तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

केएमसी अस्पतालले मृत घोषणा गरेको बिरामीले आर्यघाट पुर्‍याएपछि सास फेरेको हो?


केएमसी अस्पतालले मृत घोषणा गरेको बिरामीले आर्यघाट पुर्‍याएपछि सास फेरेको हो?

सिनामंगलको काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालले मृत घोषणा गरेको व्यक्तिले पशुपति आर्यघाट पुर्‍याएपछि दोहोरो सास फेरेको दावी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले भने यो दावी भ्रामक रहेको ठहर गरेको छ। 

के छ दावी ?

एक लाख ६१ हजार फलोअर रहेको उज्यालो नेटवर्कको फेसबुक पेजमा (उज्यालो रेडियो नेटवर्कको अनलाइन भनेर नझुक्किनुहोला) बुधबार राति (सेप्टेम्बर १८) मा एउटा रिल्स पोस्ट गरिएको छ। उक्त रिल्समा ‘केएमसी अस्पतालले मृत घोषणा गरेको कलमबहादुर थिङ्ले आर्यघाटमा फेरे दोहोरो सास’ क्याप्सन राखिएको छ।

उक्त भिडियोमा एकजना मानिसलाई सुताइरहेको देखिन्छ। ती मानिसको पेट अस्वाभाविक फुलेको र सास फेर्दा तलमाथि भएको जस्तो देखिन्छ। पृष्ठभूमिमा मानिसहरुले केएमसी अस्पताल र चिकित्सकलाई अपशब्द प्रयोग गरेको र अर्को अस्पताल लैजाने सल्लाह गरेको प्रष्ट सुनिन्छ।

हामीले यो तथ्यजाँच गर्दासम्म उक्त भिडियो नौ हजार तीन सय पटक हेरिएको छ भने २३ सेयर, १३७ रियाक्शन र ११ वटा कमेन्ट गरिएको छ।

भिडियोमा अपशब्द प्रयोग गरिएकाले हामीले उक्त भिडियोको स्क्रिनरेकर्ड हालेका छैनौँ।

हेर्नुस्, स्क्रिनसट

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले केएमसी अस्पतालको निर्देशक डा. मीना थापालाई सम्पर्क गर्‍यौँ। भेण्टिलेटरमा हालेर उपचार गरिरहेको बिरामीलाई अस्पतालले डिस्चार्च नदिइकन बिरामी पक्षले आफ्नै राजीखुशीले लगेको डा. थापाले बताइन् जसलाई मेडिकल भाषामामा  ‘लिभ एगेन्स्ट मेडिकल अड्भाइस’ (लामा) भनिन्छ।

डा. थापाका अनुसार, साधारण भाषामा भन्नुपर्दा बिरामी पक्षलाई बिरामीको स्वास्थ्य अवस्थाको बारेमा सम्पूर्ण जानकारी दिएर, बिरामी डिस्चार्च गर्न नमिल्ने अवस्था बताएर (डिस्चार्ज गर्दा ज्यान तलमाथि हुनसक्ने अवस्था) र, डिस्चार्ज गरेपछि बिरामीको ज्यान तलमाथि भएमा अस्पताल, अस्पतालका कुनै पनि कर्मचारी र चिकित्सकका विरुद्ध उजुरी गर्दिन भनेर गराइने सम्झौतालाई ‘लामा’ भनिन्छ।

“हामीले उक्त बिरामीलाई मृत घोषणा गरेका थिएनौँ, मृत घोषणा गरेको भए मृत्यु प्रमाणित गरेको प्रमाणपत्र (डेथ सर्टिफिकेट) दिन्थ्यौँ, अहिले उहाँहरुले त्यो देखाउन सक्नुहुन्थ्यो ” डा. थापाले भनिन्।

हामीले यो विषयमा थप बुझ्न अस्पताल प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहाललाई सम्पर्क गर्‍यौँ।

दाहालका अनुसार, सिनामंगलमा बसोबास गर्दै आएका थिङ्लाई  असोज १ गते बमेटिङको समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो। त्यो दिन थिङ्लाई प्रारम्भिक उपचार गरेर बिरामीका आफन्तले  घर लगेको उनको भनाइ छ।

त्यसको भोलिपल्ट थिङ्लाई सिकिस्त अवस्थामा इमर्जेन्सीमा ल्याइएको दाहालले बताए।

उनका अनुसार, थिङलाई इमर्जेन्सीमा ल्याउँदा बिरामीलाई ‘एक्युट कोरोनरी सिन्ड्रोम इन कार्डियाक अरेस्ट’ भएकाले ‘पल्मो आइसियू’मा राखेर उपचार सुरु गरिएको थियो।

दाहालका अनुसार, हिजो नै दिउँसो सवा चार बजे अस्पतालले बिरामीलाई डिस्चार्ज दिन नमिल्ने बताउँदा बताउँदै बिरामीका आफन्त ‘लामा’ सम्झौता गर्न तयार भएपछि सम्झौता गराएर पठाइएको थियो।

“हामीले (केएमसी अस्पतालले) बिरामीलाई मृत घोषणा गरेका थिएनौँ, उहाँहरुले किन घाट लानुभयो थाहा छैन” उनले भने।

अस्पतालले बिरामी पक्षसँग गरेको लामाको फोटो समेत दाहालले ह्वाट्सएपमा पठाए। उक्त सम्झौतामा बिरामीका सालो पर्ने निकेश तामाङ्गले हस्ताक्षर गरेका छन्।

उक्त फोटो हेर्दा उज्यालो नेटवर्कको फेसबुक पेजले दावी गरेकोजस्तो केएमसी अस्पतालले बिरामीलाई मृतक घोषणा गरेको पुष्टि हुँदैन।

हेर्नुस्, ‘लामा’

हामीले बिरामीका सालो निकेश तामाङ्गलाई पनि सम्पर्क गर्‍यौँ। उनका अनुसार हिजै आर्यघाटमा बिरामी कलमबहादुर थिङको अन्त्येष्टि भइसकेको छ।

तथ्य जाँच

दावी : केएमसी अस्पतालले मृत घोषणा गरेको व्यक्तिले आर्यघाट पुर्‍याएपछि सास फेरे।

दावीकर्ता : उज्यालो नेटवर्क डटकमको फेसबुक पेज।

तथ्यजाँच : भ्रामक सूचना। केएमसी अस्पतालले भेन्टिलेटरमा राखिरहेको बिरामीलाई डिस्चार्ज गर्दा ज्यान जोखिममा पर्ने चेतावनी गर्दागर्दै बिरामीको परिवारले डिस्चार्ज मागेको अस्पतालले उपलब्ध गराएको ‘लामा सम्झौता’ पढ्दा पुष्टि हुन्छ। अर्थात्, उक्त सम्झौताबाट कलमबहादुर थिङ्गलाई मृत घोषणा गरेको पुष्टि हुँदैन। त्यसैले उज्यालो नेटवर्कको फेसबुक पेजले गरेको दावी भ्रामक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add