तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

नेपालको पहिरो भन्दै फैलिएको भिडियो वास्तवमा चीनको


नेपालको पहिरो भन्दै फैलिएको भिडियो वास्तवमा चीनको

‘नेपालको सबैभन्दा बढी पहिरो जाने ठाउँ’ भएको दावी गर्दै एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। ३१ लाखभन्दा बढी पटक हेरिएको उक्त भिडियोमा पहाडको एक भाग पहिरोका कारण खस्किएको देख्न सकिन्छ। 

तर हाम्रो तथ्यजाँचमा उक्त भिडियो भ्रामक सूचना भएको पाइएको छ। भिडियो नेपालसँग सम्बन्धित छैन। 

के हो दावी?

२३ हजार भन्दा बढी फलोअर रहेको बाबु रेग्मी अफिसेल (Babu Regmi Officel) नामक फेसबुक प्रयोगकर्ताले गत अगस्त ३, २०२४ (साउन १९ गते) एक भिडियो अपलोड गर्दै नेपालकै सबैभन्दा बढी पहिरो जाने ठाउँ रहेको दावी गरेका हुन्। झट्ट हेर्दा नेपालकै कुनै पहाडी क्षेत्र हो कि जस्तो देखिने उक्त भिडियोमा पहाडको एक भागमा पहिरो गएको देख्न सकिन्छ। 

नेपालको पहिरो भएको दावी गरिएको उक्त भिडियो ३३ हजार १ सय लाइक छन् भने ४८६ पटक सेयर भएको छ।  

हेर्नुहोस स्क्रिनरेकर्ड

के हो तथ्य?

नेपालमा गएको पहिरो दावी गरिएको भिडियो नेपालकै हो कि होइन भन्ने यकिन गर्न हामीले भिडियोको केही अंश स्क्रिनसट गरेर विभिन्न सर्च इन्जिनमा रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ।

यस क्रममा हामीले दी वेदर नेटवर्क नामक वातावरण सम्बन्धी क्यानेडियन समाचार संस्थाले उक्त भिडियो राखेको पायौं। भिडियो विभिन्न कोणबाट खिचिएको थियो। दी वेदर नेटवर्कले प्रकाशित गरेको भिडियो र बाबु रेग्मी अफिसेल नामक फेसबुक प्रयोगकर्ताले राखेको भिडियो एकै भएको स्पष्ट देखिन्छ।

दी वेदर नेटवर्कले भिडियो रोयटर्स समाचार एजेन्सीबाट लिएको र सो भिडियो जुलाई १७, २०२४ को भएको समेत उल्लेख गरेको छ। भिडियोमा नेपालमा गएको भनिएको पहिरो देख्न सकिन्छ, जुन वास्तवमा चीनको जिगुई काउण्टीको थियो। 

हेर्नुहोस अर्काइभ लिङ्क

हेर्नुहोस स्क्रिनसट

दी वेदर नेटवर्कले राखेको विवरण अनुसार हामीले थप डिप सर्च गर्ने निर्णय गर्‍यौँ। सर्च गर्ने क्रममा हामीले दी पेपर नामक  चिनियाँ समाचार संस्थाले अपलोड गरेको सोही भिडियो फेला पार्‍यौँ। भिडियोको विवरणमा पहिरो हुबेई प्रान्तको, जिगुई काउण्टीमा गएको र कुनै मानवीय क्षति नभएको समेत उल्लेख छ। भिडियो जुलाई १७, २०२४ को भएको त्यसमा लेखिएको छ।

हेर्नुहोस अर्काईभ लिङ्क

हेर्नुहोस स्क्रिनसट

अतः नेपालमा सबैभन्दा बढी पहिरो जाने ठाउँ भएको दावी सहितको भिडियो नेपालसँग सम्बन्धित छैन। सो भिडियो नेपालको नभई चीनको हुबेई प्रान्त स्थित जिगुई काउण्टीको हो।

तथ्यजाँच

दावीः नेपालमा सबैभन्दा बढी पहिरो जाने ठाउँ भएको दावीसहितको भिडियो।

दावीकर्ताः सामाजिक सञ्जाल फेसबुक (प्रयोगकर्ता बाबु रेग्मी अफिसेल)।

तथ्यजाँचः भ्रामक सूचना। भिडियो नेपालसँग सम्बन्धित छैन। सो भिडियो नेपालको नभई चीनको हुबेई प्रान्त स्थित जिगुई काउण्टीको हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add