तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

बालेनको नाम जोड्दै भाइरल भएको बाढीको भिडियो काठमाडौँको होइन, विदेशको


बालेनको नाम जोड्दै भाइरल भएको बाढीको भिडियो काठमाडौँको होइन, विदेशको

मनसुन भित्रिएसँगै काठमाडौँको सुकुमवासी बस्ती बाढीले बगाएको दावीसहित सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो भाइरल भइरहेको छ। भिडियोमा भनिएको छ, ‘कतिपयले बालेनले उठाउन नसकेको सुकुम्बासीलाई अहिले बाढीले यसरी ठीक पारिदिएको छ भनेर बालेनको पक्ष लिएको देख्न सकिन्छ।’

तर, हाम्रो तथ्यजाँचमा उक्त भिडियो भ्रामक रहेको देखियो। भिडियो नेपालको नभई विदेशको हो। 

के हो दावी ?

३६ हजार लाइक र १ लाख ३१ हजार फलोअर रहेको KJ rokaya नामको  फेसबुक पेजमा २०२४ जुलाई ६ अर्थात् २०८१ असार २२  गते सार्वजनिक गरिएको छोटो भिडियो (रिल्स) मा अशुद्ध रुपमा “बाढीको बज्रपात सुकुम्बासीमाथि” लेख्दै काठमाडौँको सुकुम्बासी बस्ती बाढीले बगाएको दावी गरिएको छ।

भिडियोको सुरुवातमा घरसहित सामान बाढीले बगाइरहेको र एक व्यक्ति घरको छानामाथि रहेको देख्न सकिन्छ।

यो तथ्यजाँच तयार पार्दा सम्म उक्त भिडियो १७ लाख पटक हेरिएको छ। त्यसैगरी यसमा ५२ हजार भन्दा बढी जनाले लाइक गरेका छन् भने १३०० जनाले सेयर गरेका छन्। 

हेर्नुस् स्क्रिनरेकर्ड-

ओरिजिनल लिङ्क।

के हो तथ्य?

दावी गरिए जस्तो यो काठमाडौँको सुकुम्बासी बस्ती हो कि होइन यकिन गर्न हामीले भिडियोका केही स्क्रिनसट लिई विभिन्न सर्च इन्जिनमा रिभर्स इमेज सर्च गर्‍यौँ। 

यस क्रममा हामीले उक्त भिडियोमा देखाइएको जस्तै दृश्य इन्डोनेसियाको स्थानीय भाषामा प्रकासित हुने टिभिवोन्यूज मा फेब्रुअरी १०, २०२४ मा प्रकाशित समाचारमा भेट्यौं। 

भिडियोमा देखिने व्यक्तिको नदी किनारमा रहेको घर बाढीमा बगेको र समयमै भाग्न नसक्दा घरको छानामाथि चढ्दै बाँचेको उल्लेख गरिएको छ।

भिडियो इन्डोनेसियाको सुमबवा द्वीपको रहेको पनि सोही समाचारमा उल्लेख छ। 

उक्त भिडियोका बारेमा थप अध्ययन गर्दा हामीले कोम्पास डट कम नामक यु-ट्युवमा च्यानलमा  १२ फेब्रुअरी २०२४ मा राखिएको एक भिडियो भेट्यौं। भिडियोको १ मिनेट २३ सेकेण्डमा फेसबुकमा KJ rokaya नामक पेजले काठमाडौंको सुकुम्बासी बस्तीको भनी दावी गरेको भिडियोसँग मिलेको देखिन्छ।


यु-ट्युवमा राखिएको भिडियोको विवरण गुगल ट्रान्सलेट गरेर हेर्दा भिडियो इन्डोनेसियाको सुमबवा क्षेत्रमा फेब्रुअरी ९, २०२४ मा खिचिएको थाहा हुन्छ। 

अतः फेसबुकमा काठमाडौंको सुकुम्बासी बस्ती बाढीले बगाएको भन्ने दावीसहित राखिएको भाइरल भिडियो इन्डोनेसियाको सुमबवा क्षेत्रमा ५ महिना अगाडि आएको बाढीको रहेको देखियो।

तथ्यजाँच

दावी :  काठमाडौँको सुकुम्बासी बस्ती बाढीले बगाएको भन्ने दावीसहितको भिडियो।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता (केजी रोकाया फेसबुक पेज)।

तथ्यः भ्रामक सूचना।  काठमाडौंको सुकुम्बासी बस्ती बाढीले बगाएको भन्दै राखिएको भिडियो नेपालसँग सम्बन्धित छैन। उक्त भिडियो इन्डोनेसियाको सुमबवा क्षेत्रमा ५ महिना अगाडि आएको बाढीको हो। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add