- प्रविण भट्ट
- साउन ३, २०८१

काठमाडौँ-हेटौडा सडकखण्डको पहिरो दावी गर्दै भाइरल भिडियो वास्तवमा इन्डोनेसियाको
सामाजिक सञ्जाल फेसबुकमा काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावीसहित एक भिडियो भाइरल भएको छ। ३९ लाख पटक हेरिएको उक्त भिडियोमा काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावी गर्दै काठमाडौँदेखि हेटौंडा जाँदा सावधानी अपनाउन सल्लाह दिइएको छ।
तर, हाम्रो तथ्यजाँच अनुसार उक्त भिडियो भ्रामक रहेको पाइएको छ। भिडियो नेपालमा नभई विदेशमा खिचिएको हो।
के हो दावी?
३ हजार फलोअर रहेका रबिन्द्र कुमार कुशवाहा नामक फेसबुक प्रयोगकर्ताले जुलाई १२, २०२४ (असार २८, २०८१) मा अशुद्ध नेपाली भाषामा “चिसोपानीभन्दा तल हेटौंडाको बीचमा गएको पहिरो, काठमाडौँबाट हेटौंडा आउँदा हेरेर आउनुहोला” लेख्दै एक फेसबुक रिल्स पोष्ट गरेका छन्।
पहिरोको दावी गरिएको उक्त भिडियोमा एउटा निलो ट्रक पहिरोबाट बच्न तीव्र गतिमा गुडिरहेको र एक व्यक्तिले ट्रकलाई छिटो आउन इसारा गरिरहेको देख्न सकिन्छ। साथै, भिडियोमा साइरन बजेको सुन्न सकिन्छ।
यो तथ्यजाँच तयार पार्दा सम्म ३९ लाख पटक हेरिएको उक्त भिडियोमा २८ हजार ७ सय वटा लाइक, ९८ वटा कमेन्ट र ६७१ जनाले सेयर गरेका छन्।
हेर्नुहोस् स्क्रिनसट
हेर्नुहोस् स्क्रिनरेकर्ड
के हो तथ्य?
काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावीको तथ्य पत्ता लगाउन हामीले विभिन्न सर्च इन्जिनमा डिप सर्च गर्यौँ। खोजीका क्रममा हामीले ई-कान्तिपुर ले असार २२ गते “हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध” भन्ने शीर्षक सहितको समाचार प्रकाशन गरेको फेला पार्यौँ।
त्यसैदिनको समाचारमा हेटौंडा–दक्षिणकाली–काठमाडौं सडकखण्ड खुलेको जानकारी थियो।
यस्तै, नागरिक दैनिकमा पनि सडक खुलेको जानकारी सहितको समाचार असार २२ गते नै प्रकाशित भएको फेला पार्यौँ।
यसको अर्थ, अविरल वर्षासँगै पहिरोका कारण काठमाडौँ-हेटौंडा सडकखण्ड केही समय अवरुद्ध भएको सही हो।
अनि भिडियो?
भिडियोको तथ्य थप जाँच्न हामीले भिडियोका केही अंशको स्क्रिनसट लिएर विभिन्न सर्च इन्जिनमा रिभर्स इमेज सर्च गर्यौँ।
सर्च गर्दा, कोम्पास डट कम नामक समाचार संस्थाको वेबसाइटमा सोही भिडियोका बारेमा स्थानीय भाषामा लेखिएको समाचार भेट्यौं। गुगल ट्रान्सलेटको सहायताले सो समाचार पढ्दा भिडियो इन्डोनेसियाको पश्चिमी सुमात्रा क्षेत्रको सितिन्जाउ लोइक भन्ने ठाउँको रहेको पत्ता लाग्यो।
मे १७, २०२४ मा लेखिएको उक्त समाचारमा प्रहरीको भनाइ समेट्दै पहिरो गएको पुष्टि गरिएको छ।
हेर्नुहोस् स्क्रिनसट
पुष्टि गर्न थप सर्च गर्दा, सुमबारकिटा नामक समाचार संस्थाको वेबसाइटमा मे १७, २०२४ मा राखिएको भिडियो तथा स्थानीय भाषामा लेखिएको समाचार फेला पार्यौँ। गुगल ट्रान्सलेटको सहायताले सो समाचार पढ्दा भिडियो इन्डोनेसियाको सितिन्जाउ लोइकको भएको उल्लेख छ।
हेर्नुहोस् स्क्रिनसट
अतः, काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको भन्दै फेसबुकमा राखिएको भिडियो नेपालको नभई इन्डोनेसियाको पश्चिमी सुमात्रा क्षेत्रको सितिन्जाउ लोइकको हो।
तथ्यजाँच
दावी : काठमाडौँ-हेटौंडा सडकखण्डमा गएको पहिरोको भएको दावी सहितको भिडियो।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता (रविन्द्र कुमार कुशवाहा फेसबुक पेज)।
तथ्य : भ्रामक सूचना। काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको र केही समय यातायात अवरुद्ध भएको सही हो। तर त्यहाँको भन्दै फेसबुकमा राखिएको भिडियो नेपालको नभई इन्डोनेसियाको पश्चिमी सुमात्रा क्षेत्रको सितिन्जाउ लोइकको हो।