- प्रविण भट्ट
- अशोज १६, २०८१

काठमाडौँको भन्दै भाइरल भिडियो वास्तवमा जापानको
असोज १२ गतेदेखिको अविरल वर्षापछि सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो भाइरल भएको छ जसमा बाढी र पहिरोको विध्वंस देख्न सकिन्छ।
तर हाम्रो तथ्यजाँचमा यो भिडियो नेपालको नभई जापानको भएको पायौँ।
के हो दावी?
गत असोज १३ गते सामाजिक सञ्जाल टिकटकमा श्री ५ सरकार (बिष्ट काजी) नामक प्रयोगकर्ताले “काठमाडौं को हालत बनाऊ अझ भिर पाखामा घर” लेखिएको एउटा भिडियो पोस्ट गरे। भिडियोमा लेदो सहितको पहिरोले एक गाडी समेत बगाउँदै लगेको देख्न सकिन्छ।
यो तथ्यजाँच तयार पार्दासम्म १९ हजार २०० वटा लाइक भएको भिडियो २ हजार ७ सय ८१ पटक शेयर गरिएको छ।
हेर्नुहोस स्क्रिनसट
उक्त भिडियो अन्य सामाजिक सञ्जालमा समेत सोही दावी सहित पोष्ट गरेको यहाँ, यहाँ, र यहाँ हेर्न सकिन्छ,
के हो तथ्य?
हामीले भिडियो नेपालकै हो कि हैन यकिन गर्न भिडियोको स्क्रिनसट लिएर रिभर्स इमेज सर्च गरेर हेर्यौँ। त्यस क्रममा हामीले सीएनएनले टर्किस भाषामा प्रकाशन गरेको भिडिय सहितको रिपोर्ट फेला पार्यौं।
सन् २०२१ जुलाई ३ (२०७८ असार, १९ गते) सीएनएनमा प्रकाशित रिपोर्ट गुगल ट्रान्सलेटको मद्दतले पढ्दा जापानको अटामी शहरमा भारी वर्षाका कारण गएको पहिरो गएको बेलाको भिडियो लेखिएको छ। रिपोर्टसँगै रहेको भिडियोको १०औं सेकेण्डमा देखिने दृश्य टिकटकमा काठमाडौँ भन्दै दावी गरिएको भिडियोसँग मिलेको देखिन्छ।
हेर्नुहोस स्क्रिनसट
हामीले यो भिडियोबारे थप बुझ्ने क्रममा सीबीएस नामक समाचार संस्थाले तयार पारेको एक भिडियो रिपोर्ट फेला पार्यौँ। उक्त भिडियो रिपोर्टको ३१औं सेकेण्डमा देखिने दृश्य टिकटकमा काठमाडौँ भन्दै दावी गरिएको भिडियोसँग मिलेको देखिन्छ।
सन् २०२१ जुलाई ४ मा प्रकाशित उक्त भिडियो रिपोर्टको दृश्य जापानको अटामी शहरको भएको उल्लेख छ।
हेर्नुहोस स्क्रिनसट-
अतः भारी वर्षा पश्चात् काठमाडौँमा गएको पहिरो दावी गरिएको भिडियो नेपालको नभई ३ वर्ष अगाडि जापानको अटामी शहरको हो।
तथ्यजाँच
दावीः भारी वर्षा पश्चात काठमाडौंमा गएको पहिरोको भिडियो।
दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यजाँचः गलत व्याख्या गरिएको भ्रामक सूचना। उक्त भिडियो नेपालको नभई सन् २०२१ जुलाईमा जापानको अटामी शहरमा गएको पहिरोको हो। ३ वर्ष अगाडिको भिडियो गत असोज १२ गतेको भारी वर्षापश्चात् काठमाडौँको दृश्य भन्दै सामाजिक सञ्जालमा राखिएको हो।