तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

के हो नेतृ रामकुमारी झाँक्री रोएको भाइरल भिडियोको तथ्य ?


के हो नेतृ रामकुमारी झाँक्री रोएको भाइरल भिडियोको तथ्य ?

नेकपा एकीकृत समाजवादी (एस) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री एक अन्तर्वार्ताका क्रममा रोएको दृश्य फेसबुकमा भाइरल भएको छ। नेकपा एसको आन्तरिक चुनावमा हारेको विषयलाई लिएर सो भिडियो भाइरल भएको हो। भिडियोमा अन्तर्वार्ताका क्रममा झाँक्री रुँदै गरेको र उनका अगाडि विभिन्न मिडियाको माइक राखिएको देख्न सकिन्छ।

हाम्रो तथ्यजाँचमा उक्त भिडियो मिथ्या सूचना भएको पाइएको छ। बेग्लै सन्दर्भका दुई भिडियो सम्पादन गरेर एकै ठाउँमा राखी सामाजिक सञ्जालमा राखिएको हो।

के हो दावी?

‘एमाले खबर’ नामको ३२ हजार फलोअर रहेको फेसबुक पेजमा गत भदौ १२ गते एक भिडियो अपलोड गरिएको हो। भिडियोमा नेतृ झाँक्री रोइरहेको देख्न सकिन्छ भने, उनको अन्तर्वार्ता लिने व्यक्तिले कविता शैलीमा ‘तपाईं अब स्ट्रङ्ग हुनुपर्छ’ भनिरहेको सुन्न सकिन्छ।

यो तथ्यजाँच तयार पार्दासम्म भिडियोमा १५१ वटा लाइक र ३९ पटक सेयर देख्न सकिन्छ।

हेर्नुहोस स्क्रिनरेकर्ड-

के हो तथ्य?

हामीले पूर्वमन्त्री रामकुमारी झाँक्री कुनै अन्तर्वार्ताका क्रममा रोएकी हुन कि हैनन् यकिन गर्न विभिन्न सर्च इन्जिनमा  कि-वर्ड सर्च गरेर हेर्‍यौँ। यस क्रममा २०७९ असार १२ गते मन्त्री पदबाट राजिनामा दिनु अगाडि सहरी विकास मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनी भावुक भएको एक भिडियो भेट्यौं। 

कान्तिपुरले सामाजिक सञ्जाल युट्युबमा लाइभ प्रसारण गरेको भिडियोको २४ औँ मिनेटमा झाँक्री भावुक भएको देख्न सकिन्छ। सो भिडियोमा झाँक्रीले लगाएको लुगा र भाइरल भिडियोमा झाँक्रीको लुगा एकै देखिएको हामीले पायौं।

हेर्नुहोस तुलनात्मक फोटो-

भाइरल भिडियो कम्प्युटरबाट सम्पादन गरिएको पुष्टि भैसकेपछि हामीले भिडियोमा देखिएका अन्तर्वार्ताकार बारे खोज्यौँ।

भिडियोको आवाजमा रहेको “अब तपाईं स्ट्रङ्ग हुनुपर्छ” भन्ने भनाई आम रुपमा सामाजिक सञ्जालमा मिम (हाँसो र व्यङ्गका लागि सामाजिक सञ्जालमा राखिने पोष्ट)  रहेको थाहा पायौं।

भिडियो बारे थप सर्च गर्ने क्रममा हामीले न्यूज फिल्मी नामक युट्युब च्यानलले २०७६ असार ३० गते अपलोड गरेको एक भिडियो भेट्यौं। नायिका शिल्पा पोखरेलसँग लिइएको अन्तरवार्ताको सो भिडियोको २० मिनेट १५ सेकेण्ड पछि भाइरल भिडियोमा भएका अन्तर्वार्ताकार र उनको आवाज सुन्न सकिन्छ। हेर्नुस् भिडियो।

हेर्नुहोस स्क्रिनसट।

अतः नेकपा एस नेतृ झाँक्री अन्तर्वार्तामा रोएको भन्ने भिडियो दुई फरक फरक भिडियो जोडेर सामाजिक सञ्जालमा राखिएको हो।

तथ्यजाँच

दावीः नेकपा एस नेतृ रामकुमारी एक अन्तर्वार्ताका क्रममा रोएको।

दावीकर्ताः एमाले खबर फेसबुक पेज।

तथ्यजाँचः मिथ्या सूचना। २०७६ सालमा न्यूज फिल्मी नामक युट्युव च्यानलले नायिका शिल्पा पोखरेलको अन्तरवार्ता लिएको भिडियो र २०७९ सालमा रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा गर्दाको भिडियो एक ठाउँमा राखेर मिथ्या सूचना फैलिएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add