- प्रविण भट्ट
- कार्तिक १३, २०८१
माओवादीको जुलुसमा नेपाली कांग्रेसको झण्डा कसरी? भाइरल फोटोको तथ्य यस्तो
नेकपा माओवादी केन्द्रले काठमाडौँमा गत कात्तिक १० गते आयोजना गरेको खबरदारी सभामा नेपाली कांग्रेसको झण्डा समेत देखिएको दावी सहित एक फोटो सामाजिक सञ्जालमा फैलिएको छ। फोटोमा हसिया हथौडा अंकित झण्डासँगै नेपालको राष्ट्रिय झण्डाहरु समेत देखिन्छन भने गोलो घेरा लगाइएको ठाउँमा नेपाली कांग्रेसको झण्डा देख्न सकिन्छ।
तर हाम्रो तथ्यजाँचमा उक्त फोटो भ्रामक भएको पाइएको छ। नेपाली कांग्रेसको झण्डा फोटोमा सम्पादन गरेर राखिएको हो।
के हो दावी?
आफूलाई पूर्व राष्ट्रिय खेलाडीको रुपमा चिनाएका ५५ हजार फलोअर रहेका विकास शाही नामका फेसबुक प्रयोगकर्ताले कात्तिक १० गते एक फोटो पोस्ट गरेका हुन्।
‘यो काम पनि जीबी राईको हुनु पर्छ’ लेखिएको स्टायटससँगै पोस्ट गरिएको फोटोमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी जुलुसमा नेपाली कांग्रेसको झण्डा प्रयोग गरेको देखिएको हो।
यो तथ्यजाँच तयार पार्दा सम्म ५८९ वटा लाइक भएको यो पोस्ट १२ पटक सेयर गरिएको छ।
हेर्नुहोस् स्क्रिनसट
के हो तथ्य?
हामीले यो फोटोको तथ्यजाँच गर्न कात्तिक १० गते आयोजना गरिएको खबरदारी जुलुसका फोटोहरु विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा हेर्यौँ। सामाजिक सञ्जालमा फोटोहरु खोजी हेर्दा दावी गरिएको जस्तै देखिने एक फोटो हामीले फेला पार्यौँ।
चेत बोलाखे नामक फेसबुक प्रयोगकर्ताले राखेको फोटो र नेपाली कांग्रेसको झण्डा प्रयोग भएको भन्ने दावी सहित फैलिएको फोटो हामीले एकै ठाउँमा राखेर हेर्यौँ।
हेर्नुहोस तुलनात्मक फोटोः
एकै ठाउँमा राखेर तुलनात्मक अध्ययन गरेर हेर्दा फोटो क्रप (केही काटेर राखिएको) तथा डिजिटल रुपमा सम्पादन गरेर नेपाली कांग्रेसको झण्डा राखेको देखिन्छ।
अतः नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी जुलुसमा नेपाली कांग्रेसको झण्डा प्रयोग भएको होइन। डिजिटल रुपमा फोटो सम्पादन गरेर सामाजिक सञ्जालमा राखिएको हो।
तथ्यजाँच
दावी : नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी जुलुसमा नेपाली कांग्रेसको झण्डा प्रयोग भएको।
दावीकर्ता : विकास शाही फेसबुक पेज
तथ्यजाँच : भ्रामक सूचना। जुलुसको फोटोमा डिजिटल सम्पादन गरेर नेपाली कांग्रेसको झण्डा जोडिएको हो।