- प्रविण भट्ट
- साउन ३२, २०८१
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको भनिएको फोटो १२ वर्ष पुरानो
काठमाडौँबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर गत बुधबार साउन २३ गते दुर्घटनामा परेसँगै दुर्घटनास्थलको भएको दावीसहित एक फोटो सामाजिक सञ्जाल फेसबुक र एक्स (पहिला ट्विटर भनेर चिनिने) मा भाइरल भयो। फोटोमा दुर्घटनाग्रस्त सेतो रङ्गको हेलिकप्टर देख्न सकिन्छ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलको भन्दै दावी गरिएको फोटो हाम्रो तथ्यजाँचमा मिथ्या सूचना भएको पाइएको छ।
के हो दावी?
१६ हजार लाइक र र २२ हजार फलोअर रहेको तिलोत्तमा खबर डबली नामक फेसबुक पेजले “रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ” लेख्दै फोटो सेयर गरेको छ। फोटोमा सेतो रङ्गको हेलिकप्टर जंगलमा दुर्घटनाग्रस्त अवस्थामा रहेको देख्न सकिन्छ।
हेर्नुहोस स्क्रिनसट
यसै गरी ३ हजार ९ सय लाइक र ३६ हजार फलोअर रहेको न्युज एवन नामक फेसबुक पेजले समेत सोही फोटो फेसबुक स्टाटसमा राख्दै “रसुवाको स्याफ्रुबेसी उडेको “एयर डाइनेस्टी” को हेलिकप्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ” लेखेको छ।
हेर्नुहोस स्क्रिनसट
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले नेपालको आकाश सुरक्षित नरहेको टिप्पणी गर्दै सोही फोटो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।
हेर्नुहोस स्क्रिनसट
के हो तथ्य?
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको फोटो भन्दै दावी गरिएको फोटो वास्तवमा पुरानो फोटो हो। यसबारे हामीले २०८० असार २७ गते पनि तथ्य जाँच प्रकाशित गरिसकेका छौँ।
त्यतिबेला सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको भन्दै यही फोटो नयाँ पत्रिका दैनिक लगायत अन्य सोसल मिडियामा प्रकाशित भएका थिए।
हेर्नुस् त्यतिबेलाको तथ्य जाँच – मनाङ एयरको दुर्घटना भन्दै प्रकाशित फोटो नेपालको हैन, केन्यामा भएको दुर्घटनाको
फोटोलाई हामीले विभिन्न सर्च इन्जिनमा सर्च गरेर हेर्यौँ।
सर्च गर्ने क्रममा दि हिमालयन टाइम्सको जुलाई १२, २०२३ मा प्रकाशित एक समाचार फेला पार्यौँ। समाचारमा सोलुखुम्बुको लामजुरामा दुर्घटनामा परेको मनाङ् एयरको हेलिकप्टरको फोटो आफै खिचेको दावी गरिएको थियो।
हेर्नुहोस स्कृनसट
तर अन्य सञ्चार माध्यमले उक्त फोटो मनाङ एयरको दुर्घटनाको समाचारसँगै प्रयोग गरेका छैनन्।
थप अनुसन्धानका क्रममा सीएनएन नामक समाचार संस्थाले ले अगष्ट १५, २०१२ मा तयार पारेको एक समाचार फेला पार्यौँ। समाचारमा युगाण्डा देशका दुई सैनिक हेलिकप्टर दुर्घटनामा परेको र एक हेलिकप्टर भने माउण्ट केन्यामा क्रयास ल्याण्ड गरेको बताइएको छ। ती हेलिकप्टरहरु सोमालियातर्फ गईरहेको समेत समाचारमा उल्लेख गरिएको छ।
फोटो समाचार एजेन्सी रोयटर्सका लाण्डोभ नामक फोटोग्राफरले लिएको समेत खुलाइएको छ।
हेर्नुहोस स्क्रिनसट
यसै गरी डेली मेल नामक समाचार संस्थाले ले सन २०१२, अगष्ट १४ मा तयार परेको समाचारमा समेत केन्यामै सर्वाधिक उचाई रहेको हिमालमा युगाण्डाको हेलिकप्टर दुर्घटना भएको उल्लेख गरिएको छ। समाचार एजेन्सी रोयटर्सले लिएको फोटो रहेको कुरा उल्लेख गर्दै डेली मेलले समेत सोही फोटो प्रयोग गरेको हो।
अतः उक्त फोटो साउन २३, २०८१ मा भएको एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनाको नभई अफ्रिकी देश केन्यामा १२ वर्ष अगाडि भएको एक हेलिकप्टर दुर्घटनाको हो।
तथ्यजाँच
दावी : काठमाडौँबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको एयर डाइनेस्टीको दुर्घटनाग्रस्त हेलिकप्टरको फोटो।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यजाँच : मिथ्या सूचना । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको फोटो भन्दै दावी गरिएको फोटो नेपालको नभई अफ्रिकी देश केन्यामा १२ वर्ष अगाडि भएको हेलिकप्टर दुर्घटनाको हो।