तथ्यजाँच भ्रामक सूचना सम्बन्धित प्रदेश सुदूरपश्चिम

के चीनले दैलेखमा पेट्रोल निकालेको हो?


के चीनले दैलेखमा पेट्रोल निकालेको हो?

चीनले दैलेखमा पेट्रोल निकालेको दावीसहितका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले भने यो दावी भ्रामक भएको पुष्टि गरेको छ। दैलेखमा पेट्रोल निकालिएको नभएर पेट्रोलियम अन्वेषणको काम बल्ल सुरु हुँदैछ।

के छ दावी ?

२५ हजार फलोअर्स रहेको ‘मिडिया प्रेमी ललित शाही’ नामक फेसबुक पेजमा २०२४ अगस्त १९ मा एक मिनेट १८ सेकेण्ड लामो भिडियो अपलोड गरिएको छ।

‘अन्तत यसरी निस्कियो दैलेखमा पेट्रोल, अन्य चार ठाउँबाट पनि पेट्रोल निकालिएको छ…’ लेखिएको यो भिडियोमा समाचार बुलेटिनको शैलीमा आवाज दिइएको छ।

भिडियोको सुरुमा ‘ अन्ततः चीनले दैलेखमा निकालेरै छाड्यो यति धेरै पेट्रोल, ड्रिलिङ गर्दै जादा यसरी निस्कियो पेट्रोल, दैलेखमा मात्र नभएर नेपालको प्रत्येक जिल्लामा पेट्रोलियम पदार्थको खानी हुनसक्ने चिनिया विज्ञहरुको खुलासा, चीनले दियो नेपाललाई यति ठूलो खुशीको खबर’ भनिएको छ।

यो आवाज आइरहँदा पृष्ठभूमिमा पाइपबाट पानीजस्तो तरल पदार्थ खसाएको भिडियो चलाइएको छ।

त्यस्तै समाचारमा ड्रिलिङ गर्दा कच्चा पदार्थ बाहिर निस्किएको समेत भनिएको छ।

यो तथ्य जाँच गर्दासम्म उक्त भिडियो एक हजार जना भन्दा बढीले हेरिसकेका छन् भने ४ वटा कमेन्ट र ३५ वटा भन्दा बढी रियाक्सन छ।

हेर्नुस्, स्क्रिनरेकर्ड । लिंक

तथ्य के हो ?

यो दावीको तथ्य जाँच गर्नका लागि हामीले खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटासँग सम्पर्क गर्‍यौँ।

४१ वर्षअघि खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थको खानी रहेको विषयमा अध्ययन सुरु गरेको बाँस्कोटाले बताए। तर, स्रोत साधनको अभावले उक्त काम सम्पन्न भएको थिएन।

उनका अनुसार, २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी भएको थियो।

त्यसपछि नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो।

सोहीअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो।

२०७६ असार १६ गते तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्नवेषणको औपचारिक उद्घाटन गरेका थिए। उक्त काम देशमा कोरोना महामारी सुरु भएदेखि रोकिएको थियो ।

गत वैशाखदेखि पेट्रोलियम चिनियाँ प्राविधिकसहितको टोली अन्वेषणस्थलमा खटिएका बाँस्कोटा बताउँछन्।

के भिडियोमा दावी गरेजस्तो दैलेखमा पेट्रोल निस्किसकेको हो त ?

खानी तथा भूगर्भ विभागका सूचना अधिकारी बाँस्कोटाका अनुसार, दैलेखमा पेट्रोलियम पदार्थ निस्किसकेको छैन।

चिनिया टोलीले पेट्रोलियम पदार्थ निकाल्नको लागि भन्दा पनि पेट्रोलियम पदार्थ छ/छैन भन्ने एकिन गर्न ड्रिल गरिरहेको उनको भनाइ छ। पेट्रोलियम पदार्थ निकाल्नको लागि ४ हजार मिटरसम्म जमिनमुनि ड्रिल गरिने र उक्त ड्रिलिङपछि व्यावसायिक रूपमा पेट्रोल निकाल्न मिल्छ कि मिल्दैन भन्न सकिने बाँस्कोटालेले बताए।

“अहिलेसम्म साढे १७ सय मिटर* (यसअघि साढे १७ हजार भएकोमा गल्ती सच्याइएको छ) मात्र ड्रिलिङ गरिएको छ, यतिञ्जेल पेट्रोल निस्किएको छैन” बाँस्कोटाले भने।

तथ्य जाँच

दावी : चीनले दैलेखमा पेट्रोलियम पदार्थ निकालेको।

दावीकर्ता :  फेसबुक प्रयोगकर्ता ललित शाही।

तथ्य जाँच : भ्रामक सूचना। दैलेखमा पेट्रोलियम पदार्थ निस्किसकेको छैन्। पेट्रोलियम पदार्थ निकाल्नको लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीले उत्खनन् गरिरहेको छ। त्यसैले ललित शाहीले गरेको दावी भ्रामक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add