तथ्यजाँच मधेश मिथ्या सूचना सम्बन्धित प्रदेश

फेसबुकमा अफवाह: कार्यालय सहयोगीले अपरेसन गरेको भन्दै पोस्ट भाइरल, तर तथ्य के हो?


फेसबुकमा अफवाह: कार्यालय सहयोगीले अपरेसन गरेको भन्दै पोस्ट भाइरल, तर तथ्य के हो?

प्रादेशिक अस्पताल गौरमा कार्यालय सहयोगीले बिरामीको अपरेसन गरेको दाबी गर्दै भाइरल भएको पोस्टले सामाजिक सञ्जालमा चर्चा पाएको छ। तर, हाम्रो तथ्यजाँचमा यो दावी मिथ्या रहेको देखिएको छ।

के छ दावी ?

करिब ५० हजार सदस्य भएको कलैया बारा नेपाल नाामको फेसबुक ग्रुपमा मुकेशचन्द्र कुशवाहा नाम गरेका एक व्यक्तिले अपरेसन थियटरमा गाउन लगाएर बिरामीको अपरेसन गरिरहेको जस्तो देखिने तीन वटा फोटो पोस्ट गर्दै ‘प्रादेशिक अस्पताल गौरमा कार्यालय सहयोगी जमारुल हक (#पिउन ) ले अपरेसन गर्दै गरेको फोटो सार्वजनिक भएको छ’ भन्ने क्याप्सन राखेका छन्।

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २१ कमेन्ट १२ पटक सेयर र २६० वटा रियाक्सन छ। अर्काइभ लिंक

हेर्नुस् स्क्रिनसट

तथ्य के हो ?

के कार्यालय सहयोगीले अपरेसन गरेको हो त ?

यो विषयको तथ्यजाँच गर्न हामीले प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरलाई सम्पर्क गर्‍यौँ। कार्यलय सहयोगी जमारुल हकले अपरेशन थियटरमा अपरेसन गर्ने क्रममा बिरामीको खुट्टाहरु समाइदिने, अपरेसन गर्ने उपकरणहरु निर्मलीकरण गर्ने काम गर्ने बताए।

कुनै एक बिरामीको हड्डीको अपरेसन गर्दा खुट्टा समाएको फोटोलाई कसैले गलत नियतले भाइरल गराएको उनको भनाइ थियो।

“कार्यालय सहयोगीसँग अपरेसन गर्ने सीप, योग्यता र अथोरिटी हुँदैन, उहाँले अपरेसन गर्दा सहयोग गर्नुभएको फोटो कसैले भाइरल गराइदियो,” मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले थपे, “अपरेसन गर्ने अर्थोपेडिक्स सर्जन डा. विक्रान्त मेहता त्यही फोटोमा हुनुहुन्छ, अपरेसन उहाँले नै गर्नुभएको हो।”

बीचमा उभिएका अर्थोपेडिक्स सर्जन डा. विक्रान्त मेहता हुन्। पहेँलो घेरा लगाइएका कार्यालय सहयोगीले अपरेसन गरेको भन्दै सामाजिक सञ्जालमा फोटो भाइरल गरिएको हो।

यो विषयमा थप बुझ्नको लागी हामीले अर्थोपेडिक्स सर्जन डा. विक्रान्त मेहतालाई पनि सम्पर्क गर्‍यौँ।

उनले प्रादेशिक अस्पताल गौरमा आफूमात्र अर्थोपेडिक्स सर्जन रहेको र अर्थोपेडिक्स सम्बन्धी सबै अपरेसन आफूले गर्ने बताए।

कार्यालय सहयोगीले अपरेशनको क्रममा बिरामीको खुट्टा समाउने लगायत अन्य सहयोग गर्ने उनको भनाइ थियो।

“कार्यालय सहयोगीले अपरेसन गर्न सक्दैन र कुनै अस्पतालले दिँदैन भन्ने सामान्य कुरा नबुझेर गलत मनसायले फोटो भाइरल गराइयो,” डा. मेहताले भने।

तथ्यजाँच

दावी :  प्रादेशिक अस्पताल गौरमा कार्यालय सहयोगीले बिरामीको अपरेसन गरे।

दावीकर्ता : कलैया बारा नामक फेसबुक ग्रुप।

तथ्यजाँच : मिथ्या सूचना । प्रादेशिक अस्पताल गौरका सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरका अनुसार उक्त अपरेसन डा. विक्रान्त मेहताले गरेका हुन्। भाइरल भएको फोटोमा पनि डा. मेहता देखिन्छन्। बिरामीको अपरेसन जटिल प्राविधिक विषय हो,  कार्यालय सहयोगीले त्यस्तो गर्न नसक्ने र अस्पतालले पनि त्यस्तो अनुमति दिने देखिन्न।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add