- सागर बुढाथोकी
- भदौ १८, २०८१
नेपालको भन्दै भाइरल भएको पुलबाट नदी पार गरिरहेको ट्रयाक्टरको भिडियोको तथ्य के हो ?
काठको पुलबाट जोखिमपूर्ण तरिकाले नदी पार गरिरहेको ट्रयाक्टरको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। काठ बोकेर काठकै पुलबाट नदी पार गरिरहेको ट्रयाक्टरलाई डोल्पा र हुम्लाको भनेर दावी गरिएको छ। तर, हाम्रो तथ्य जाँचमा सो दावी गलत रहेको र भिडियो पाकिस्तानको रहेको भेटिएको छ।
के छ दावी ?
‘ब्लाक ह्यान्सी’ नामक युट्युब च्यानलमा ‘दु:ख छ यार डोल्पा र हुम्लामा’ क्याप्सन राखेर काठ बोकेको ट्रयाक्टर काठको पुलबाट नै जोखिमपूर्ण ढंगले नदी पार गरेको ‘सर्ट्स भिडियो’ राखिएको छ। उक्त भिडियोको पृष्ठभूमिमा ‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा.. हुम्ला कहिले मोटर आउला… बस्याको छु रहरैमा…’ भन्ने गीत बजाइएको छ।
यो तथ्यजाँच गर्दासम्म उक्त भिडियो १२ लाख पटक हेरिएको छ भने ४२ हजारले रियाक्शन र तीन सय ७६ वटा प्रतिक्रया छन्।
हेर्नुस्, स्क्रिनरेकर्ड-
सोही भिडियो डोल्पा र हुम्लाको भन्दै सोही क्याप्सन राखेर अपलोड गरिएका अन्य भिडियोहरु पनि हामीले सामाजिक सञ्जाल (युट्युब, फेसबुक) मा फेला पार्यौँ।
तथ्य के हो ?
हामीले भिडियोको कमेन्टमा केही व्यक्तिहरुले उक्त भिडियो नेपालको नभएर पाकिस्तानको गिलगिट बालटिस्तानको रहेको प्रतिक्रिया लेखेको पायौँ।
स्क्रिनसट
त्यसपछि, यो विषयको तथ्यजाँच गर्नका लागि हामीले सोही सम्बन्धी कीवर्डहरु ‘गिलगिट बालटिस्तान वुडन ब्रिज , मोस्ट डेञ्जरस वुडन ब्रिज इन गिलगिट बालटिस्तान, गिलगिट बालटिस्तान ट्रयाक्टर भाइरल भिडियो’ राखेर युट्युबमा खोज्यौँ।
यस क्रममा हामीले डोल्पा र हुम्ला दावी गरेको भिडियो नै पाकिस्तानको गिलगिट बालटिस्तानको रहेको भनेर हालिएका धेरै सर्टस् र रिलहरु फेला पार्यौँ।
एक महिनाअघि वसिद अलि वर्ल्ड नामक युट्युबमा ‘हार्ड वर्किङ पिपुल अफ गिलगिट बालटिस्तान, हाउ सस्पेन्सन ब्रिज इज वर्किङ, हेभी ट्रयाक्टर क्याप्सन राखेर सोही भिडियो अपलोड गरिएको छ।
नेपालको भन्दै भाइरल भएको भिडियोका दृश्यहरु यो भिडियोमा हुबहु देखिन्छन्। तर भाइरल भिडियोमा केही दृश्यहरु सम्पादन गरिएको छ। जसले ओरिजिनल भिडियो यही पाकिस्तानको भएको पुष्टि हुन्छ।
त्यस्तै, नेचुरल ब्युटी नामक युट्युब च्यानलमा पनि ‘हाउ ट्रयाक्टर इज ड्राइभ इन गिलगिट बालटिस्तान’ क्याप्सन राखेर सोही भिडियो अपलोड गरिएको छ। लिंक
हामीले युट्युबमा उक्त काठको पुलबारे थप सर्च गर्दा डोल्पा र हुम्ला दावी गरेको पुल गिलगिट बालटिस्तानको रहेको रावलपिण्डी रोड राइडर्स नामक युट्युब च्यानलले तीन वर्ष अघि हालेको भिडियोबाट फैला पार्यौँ । फरक एंगलबाट खिचेको भिडियो भएता पनि उक्त भिडियोमा भएको पुल र भाइरल भएको भिडियोमा देखिने पुलसँग मिल्न जान्छ।
स्क्रिनसट
त्यस्तै, भिडियोमा देखिएको चालकको हुलिया र पोशाक पनि पाकिस्तानहरुले लगाइरहने कुर्ता र पाइजामासँग मिल्न जान्छ।
त्यसैले, डोल्पा र हुम्लाको भनेर दावी गरिएको भिडियो नेपालको नभएर पाकिस्तानको गिलगिट बालटिस्तानको हो।
तथ्यजाँच
दावी : काठको पुलमा जोखिमपूर्ण तरिकाले पार गरिरहेको ट्रयाक्टरको भिडियो नेपालको ।
दावीकर्ता : ब्लायाक ह्यान्सी नामक युट्युब च्यानल लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यजाँच : मिथ्या सूचना । डोल्पा र हुम्लाको दावी गरिएको जोखिमपूर्ण काठको पुल पार गरिरहेको ट्रयाक्टरको भिडियो पाकिस्तानको गिलगिट बालटिस्तानको हो। किनकि. तथ्यजाँचको क्रममा सो भिडियोमा देखाएजस्तै पुल पाकिस्तानको गिलगिट बालटिस्तानको रहेको धेरै भिडियोहरु फेला पार्यौँ भने डोल्पा र हुम्लामा त्यस्ता पुल र ट्रयाक्टर रहेको आधिकारिक भिडियोहरु फेला परेन। त्यसैले ब्लाक ह्यान्सी लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेको दावी गलत छ।