तथ्यजाँच मिथ्या सूचना वागमती

के नागरिकता बनाउन अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने वेबसाइट सञ्चालनमा आएको हो?


के नागरिकता बनाउन अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने वेबसाइट सञ्चालनमा आएको हो?

राष्ट्रिय परिचय पत्रको लागि अनलाइन रजिष्ट्रेशन गर्नुपरेजस्तै नागरिकता बनाउनको लागि पनि त्यस्तै प्रकिया गर्नुपर्ने दावी गरिएको वेबसाइटको डोमेन फेला परेको छ। ‘सिटिजनसिप प्रि इनरोलमेन्ट सिस्टम’ नाम गरेको उक्त वेबसाइटबारे तथ्य जाँच गर्न हामीलाई अनुरोध आय‍ो। हाम्रो तथ्य जाँचले यो वेबसाइट आधिकारिक नभएको ठहर गरेको छ। 

के छ दावी ?

appnepal.com क्लिक गर्दा खुल्ने र नेपाल सरकारको निशान छाप राखेर बनाइएको उक्त वेबसाइटमा अंग्रेजीमा ‘गभर्मेन्ट अफ नेपाल मिनिष्ट्री अफ होम अफयेर्स डिष्ट्रिक एडमिनिष्ट्रेशन अफिस, सिटिजनसिप प्रि इनरोलमेन्ट सिस्टम’ लेखिएको छ।

त्यस्तै, निशान छापको तल अंग्रेजीमै ‘ इनरोल योर डेमोग्राफिक डेटा अनलाइन एण्ड बुक एन अपोइन्टमेन्ट फर सिटिजनसिप’ लेखिएको छ। अर्थात्, नागरिकता बनाउनको लागि अनलाइनबाट अपोइन्टमेन्ट लिनुपर्ने भनिएको छ।

 र, त्यसको अर्को साइडमा ‘वेलकम टू सिटिजनसिप प्रि इनरोलमेन्ट सिस्टम’ लेखिएको छ ।

हेर्नुस्, स्क्रिनसट

त्यसको तल इनरोलमेन्ट फर टोकनमा क्लिक गर्दा मोबाइल नम्बर माग्ने सिस्टम राखिएको छ।

हेर्नुस्, स्क्रिनसट

 

उक्त ठाउँमा मोबाइल नम्बर हाल्दा वान टाइम पासवर्ड (ओटिपी कोड) माग्छ।

 

यो वेबसाइट राष्ट्रिय परिचय पत्रको फाराम (NID PREE ENROLMENT SYSTEM) को वेबसाइटसँग मिल्दोजुल्दो बनाइएको छ । जसले गर्दा आम मानिस झुक्किने सम्भावना धेरै हुन्छ।

हेर्नुस्, राष्ट्रिय परिचयपत्रको वेबसाइटको स्क्रिनसट

 

यो विषयको तथ्यजाँच गर्न अनुरोध आएकाले हामीले तथ्यजाँच गरेका छौँ।

तथ्य के हो ?

राष्ट्रिय परिचयपत्र बनाउन अनलाइन फाराम भर्नुपरे जस्तो नागरिकता बनाउन पनि अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने नियम आएको हो त ?

यो विषयमा बुझ्न हामीले गृह मन्त्रालयको प्रवक्ता ऋषिराम तिवारीलाई सम्पर्क गर्‍यौँ।

उनले उक्त वेबसाइट खोल्नासाथ त्यो आधिकारिक नभएको र कसैले ठग्ने नियतले डेटा चोरी गर्न ‘स्काम वेबसाइट’ बनाएको बताए।

उनले त्यो वेबसाइट नेपाल सरकारको नभएको पुष्टि गर्ने तीन वटा आधार दिए ।

पहिलो – नेपाल सरकारको वेबसाइटको डोमेन डटकममा (.com) हुँदैन, gov.np मा हुन्छ।

दोस्रो ‌- सरकारले नागरिकता बनाउनको लागि आम नागरिकले अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने प्रकिया खुलाएको छैन।

तेस्रो – सरकारले जिल्ला प्रशासन कार्यलय र स्थानीय तहलाई नागरिकता बनाउनु अघि प्रि रजिष्ट्रेशन गर्नको लागि ‘इन्टरनल एक्सेस’ दिएर ‘सफ्टवेयर’ बनाएको छ। तर, उक्त सफ्टवेयरमा त्यहाँका कर्मचारीले मात्र ‘डेटा इन्ट्री’ गर्न ‘एक्सेस’ पाउँछन्, खुला रुपमा आम नागरिकले होइन्। डेटा एकीकृत गर्नका लागि बनाइएको उक्त सफ्टवेयर हाल सबै स्थानीय तहमा कार्यन्वयनमा आइसकेको छैन।

प्रवक्ता तिवारीले भने – “ठगी गर्ने नियतले कसैले उक्त वेबसाइट बनाएको हो, त्यसमा आफ्नो व्यक्तिगत विवरण नभर्न अनुरोध गर्छौँ।” 

तथ्यजाँच

दावी : नागरिकता बनाउन अनलाइनमा दर्ता गर्नुपर्ने वेबसाइट छ।

दावीकर्ता : एप नेपाल नामक डोमेन।

तथ्य जाँच : मिथ्या सूचना। नेपाल सरकारले नागरिकत्ता बनाउनु अघि आम नागरिकले अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने नियम ल्याएको छैन। गृह मन्त्रालयको प्रवक्ता ऋषिराम तिवारीको अनुसार एपनेपाल नाम गरेको डोमेन नेपाल सरकारको आधिकारिक नभएर स्क्याम वेबसाइट हो। नेपाल सरकारको वेबसाइटको डोमेन नेममा gov.np हुन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add