- सागर बुढाथोकी
- साउन ३०, २०८१
देवी प्रतिभालाई हेर्न पशुपतिमा देखिएको भीड दावी गरिएको भिडियो भ्रामक
‘देवी प्रतिभालाई हेर्न पशुपतिमा देखियो भीड’ भन्दै घरको छानो भत्किएर मानिसहरु खसेको भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले भने यो दावी भ्रामक भएको देखाएको छ। पशुपतिनाथको दावी गरेको भिडियो नेपालको नभएर भारतको उत्तरप्रदेशस्थित कन्नौजको हो।
के छ दावी ?
२१ हजार फलोअर रहेको ‘सोताङ स्टार’ नामक फेसबुक पेजको पशुपतिनाथ मन्दिरको कोटी होममा कथा वाचा गर्न आएकी देवी प्रतिभाको सानो फोटो राखेर अशुद्ध नेपाली भाषामा ‘देबि प्रतिभालाई हेर्न पसुपति मा देखियो यस्तो भिड’ भनेर क्याप्सन लेख्दै छतबाट मानिसहरु जुलुस गरिरहेको भीडमाथि खसिरहेको भिडियो रिल हालिएको छ। र, उक्त रिलमा ‘देखाइदेउ चमत्कार कोटी कोटी नमस्कार’ भन्ने गीत पृष्ठभूमिमा बजाइएको छ।
४७ लाख पटक भन्दा बढी हेरिएको उक्त रिलमा यो तथ्यजाँच तयार गर्दासम्म ५७ हजार भन्दा बढी रियाक्सन, पाँच सय ५७ कमेन्ट र तीन सय ८८ सेयर गरिएको छ।
हेर्नुस स्क्रिनसट
त्यस्तै , ८८ हजार फलोअर रहेको रमेश गौतमको फेसबुक प्रोफाइलमा पनि जुलाई ३० मा सोही आशयको रिल अपलोड भएको छ । अशुद्ध नेपाली भाषामा ‘देख्नासाथ सेयर गर्नुहोस। सोचेको पुरा हुनेछ। रमेश गौतमलाई लाइक कमेन्ट फ्लो गर्नुहोस्’ भनेर घरको छानो भत्किएर मानिसहरु खसेको रिल अपलोड गरिएको छ। उक्त रिलको माथि एक कुनामा अशुद्ध नेपाली भाषामा ‘देबि प्रतिभालाई हेर्न पसुपति मा देखियो भिड’ भनेर उनको फोटो राखिएको छ।
यो तथ्य जाँच तयार गर्दासम्म तीन लाख ५६ हजार पटक हेरिएको उक्त भिडियोमा तीन हजार भन्दा बढी रियाक्सन, ५८ वटा कमेन्ट र १६८ पटक सेयर गरिएको छ।
हेर्नुस्, स्क्रिन सट।
तथ्य के हो ?
झट्ट हेर्दा भिडियो कुनै पनि एंगलबाट पशुपतिनाथ क्षेत्रको देखिदैन। किनकि, भिडियोमा टिनको छानो भएको घर, तराईजस्तो देखिने समथर भूभाग र निर्माण सम्पन्न नभइसकेको एउटा घर देखिन्छ।
यो विषयमा तथ्यजाँच गर्नका लागि उक्त भिडियोको फरक फरक एंगलको स्क्रिन सट लिएर विभिन्न सर्च इन्जिनमा रिभर्स ईमेज सर्च गरेर हेर्यौँ। यस क्रममा हामीले उक्त भिडियो भारतको उत्तर प्रदेशस्थित कन्नौजको रहेको फेला पार्यौँ।
सोही क्रममा हामीले जुलाई १८ मा न्यूज फस्ट कन्नाडाको आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो फुटेजको स्क्रिनसट राखेर समाचार बनाएको फेला पार्यौँ। उक्त समाचार अनुसार, भारतको उत्तर प्रदेशस्थित कन्नौजमा मुहरमको जुलुस चलिरहेको बेला छत खस्दा ठुलो दुर्घटना भएको उल्लेख छ।
हेर्नुस, स्क्रिन सट
यो विषयमा थप सर्च गर्दा जुलाई १८ मा नै न्यूज एटिन यूपी उत्तरखण्ड च्यानलको युट्युब च्यानलमा अर्को समाचार भेट्यौँ। उक्त समाचार बुलेटिनमा मुहरमको जुलुस चलिरहेको बेला छत खस्दा एक जनाको मृत्यु र ६ जना घाइते भएको भनेर समाचार बनाइएको छ । समाचारमा फरक एंगलले खिचेको भिडियो फुटेज राखिएको छ, जुन भिडियो पशुपति नाथको भनेर दावी गरीएको भिडियोसँग केहि अंश मिल्न जान्छ ।
हेर्नुस्, स्क्रिन सट
यो विषयमा थप सर्च गर्दा उक्त विषयमा भारतीय सञ्चार माध्ययम अमर उजालाले १७ जुलाईमा ‘कन्नौज में बड़ा हादसा: मुहर्रम के जुलूस के दौरान छज्जा गिरा, बच्चे की मौत, 50 घायल’ शीर्षकमा समाचार राखेको भेट्यौँ । समाचारमा भिडियो नराखेतापनि मुहर्रमको जुलुस हेर्नका लागि छतमा मानिसहरु बस्दा छत भत्किएर खसेको, छतले थिचिएर एक बच्चाको मृत्यु भएको र ५० भन्दा बढी मानिसको घाइते भएको उल्लेख छ।
हेर्नुस्, स्क्रिनसट
सो विषयमा थप सर्च गर्दा भारतीय सञ्चार माध्यम इण्डिया टूडेले ‘4 dead, 26 Injured in separate incidents during Muharram processions in UP’ शीर्षकमा समाचार राखेको भेट्यौँ । समाचार अनुसार, उत्तरप्रदेशमा १७ जुलाईमा भएको उक्त घटनामा ४ जनाको मृत्यु र २६ जना गम्भिर घाइते भएका थिए।
स्क्रिन सट
भारतीय सञ्चार माध्यमले सोही भिडियोको अंशसँग मिल्ने फुटेज र जुलाई १७ मा भएको घटनाको समाचार लेखेतापनि नेपाली सञ्चार माध्यमले पशुपति नाथमा देवी प्रतिभालाई हेर्ने क्रममा कुनै घटना भएको समाचार भेटेनौ । सोही कारण सोताङ स्टार र रमेश गौतमको फेसबुक पेजले गरेको दावी भ्रामक छ।
तथ्यजाँच
दावी : पशुपतिनाथमा चलिरहेको कोटीहोममा कथा वाचन गर्न आएकी देवी प्रतिभालाई हेर्न घरको छानोमा चढ्दा छानो भत्किएको।
दावीकर्ता : सोताङ स्टार नामक फेसबुक पेज र रमेश गौतमको फेसबुक प्रोफाइल।
तथ्यजाँच : भ्रामक भिडियो। देवी प्रतिभाले पशुपतीनाथमा कथा वाचन गर्दा त्यस्तो घटना भएको छैन। पशुपतिनाथको दावी गरिएको भिडियो भारतको उत्तराखण्डस्थित कन्नौजको हो । त्यसैले सोताङ स्टार र रमेश गौतमले गरेको दावी भ्रामक छ।