मिथ्या सूचना कर्णाली सम्बन्धित प्रदेश

कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने अन्नपूर्ण पोष्टको दाबी गलत


कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने अन्नपूर्ण पोष्टको दाबी गलत

  • यज्ञ खत्री, कुसुम रिमाल

कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने दावी गर्दै अन्नपूर्ण पोष्ट  दैनिक र यसको अनलाइन संस्करणले समाचार प्रकाशित गरेको छ। तर हाम्रो तथ्य जाँचले यो दाबी गलत रहेको देखिएको छ।

के छ दाबी ? 

२०८१ साउन २७ गते अन्नपूर्ण पोष्टको अनलाइन संस्करण र पत्रिकामा ‘कर्णालीमा पहिलो पटक बीबीए पढाइ हुने’ शीर्षकमा समाचार प्रकाशित भएको छ। उक्त समाचारको लिड लाइनमा ‘कर्णाली प्रदेशमै पहिलो पटक ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बीबीए पढाइ हुने’ उल्लेख छ।

समाचारमा ‘क्याम्ब्रिज बिजनेस कलेज सुर्खेतले बीबीएका लागि सुदूर पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतमा बीबीए पढाइको सुरुवात गर्ने भएको’ उल्लेख छ।

हेर्नुहाेस अर्काइभ लिङ्क :

हेर्नुहाेस स्क्रिनसट :

यो समाचार अन्य अनलाइनहरूमा पनि छापिएको छ ।

कर्णालीमा पहिलो पटक सुर्खेतमा निजी क्षेत्रले बीबीए पढाइ सुरु गर्दै : नेपालीरैबार 

कर्णालीमै पहिलो पटक सुर्खेतमा बीबीए पढाइ सुरु  : ई–कर्णाली खबर

तथ्य के हो ? 

यो विषयमा तथ्य जाँच गर्न हामीले सुरुमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखा प्रमुख बलवीर सुनारलाई सम्पर्क गयौँ ।

उनले कर्णाली प्रदेशमै अहिलेसम्म मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)मा मात्रै बीबीए पढाई हुने कलेजका रूपमा शाखाको रेकर्डमा रहेको बताए । ‘अहिलेसम्म हाम्रो रेकर्डमा मुसोम मात्रै छ। अन्य कलेजहरू यो वर्षदेखि खुलेको भन्ने सुन्नमा आएको छ। तर हाम्रो रेकर्डमा अझै आइसकेको छैन।’

हामीले थप बुझ्नका लागि मुसोमका उपप्राध्यापक डिलु ढुंगानालाई सम्पर्क गर्‍यौँ। उनले २०७२ सालदेखि नै मुसोम सञ्चालनमा आएको र सोही वर्ष देखिनै बीबीए पढाई सुरु हुन थालेको बताए।

‘मुसोम स्थापनासंगै बीबीए पढाई हुन थालेको हो । अहिले ८ औँ ब्याचसम्म पास आउट भइसकेको छ,’ उनले भने।

हामीले थप बुझ्नका लागि मुसोमको आधिकारिक वेबसाइटमा गयौँ। उक्त वेबसाइटमा राखिएको सन् २०२० को वार्षिक प्रतिवेदनमा मै ८० जना विद्यार्थी भर्ना भएको सूचना फेला पार्‍यौँ।

हेर्नुहाेस स्क्रिनसट :


२०८१ साउन २७ गते प्रकाशित अन्नपूर्ण पोष्टको उक्त समाचारमा ‘कर्णालीका शैक्षिक अभियन्ताहरूको सक्रियतामा सुर्खेतको वीरेन्द्रनगरमा नयाँ खुलेको क्याम्ब्रिज बिजनेस कलेजमा बीबीए पढाइ थालनी हुने’ भनिएको छ।

उक्त समाचारमा ‘क्याम्ब्रिज बिजनेस कलेजका निर्देशक किरण बस्नेतले कर्णालीमै बीबीए कार्यक्रम सञ्चालन गर्न लामो समयबाट गरिएको प्रयास यो वर्ष सफल भएको बताएको’ उल्लेख छ।

हामीले थप बुझ्नका लागि क्याम्ब्रिज कलेजको आधिकारिक फेसबुक पेज पनि हेर्‍यौँ। यो पेज ४ अगस्त २०२४ मा बनाएको देखिन्छ।

हेर्नुहाेस अर्काइभ लिङ्क

अन्नपूर्ण पोष्टको समाचार र क्याम्ब्रिज कलेजको आधिकारिक फेसबुक पेज हेर्दा उक्त कलेज साउनदेखि सञ्चालनमा आएको देखिन्छ। तर त्यसअघि नै मोसुमले बीबीए पढाई गरिसकेको पुष्टि हुन्छ।

तथ्य जाँच 

दावी :  कर्णालीमा पहिलो पटक यो वर्ष बीबीए पढाइ हुने।

दावीकर्ता  : अन्नपूर्ण पोष्ट डटकम।

तथ्य जाँच : मिथ्या सूचना। अन्नपूर्ण पोष्टको समाचार र क्याम्ब्रिज कलेजको आधिकारिक फेसबुक पेज हेर्दा उक्त कलेज साउनदेखि सञ्चालनमा आएको देखिन्छ। तर त्यसअघि नै २०७२ सालमै मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले बीबीए पढाइ सुरु गरेको देखिन्छ।

(सिएमआर नेपाल जर्नलिज्म एकेडेमीले आयोजना गरेको ‘फ्याक्ट चेकिङ २०२४’ का सहभागीले प्रशिक्षणका क्रममा तयार पारेको तथ्य जाँच) 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add