- प्रविण भट्ट
- असार २९, २०८१
सेती नदी थुनिँदा पोखरामा बाढी भन्दै भाइरल भएको भिडियो भारतको ११ वर्ष पुरानो
देशभर बाढीपहिरोले जनजीवन प्रभावित हुँदै गर्दा ‘सेती नदी थुनिँदा पोखरामा डरलाग्दो बाढी’ आएको दावीसहित सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ। १० लाख पटक हेरिएको उक्त भिडियोमा पक्की घर नदीमा बगेको देख्न सकिन्छ।
तर हाम्रो तथ्यजाँचले यो भिडियो नेपालसँग सम्बन्धित नभएकोले मिथ्या सूचना भएको देखाएको छ।
के छ भिडियो?
फेसबुकमा २०२४ जुलाई ११ (२०८१ असार २७) का दिन १४ हजार फलोअर रहेका र बायोमा आफूलाई आँखिझ्याल, पूर्वीखबर नेपाल सिइओ, ब्लास्ट दैनिक (प्रमुख अधिकृत) र विस्फोटन (एमडी), राप्रपा नेपाल केन्द्रीय सदस्य दावी गर्ने दीपेन्द्र कार्की नाम रहेको फेसबुक प्रयोगकर्ताले एउटा भिडियो राखेका छन्। भिडियोमा अशुद्ध नेपाली भाषामा ‘सेती नदी थुनिएर आउँदा पोखरामा डरलाग्दो बाढी, केही मान्छे हराएको, सबैलाई सुरक्षित स्थानमा जान आग्रह’ लेखिएको छ।
हेर्नुहोस् स्क्रिनसट
भिडियोमा बाढीले नदी किनारको पक्की घर बगाएको देखिन्छ। यो तथ्यजाँच तयार गर्दासम्म १० लाख भ्युज कटिसकेको भिडियोमा ८ हजार ५ सय वटा लाइक, २४८ वटा कमेन्ट छन् भने १ हजार पटक सेयर भएका छन्।
हेर्नुहोस स्क्रिनरेकर्ड-
के हो तथ्य?
दावी गरिएजस्तो सेती नदी थुनिएर पोखरामा बाढी आएको हो कि होइन थाहा पाउन हामीले गुगलमा डिपसर्च गर्ने निधो गर्यौँ।
‘सेती नदी’ र ‘पोखरा’ कीवर्ड राखेर पछिल्लो एक महिनामा प्रकाशित समाचारहरु हेर्दा हामीले कतै पनि सेती नदी थुनिएर बाढी आएको खबर देखेनौँ। बरु पोखरान्युज डट कममा ‘सेती नदीमा पानीको बहाव बढेर बस्ती नै जोखिममा परेपछि पोखरा महानगरपालिका वडा नं. १४ गोस्टीटोलका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको’ खबर असार २२ मा प्रकाशित भएको देख्यौँ।
त्यसैगरी रातोपाटीमा पनि सोही दिन ‘पोखरामा सेती नदी बढेपछि ५ परिवार विस्थापित’ शीर्षकमा समाचार प्रकाशन भएको देख्यौँ।
कुनै पनि समाचारमा सेती नदी थुनिएको उल्लेख छैन। बरु, सेतीमा पानीको बहाव बढेको कारण उल्लेख छ।
घर बगाएको भिडियो नि ?
घर बगाएको देखिने भिडियो पोखराको हो कि हैन यकिन गर्न हामीले भिडियोका केही स्क्रिनसट लिई विभिन्न सर्च इन्जिनमा रिभर्स ईमेज सर्च गरेर हेर्यौँ।
यस क्रममा भारतको एनडीटिभी समाचार च्यानलको “Watch:in torrential rain, house collapses in Uttarakhand” शीर्षकमा जुन १७, २०१३ मा प्रकाशित भिडियो रिपोर्ट हामिले फेला पार्यौं। भिडियो रिपोर्टको २१ औं सेकेण्डमा भाइरल भएको पोखराको सेती नदीको बाढी दावी गरिएको भिडियोको अंश मिलेको देखिन्छ।
हेर्नुहोस् स्क्रिनसट
भिडियोबारे थप खोज्दा भिडियोसँग सम्बन्धित एक फोटो बीबीसीले जुन १८, २०१३ मा “In pictures: India floods” फोटोमा भारतको बाढी शीर्षकमा तयार परेको फोटो रिपोर्ट फेला पार्यौँ।
यो रिपोर्टको तेस्रो फोटो पोखराको भएको दावीसहित भाइरल भिडियोसँग मिलेको देखिन्छ। बीबीसीका अनुसार उक्त फोटो भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीको हो।
हेर्नुहोस् बीबीसीको फोटो रिपोर्टको स्क्रिनसट
अतः फेसबुकमा सेतीनदी थुनिएर पोखरामा डरलाग्दो बाढी आएको भन्ने दावीसहित राखिएको भाइरल भिडियो भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा ११ वर्ष अगाडि आएको बाढीको भएको देखियो।
तथ्य जाँच
दावी : सेती नदी थुनिएर पोखरामा डरलाग्दो बाढी आएको दावीसहितको भिडियो।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता (फेसबुक प्रोफाइल दीपेन्द्र कार्की)।
तथ्य : मिथ्या सूचना। यो वर्ष सेती नदी थुनिएर पोखरामा डरलाग्दो बाढी आएको समाचार कतै पनि आएको छैन। त्यहाँको दावी गर्दै राखिएको भिडियो नेपालसँग सम्बन्धित छैन। त्यो भिडियो भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा ११ वर्ष अगाडि आएको बाढीको हो।