तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

के एमपक्सको संक्रमण हुनासाथ मृत्यु हुन्छ ? एमपक्सबारे जान्नै पर्ने तथ्यहरु


के एमपक्सको संक्रमण हुनासाथ मृत्यु हुन्छ ? एमपक्सबारे जान्नै पर्ने तथ्यहरु

एमपक्स संक्रमण हुनासाथ मानिसको मृत्यु हुन थालेको दावी गर्दै युट्युबमा भिडियोहरु अपलोड गरिएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक देखिएको छ।

के छ दावी ?

प्राइम टाइम्स एचडी टेलिभिजनको युट्युब च्यानलमा २०२४ अगस्त १६ मा ‘एमपक्स संक्रमण हुनासाथ मानिसको मृत्यु हुन थालेपछि विश्व नै त्रसित,विश्व स्वाथ्यले गर्‍यो आपतकाल घोषणा’ शीर्षकमा एउटा भिडियो समाचार अपलोड गरिएको छ। लिंक 

हेर्नुस्, स्क्रिनसट

 

समाचारको सुरुवातमा ‘अफ्रिकाको केही भागबाट एमपक्सको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजानिक स्वास्थ्य आपतकाल घोषणा गरेको र यो रोगलाई अन्तराष्ट्रिय चिन्ताको विषयको रुपमा समेत व्याख्या गरिएको’ भनेको छ।

समाचारमा अफ्रिकामा एमपक्स संक्रमण फैलिएर ४५० जनाभन्दा बढीको मृत्यु भएको र नेपालले गर्नुपर्ने तयारीको विषय समेटिएपनि समाचारको शीर्षकमा दावी गरेकोजस्तै संक्रमण हुनासाथ मृत्यु हुने विषयमा केही खुलाइएको छैन।

सोही समाचार प्राइम टाइम्स टेलिभिजनको फेसबुक पेजमा पनि सेयर गरिएको छ । हामीले तथ्य जाँच गर्दासम्म उक्त समाचार ३१ हजार पटक हेरिएको छ भने  ५४७ रियाक्शन र ९ वटा कमेन्ट छ। अर्काइभ लिंक

हेर्नुस्, स्क्रिनसट

तथ्य के हो ?

के समाचारको शीर्षकमा दावी गरेजस्तै एमपक्सको संक्रमण हुनासाथ मृत्यु हुन्छ त ?

हामीले यो विषयको तथ्यजाँच गर्नका लागि अहिले एमपक्सको संक्रमण फैलिइरहेको अफ्रिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको वेबसाइटमा हेर्‍यौँ।

उक्त वेबसाइटमा सन् २०२४ को सुरुदेखि हालसम्म अफ्रिकाको १३ राज्यमा १७ हजार पाँच सय ७२ जनामा एमपक्सको संक्रमण भेटिएको र ५१७ जनाको मृत्यु भएको उल्लेख छ। अर्थात्, संक्रमण हुनासाथ सबैको मृत्यु भएको छैन।

सिडिसी अफ्रिकाका अनुसार, सन् २०२३ को सोही अवधिमा सन् २०२४ मा १६० प्रतिशतले संक्रमणमा र १९ प्रतिशतले मृत्युदरमा वृद्धि भएको छ।

एमपक्सको अहिले दुई वटा प्रकार (भेरियण्ट) क्लेड १’ र ‘क्लेड २’ फैलिएका छन्। अहिले मध्य र पूर्वी अफ्रिकामा ‘क्लेड १’ भेरियण्टको एमपक्स फैलिएको हो, जुन ‘क्लेड २’ भन्दा बढी संक्रामक छ। त्यस्तै, यसको मृत्युदर ३. ६ प्रतिशत छ।

त्यस्तै, सन् २०२२ मा देखिएको ‘क्लेड २’ को मृत्युदर ०.२ प्रतिशत थियो।

हामीले विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ) वेबसाइटमा पनि एमपक्सको मृत्युदरको बारेमा खोज्यौँ। तर, प्राइभ टेलिभिजन एचडीले दावी गरेजस्तै एमपक्सको संक्रमण हुनासाथ मृत्यु हुने कुनै तथ्य फेला परेन। उपलब्ध तथ्यांक अनुसार, ०.१ प्रतिशत देखि १० प्रतिशतसम्म एमपक्स भएका व्यक्तिको मृत्यु भएको डब्लुएचओले उल्लेख गरेको छ

अर्थात्, डब्लुएचओ र सिडिसीजस्ता आधिकारिक निकायले एमपक्सको संक्रमण हुनासाथ मृत्यु हुने उल्लेख गरेका छैनन्।

तथ्यजाँच

दावी : एमपक्सको संक्रमण हुनासाथ मृत्यु हुन्छ।

दावीकर्ता : प्राइम टाइम्स एचडी टेलिभिजन।

तथ्यजाँच : भ्रामक सूचना। विश्व स्वास्थ्य संगठन र अहिले एमपक्सको संक्रमण फैलिएको अफ्रिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार एमपक्स संक्रमणको मृत्युदर ४ प्रतिशत हाराहारी भन्दा कम छ। अर्थात्, एमपक्सको संक्रमण भएका सबै मानिसको मृत्यु हुँदैन। त्यसैले, प्राइम टाइम्स टेलिभिजनले गरेको दावी भ्रामक छ।

यसरी मूलधारको सञ्चार माध्यमले नै एमपक्सको बारेमा भ्रामक सामाग्री प्रस्तुत गरेपछि हामीले एमपक्सको बारेमा विस्तृत जानकारी खोजेका छौँ।

एमपक्स के हो ?

डब्लुएचओको अनुसार , मङ्कीपक्स भाइरसको सङ्क्रमणको कारण एमपक्स हुने पर्छ। यो भाइरल इन्फेक्शन पहिले जनावरबाट मानिसहरुमा सरेको भएपनि अहिले भने मुख्यगरी मानिसबाट मानिसमा सर्ने गरेको छ। त्यस्तै, कहिलेकाहीँ भने एमपक्स भएको मानिसले छोएको वस्तु र ऊ बसेको वातावरणबाट पनि सर्न सक्छ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगो र अफ्रिकाका अन्य देशहरुमा एमपक्सको संक्रमण फैलिन थालेपछि डब्लुएचओले १४ अगस्तमा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ।

अमेरिकाको सेन्टर फर डिजिट कन्ट्रोल एण्ड प्रिभेन्सनका (सिडिसी) अनुसार यो रोग डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा सन् १९७० मा पहिलो पटक मानिसमा देखिएको थियो। सन् २००३ मा अफ्रिका बाहिर अमेरिकामा पहिलोपटक मङ्कीपक्स देखिएको थियो।

त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन।

सन् २०१७ मा नाइजेरियामा ठूलो सङ्क्रमण ‘आउटब्रेक’ भएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए।

त्यसयता यसको संक्रमण निरन्तरजसो फैलिइरहेको छ। गत जुलाईमा गरिएको परीक्षणले एक सय जनामा नयाँ भेरियण्ट क्लेड १ संक्रमण पुष्टि गरेको थियो, जुन यसअघि एमपक्सको संक्रमण नदेखिएका देशहरु बुरुण्डी, केन्या, रुवाण्डा र युगाण्डाका मानिसलाई देखिएको थियो।

डब्लुएचओका अनुसार, यो रोग प्रायः उष्णतटीय वर्षावन नजिक रहेका अफ्रिकी देशहरूमा वर्षेनीजसो देखिने भएतापनि पछिल्ला वर्षहरुमा अफ्रिका बाहिर पनि देखिन थालेको छ।

सन् २०२२ मा अमेरिका, युरोप र भारतमा समेत यसको संक्रमण देखिएपछि त्यतिबेला पनि विश्वव्यापी आपतकाल घोषणा गरिएको थियो। सन् २०२३ मा एमपक्सको संक्रमण झनै बढी फैलियो। त्यसबेला युरोप, एशिया र अफ्रिकाका करिब १०० देशहरूमा फैलिएको थियो।

पहिला यो भाइरसलाई मंकिपक्स भनेर चिनिन्थ्यो । सन् २०२२ मा यसको नाम परिवर्तन गरेर एमपक्स राखिएको हो।

सन् २०२४ मा एमपक्सको ‘क्लेड १’ भेरियण्ट अफ्रिकाका १४ वटा देश, एसियाका तीन वटा देश (फिलिपिन्स, थाइल्याण्ड र पाकिस्तान) र युरोपको स्विडेनमा देखिएको छ। अफ्रिका बाहेकका अन्य देशमा एमपक्सको कारण मृत्यु भएको रिपोर्ट गरिएको छैन।

एमपक्स हुदाँ कस्ता लक्षण देखिन्छन् ?

एमपक्सको लक्षण सबै व्यक्तिलाई समान छैन, केहीलाई एमपक्सले सामान्य लक्षण देखाउँछ भने केहीलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ।

सामान्यतया एमपक्सको संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, शरीर सुन्निने, ढाड तथा मांसपेशी दुख्नेजस्ता असर देखिने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्सक डा. शेरबहादुर पुन बताउँछन्।

उनका अनुसार, एमपक्स संक्रमण भएर ज्वरो उच्च हुन थालेपछि शरीरका विभिन्न भागमा स-साना फोकाहरुजस्ता बिमिरा आउँछ। मुख, आँखा, यौनाङ्गहरुमा समेत यस्ता बिमिरा आउने भएकाले निकै चिलाउने र पोल्ने हुन्छ।

“तर, संक्रमण भएको १४ देखि २१ दिनमा बिमिरा बिस्तारै आफै निको हुदै जाने देखिएको छ” डा. पुन भन्छन्।

सामान्यतया एमपक्सको लक्षणको रोकथामको उपचार गरिन्छ। तर, रोग प्रतिरक्षा कमजोर भएका बिरामी, बालबालिका र एचआइभी एड्स संक्रमितहरुलाई संक्रमण भयो भने जटिल किसिमका लक्षण देखिएर मृत्यु समेत गराउन सक्ने डा. पुनको भनाइ छ।

कसरी सर्छ, जोखिममा को हुन्छन् ?

एमपक्स संक्रमण भएको मानिसको नजिक जाँदा जो कोहीलाई एमपक्स सर्ने जोखिम हुन्छ। जस्तो कि, छालादेखि छाला (छुवाइ वा यौनसम्पर्क), मुखदेखि मुख (चुम्बन गर्दा) र संक्रमित मानिसको आमन सामने हुदाँ पनि एमपक्स सर्ने जोखिम हुन्छ।

एमपक्स संक्रमण भएको मानिसको श्वाशप्रस्वास, उसले प्रयोग गरेको तौलिया, ओछ्यान र अन्य सामानहरुबाट पनि एमपक्स सर्ने जोखिम हुन्छ।

सन् २०२२‍- २०२३ मा गे, बाइसेक्सुअलहरुमा एमपक्सको संक्रमण बढी भेटिएको थियो । डब्लुएचओका अनुसार, एमपक्सका अधिकांश सङ्क्रमणहरू यौन क्रियाकलापमा सक्रिय मानिसहरूमा र समलिङ्गीसँग यौन संसर्गमा संलग्न पुरुषहरूमा देखिएको छ। यौनकर्मी र तिनका ग्राहकहरु यसको जोखिममा छन्। त्यस्तै, एकजना भन्दा धेरै यौन जोडी भएका मानिसमा समेत यसको जोखिम बढी छ।

नेपालमा जोखिम कति छ ?

२०८० असार १ गते नेपालमा पहिलोपटक एमपक्स संक्रमण पुष्टि भएको थियो। ६० वर्षीया विदेशी महिलामा संक्रमण पुष्टि भएयता नेपालमा थप संक्रमण देखिएको रेकर्ड छैन।

तर, चिकित्सकहरु भने विभिन्न देशहरुबाट यात्रा गरेका भित्रिने पर्यटकका कारण नेपालमा पनि एमपक्सको जोखिम रहेको बताउँछन्।

संक्रामक तथा आइसियू रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी अफ्रिका तथा मिडल इस्टबाट यात्रा गरेर आउने मानिसले एमपक्सको भाइरस लिएर आउनसक्ने भएकाले सचेत हुनुपर्ने बताउँछन्।

उनका अनुसार यो पटक पहिलेभन्दा थप संक्रामक भेरियन्टको (क्लेड १) एमपक्सको संक्रमण फैलिएकाले त्यसको संक्रमण भएमा छिटो सार्ने भएकाले पनि थप सचेत हुनुपर्छ।

“अफ्रिकाबाट बिस्तारै अरु देशमा पनि यसको संक्रमण भेटिन थालेकाले नेपालमा यसको संक्रमण नहोला भन्न सकिन्न, त्यसैले सतर्क रहनुपर्छ” डा. अधिकारीले भने।

नेपालमा एमपक्सको संक्रमण पुष्टि नभएपनि एमपक्सको शंका भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा जान नहुने उनले बताए ।

उपचार के छ ?

मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन। तर, लक्षणको आधारमा सङ्क्रमित बिरामीको उपचार गर्न सकिन्छ। त्यस्तै, जनस्वास्थ्यका मापदण्ड पालना गरेर यसको रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिने डा. अधिकारी बताउँछन्।

यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति डब्लुएचओले विफरविरुद्धको खोप जिनियोस (JYNNEOS) लाई आपतकालीन प्रयोगको लागि सिफारिस गरेको छ।

यसबाहेक, कोही व्यक्तिलाई एमपक्सको संक्रमण पुष्टि भयो भने संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्नुपर्ने डा. अधिकारी बताउँछन्।

त्यस्तै, संक्रमित व्यक्तिको हेरचाह गर्ने व्याक्तिले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ।

“यसको संक्रमण भएमा त्यसले के कस्ता जटिलता ल्याउँछ त्यसको रोकथाम उपचार गर्ने हो, त्यसबाहेक अन्य उपचार छैन” डा. अधिकारीले भने।

सरकारको तयारी के छ ?

यसअघि एमपक्सको संक्रमण भेटिइसकेकाले फेरि त्यसको संक्रमण हुन नदिन स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पूर्वतयारी थालिसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन्।

उनका अनुसार, एमपक्सको शंकास्पद लक्षण देखिएमा परीक्षण तथा उपचार गर्नको लागि देशभर १४ वटा अस्पतालमा फोकल पर्सन तोकिएको छ। ती अस्पतालमा उपचारको लागि स्वास्थ्य सामाग्री र जनशक्ति तयार राख्नको लागि पनि निर्देशन दिइएको उनको भनाइ छ।

“भारतीय सीमा नाका र हवाई नाकामा पनि हेल्थ डेस्क राखेर शंकास्पद व्यक्तिको स्क्रिनिङ गर्न सुरु गरेका छौ” डा. बुढाथोकी भन्छन्, “ शंकास्पद व्यक्तिलाई पहिचान गरेर परीक्षण गराउनको लागि हामीले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएका छौँ।”

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add