तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

कलाकार सुनील पोखरेलले हलिउड ‘वाक अफ फेम’ सम्मान पाएका होइनन्


कलाकार सुनील पोखरेलले हलिउड ‘वाक अफ फेम’ सम्मान पाएका होइनन्

नेपाली कलाकार सुनील पोखरेलले हलिउड वाक अफ फेम अवार्ड पाएको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन्। भदौ २३ गते सम्प्रेषण गरिएका समाचारहरुमा नेपालका कलाकारले पहिलोपटक हलिउड वाक अफ दि फेम सम्मान पाएको दावी गरिएको छ।

तर हाम्रो तथ्यजाँचले यी समाचार मिथ्या भएको देखिएको छ। 

के हो दावी?

गत भदौ २३ गते बाह्रखरी अनलाइनले सुनील पोखरेलले हलिउड वाक अफ फेम सम्मान पाएको दावीसहित समाचार प्रकाशित गरेको हो। समाचारमा कलाकार सुनीललाई प्रसिद्ध हलिउड वाक अफ दी फेम सम्मान पाइएको दावीसहित सुनील पोखरेलले आफूलाई सो कुराको विश्वास नलागेको बताएको समेत उल्लेख गरिएको छ।

हेर्नुहोस् अर्काइभ लिङ्क

यसैगरी, त्यही दिन अनलाइनखबरले पनि कलाकार पोखरेलले सो सम्मान पाएको दावी सहित समाचार प्रकाशित गरेको हो। समाचारमा पोखरेल पत्नी निशा शर्माले जानकारी दिएको उल्लेख गरिएको हो। 

हेर्नुहोस अर्काइभ लिङ्क

सरलपत्रिका अनलाइनले पनि कलाकार पोखरेल हलिउड वाक अफ फेममा समेटिएको दावी सहित समाचार प्रकाशित गर्दै, निशा शर्माले उक्त अवार्डबारे जानकारी दिएको उल्लेख गरिएको हो। समाचारमा पोखरेलले वाक अफ फेममा समावेश भएको कुरा विश्वास नलागेको बताएको समेत उल्लेख गरिएको हो।

हेर्नुहोस अर्काइभ लिङ्क

केन्द्रबिन्दु अनलाइनले पनि सोही समाचार प्रकाशित गरेको हो। कलाकार शर्मालाई नै कोट गरिएको समाचारमा पोखरेल हलिउड वाक अफ फेमबाट सम्मानित भएको व्यहोरा उल्लेख गरिएको हो। सो समाचारमा पोखरेल उक्त सम्मान पाउने पहिलो व्यक्ति भएको समेत उल्लेख गरिएको हो।

हेर्नुहोस अर्काइभ लिङ्क

के हो तथ्य?

सबैजसो समाचारमा पोखरेल पत्नी निशा शर्माले जानकारी दिएको उल्लेख गरिएको पाएपछि हामीले शर्माको फेसबुक पोस्ट चेक गर्‍यौँ। पोस्टमा शर्माले अमेरिका बस्ने गोकुल पौड्यालले हलिउड वाक अफ फेममा भएको नाम  पठाएको उल्लेख गरेकी हुन्। 

हेर्नुहोस शर्माको फेसबुक पोष्टको अर्काइभ लिङ्क

निशा शर्माको फेसबुक स्टाटसबाट तथ्य पत्ता नलाग्ने भएपछि हामीले हलिउड वाक अफ फेमको आधिकारिक वेबसाइट हेर्‍यौँ। वेबसाइटमा “वाक अफ फेम”मा नाम अंकित भएका कलाकारहरुको नाम उल्लेख हुन्छ।  हामीले सो वेबसाइटमा सुनील पोखरेलको नाम हेर्न अंग्रेजी अक्षर “S” बाट नाम आउने कलाकारहरुको नाम हेर्‍यौँ। “S” अक्षरको नामहरुमा सुनील पोखरेलको नाम नभेटेपछि हामीले नाम सर्च गरेर समेत हेर्यौं,  तर नाम भने भेटिएन।

हेर्नुहोस वेबसाइटको स्क्रिनसट

 

हामीले सन् २०२५ मा हलिउड वाक अफ फेममा नाम अंकित हुने मानिसहरुको नाम समावेश भएको एक सूचना समेत फेला पार्‍यौँ। तर सो सूचनामा समेत कलाकार पोखरेलको नाम भने भेटिएन। 

यहाँ हेर्नुहोस्  सूचना

हामीले थप खोज्ने क्रममा हलिउड वाक अफ फेममध्येको एक स्टारमा आफ्ने नाम लेखेर पनि फोटो खिचाउन सकिने व्यवस्था रहेको पायौं। गेट योर गाइड नामक पर्यटकले गाइड पाउन सक्ने वेबसाइटमा हलिउड वाक अफ फेमको एक स्टारमा आफ्नो नाम राखेर फोटो खिचाउन सकिने व्यवस्था गरिएको पायौँ। २९ डलर ९९ सेन्टमा उक्त सेवा बुक गर्न सकिने वेबसाइटमा उल्लेख छ।

हेर्नुहोस स्क्रिनसट

 

यसैगरी एक टिकटकर (टिकटकमा भिडियो बनाउने व्यक्ति)ले समेत आफ्नो नाम हलिउड वाक अफ फेमको स्टारमा प्रिन्ट गरेर राखेको एक भिडियो हामीले पायौं। भिडियोमा टिकटकरले आफ्नो नाम र लोगो समेत प्रिन्ट गरेर राखेका हुन्। 

यहाँ हेर्नुहोस युट्युव भिडियो

अतः नेपाली कलाकार सुनील पोखरेलको नाम  हलिउड वाक अफ फेममा समावेस भएको भन्ने दावी मिथ्या सूचना हो।

तथ्यजाँच

दावीः नेपाली कलाकार सुनील पोखरेलको नाम हलिउड वाक अफ फेमको स्टारमा अंकित भएको हो।

दावीकर्ताः विभिन्न समाचार संस्थाहरु।

तथ्यजाँचः मिथ्या सूचना। नेपाली कलाकार सुनील पोखरेलको नाम हलिउड वाक अफ फेमको स्टारमा अंकित भएको होइन। हलिउड वाक अफ फेमको वेबसाइटमा सम्मान पाउने कलाकारहरुको नाम हेर्दा सुनील पोखरेलको नाम उल्लेख भएको नदेखिएकोले सो दावी मिथ्या रहेको पाइयो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add