने सहयोग गर्छु, मेरो कोरियामा तपाईँलाई वेलकम छ भनेको हामी सबैले देखेको छौँ’ भन्छन्।
मंगलबार दिउँसोसम्म उक्त भिडियो ७५ हजार जनाले हेरेका छन् भने त्यसमा ५६८ वटा कमेन्ट छन्।
सोही युट्युब च्यानलमा जुलाई १ मा अशुद्ध नेपाली भाषामा ‘Balen Shah लाई किम जोङले निम्तो गरेपछि साथीले गरे गोप्य खुलासा, बल्ल बालेनले वडाध्यक्षको सात्तो खाए’ शीर्षकमा भिडियो पोस्ट गरिएको छ।
भिडियोमा तेजराज भुजेलले बालेनको प्रशंसा र अन्य पार्टीको विरोध गर्छन् । सो भिडियोमा पनि किम जोङले निम्तो गरेको विषयमा विस्तृत केही बताइएको छैन।
बुधबार दिउँसोसम्म उक्त भिडियो ७९ हजार जनाले हेरेका छन् ।
युट्युब भिडियोको थम्बनेल
सोही आसयका अन्य भिडियोहरु पनि युट्युबमा अपलोड गरिएको छ।
के हो तथ्य ?
यसको तथ्य जाँच गर्न हामीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयमा सम्पर्क गर्यौँ। शाहका स्वकीय सचिव भूपदेव शाहले नेपालफ्याक्टचेकसँग कुरा गर्दै उत्तर कोरियाबाट मेयर बालेन शाहलाई अहिलेसम्म टेलिफोन, इमेल र अन्य माध्यमबाट औपचारिक तथा अनौपचारिक रुपमा कुनै निमण्त्रणा नआएको बताए।
‘उत्तर कोरियाबाट मेयर शाहलाई कुनै निमन्त्रणा आएको छैन, बजारमा आएका समाचारहरु हल्ला हुन्,’ शाहले भने।
हामीले उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सीको अनलाइन पोर्टलमा बालेनलाई निमन्त्रणा दिइएको बारेमा खोज्यौँ। तर, त्यहाँ पनि सो विषयमा केही जानकारी भेटिएन।
तथ्य जाँच
दावी : उत्तर कोरियाका सुप्रिम लिडर किम जोङ उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहलाई भ्रमणको निम्तो दिएको, उनीहरुबीच भेट भएको।
दावीकर्ता : खबर बुलेटिन नामको युट्युब च्यानल।
तथ्य : मिथ्या सूचना। भिडियोमा दावी गरेजस्तै उत्तर कोरियाली नेता किम जोङ उनले काठमाडौंका मेयर बालेन शाहलाई भ्रमणको निम्तो दिएका छैनन्। बालेनका स्वकीय सचिव भुपदेव शाहले मेयर शाहलाई उत्तर कोरियाबाट फोन, इमेल र अन्य कुनैपनि माध्ययबाट भ्रमणको निम्तो नआएको बताए। यस सम्बन्धी समाचार कुनै पनि विश्वसनीय मिडिया र उत्तर कोरियाको आधिकारिक न्युज एजेन्सीमा समेत भेटिएन। दावी गरिएका भिडियोमा समेत यसबारे विस्तृत जानकारी छैन। तसर्थ यो मिथ्या सूचना भएको पुष्टि हुन्छ। बालेन र किमले हात मिलाइरहेको फोटो सम्पादन गरी तयार पारिएको हो।