मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

के हेर्ने कथा’मा विष्णु माझीको कथा प्रसारण हुन लागेको हो ?


के हेर्ने कथा’मा विष्णु माझीको कथा प्रसारण हुन लागेको हो ?

  • निराजन घिमिरे, रिया बस्नेत

युट्युब च्यानल ‘हेर्ने कथा’मा विष्णु माझीको कथा प्रसारण हुन लागको दावी गरिएको एउटा भिडियो अहिले टिकटकमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचमा भने यो  भिडियो मिथ्या सूचना भएको पाइयो। भिडियो विष्णु माझीसँग सम्बन्धित नरहेको र प्रस्तोता विद्या चापागाईँको पुरानो भिडियोलाई सम्पादन गरेर राखिएको हो।

के हो दाबी ?

२६ हजार ४ सय फलोवर रहेको @chandrakc987 नामको टिकटक प्रयोगकर्ताले गत २०२४  सेप्टेम्बर ३ तारिखमा पोस्ट  गरेको भिडियोमा विद्या चापागाईँ ‘हेर्ने कथा’ कै बारेमा केही बोलिरहेकी छन्। उक्त अकाउन्टमा हेर्ने कथाकै लोगोलाई डिस्प्ले पिक्चर बनाइएको छ जसले गर्दा दर्शक यो अकाउन्ट ‘हेर्ने कथा’कै हो कि भनी झुक्किन सक्छन्।

भिडियोको तल पट्टी विष्णु माझीको एकल र सामूहिक फोटो र “हेर्ने कथामा अब विष्णु माझीको कथा पनि हेर्ने होइन त यही सोमबार साँझ ५ बजे हेर्न नभुल्नुहोला” लेखेको देख्न सकिन्छ।

यो तथ्यजाँच तयार पार्दासम्म उक्त भिडियो ३५१ पटक सेयर, २०५ वटा कमेन्ट र ४१ हजार ८ सय जनाले लाईक गरका छन्। यो भिडियो ७ लाख ७८ हजार पटक हेरिएको छ।  हेर्नुहोस् स्क्रिन रेकर्ड 

त्यसैगरी यही युजर आइडीबाट अरु दुई वटा भिडियो पनि यही विषयमा टिकटकमा राखिएको छ, जसको भ्युज १० लाखभन्दा बढी छ। पहिलो भिडियो, दोस्रो भिडियो।

के हो तथ्य ?

के साँच्चिकै ‘हेर्ने कथा’मा विष्णु माझीको कथा प्रसारण हुन लागेको हो?  यकिन गर्न हामीले ‘हेर्ने कथा’को अफिसियल सामाजिक संजालहरु जाँच गर्‍यौँ। भिडियोलाई नियालेर हेर्दा हेर्ने कथाको अफिसियल टिकटक आईडीको जस्तै डिस्प्ले पिक्चर प्रयोग गरेका @chandrakc987 नामक प्रयोगकर्ताले हेर्ने कथाकै आईडीमा रहेको विद्या चापागाईको यो भिडियो मा Duet गरेको पाइयो ।

 

@hernekatha011 aaile hernu vako katha kasto xa #goviral #trending #foryoupage #viral #fypシ #tiktok #fyp #foryou #hernekatha #greenscreen ♬ original sound – Herne Katha

टिकटक प्रयोगकर्ताले Duet गरेको भिडियोमा विष्णु माझीको एकल  र भिडियोको दशौँ सेकेन्ड पश्चात एकजना प्रहरी सहितको सामूहिक तस्विर देख्न सकिन्छ ।

हामीले उक्त फोटो कहिले र कुन सन्दर्भमा खिचिएको बारेमा थप खोजी गर्यौं । थप खोजी गर्दैजाँदा २०७५ सालमा विष्णुको बारेमा प्रकाशित एउटा समाचारमा हामी पुग्यौं। हेर्नुहोस् त्यसको अर्काईभ लिंक।

यहाँ क्लिक गरेर त्यो तस्विर मात्र पनि हेर्न सकिन्छ । यी सबै जाँच गरिसकेपछि हामी यो तस्विर २०७५ सालमा फरक सन्दर्भमा खिचिएको निष्कर्षमा पुग्यौं ।

हामीले विष्णु माझीको कथा हेर्ने कथामा आउन लागेको हो वा हैन थप पुष्टि गर्न हेर्ने कथाको अन्य सामाजिक संजालहरु युट्युब, एक्स फेसबुकका अफिसियल पेजहरु जाँच गर्‍यौँ। त्यस्तै हामीले विद्या चापागाईँकै आधिकारिक फेसबुक आईडीएक्समा पनि सोही कुरा खोजी गर्‍यौँ। त्यहाँ पनि हेर्ने कथाले विष्णु माझीको कथा प्रसारण गर्न लागेको कुनै सामाग्री वा सूचना भेट्न सकिएन।

यो कुरालाई थप पुष्टि गर्नको लागी हामीले हेर्ने कथाकी प्रस्तोता विद्या चापागाईँलाई इमेलमार्फत् सोध्यौँ। उहाँले हेर्ने कथाले विष्णु माझीको विषयमा कुनै स्टोरी गर्न नलागेको र हेर्ने कथाको लोगो र नाम प्रयोग गरी खोलिएका फेक एकाउन्टहरुबाट त्यस्ता गलत हल्ला फैलाइएको जानकारी दिनुभयो ।

हेर्नुस् जवाफ

 

 

तथ्य जाँच

दावी : हेर्ने कथामा विष्णु माझीको कथा प्रसारण हुँदै।

दावीकर्ता :  @chandrakc987 नामको टिकटक प्रयोगकर्ता।

तथ्य जाँच : मिथ्या सूचना। भिडियोमा विद्या चापागाईले बोलेका कुरा फरक सन्दर्भमा बोलेकी हुन्। चापागाइँ आफैले विष्णु माझीको स्टोरी गर्ने योजना नरहेको बताएकी छिन्। भिडियोमा प्रयोग गरिएको सामूहिक तस्विर २०७५ सालमा प्रकाशित एउटा समाचारबाट लिइएको हो। फरक सन्दर्भको फोटो-भिडियोलाई एकै ठाउँ राखेर केही अक्षरहरु थप गरी सम्पादन गरेर भिडियो सामाजिक सञ्जालमा राखिएको हो।

(सिएमआर नेपाल जर्नलिज्म एकेडेमीले आयोजना गरेको ‘फ्याक्ट चेकिङ २०२४’ का सहभागीले प्रशिक्षणका क्रममा तयार पारेको तथ्य जाँच) 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add