तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

नेपालको भन्दै भाइरल भिडियो वास्तवमा पाकिस्तानको


नेपालको भन्दै भाइरल भिडियो वास्तवमा पाकिस्तानको

सामाजिक सञ्जालमा नेपालको बाढी पहिरो दावी गरिएका फोटो तथा भिडियोहरु भाइरल भइरहेका छन्। यस्तै एउटा भिडियो टिकटकमा भाइरल भएको छ जसलाई ३७ हजार ८ सय पटक हेरिएको छ।

तर, हाम्रो तथ्यजाँचमा भने उक्त भिडियो भ्रामक दावीका साथ फैलाइएको पाइयो। भिडियो नेपालको नभई पाकिस्तानको हो। 

के हो दावी?

टिकटकमा गत असोज १२ गते ह्वाइटपान्डा (@hamalhirdesh) नामको प्रयोगकर्ताले राखेको भिडियोमा घना बस्तीमा नदीको उच्च बहावका कारण बाढी आएको देख्न सकिन्छ। प्रयोगकर्ताले भिडियोमै नेपाल लेखेका छन् भने विवरणमा “नेपालको अवस्था यस्तो भइसक्यो” लेखेका छन्। 

यो तथ्यजाँच तयार पार्दासम्म ५ सय ५३ वटा लाइक रहेको उक्त भिडियो २०३ पटक सेयर भइसकेको छ।

हेर्नुहोस् स्क्रिनरेकर्ड –

के हो तथ्य?

भिडियोको तथ्य पत्ता लगाउन हामीले त्यसमा देखिने दृश्यहरुको सूक्ष्म अध्ययन गर्‍यौँ। भिडियोको अन्तिममा Proud to be Muslim @ptbm_786 Pinterest  लेखिएको थियो, सो शब्दहरु पिन्ट्रेस्ट नामक सामाजिक सञ्जालमा सर्च गरेर हेर्दा @ptbm_786  नामक ह्याण्डल भेटियो। उक्त ह्याण्डलले पोष्ट गरेका भिडियोहरु हेर्दै जाँदा पाकिस्तानको बाढी उल्लेख गरेर राखिएको एक भिडियो फेला पार्‍यौँ।

@ptbm_786 ले पोष्ट गरेको भिडियो र नेपालको बाढी भन्ने दावी गरिएको भिडियो हुबहु मिलेको पाइयो। भिडियो पोष्ट गर्ने व्यक्तिले त्यहीँबाट डाउनलोड गरेर पुनः अपलोड गरेको देखिन्छ।

हेर्नुहोस स्क्रिनसट

यो भिडियोमा पाकिस्तानको बाढी उल्लेख गरिएकाले हामीले थप खोज्यौँ।  भिडियोका केही अंश स्क्रिनसट गर्दै विभिन्न सर्च इन्जिनमा रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ। यस क्रममा बजफिड न्युज नामक समाचार संस्थाले सन् २०२२ अगस्त २७ मा प्रकाशित गरेको एक रिपोर्ट फेला पार्‍यौँ।

उक्त रिपोर्टमा इम्बेड गरेर राखिएका भिडियोहरुमध्ये सिजे वार्लेम्यान नामक ट्विटर (अहिले एक्स भनेर चिनिने) प्रयोगकर्ताले राखेको एक भिडियो र नेपालको भन्दै टिकटकमा भाइरल भएको भिडियो एकै भएको हामीले पायौं।

वार्लेम्यानका अनुसार उक्त भिडियो पाकिस्तानको मलाकन्द डिभिजनको भिडियो हो।

हेर्नुहोस् स्क्रिनसट –

अतः नेपालमा आएको बाढीको भन्दै दाबी गरिएको भिडियो नेपालको नभई पाकिस्तानको हो।

तथ्यजाँच

दावीः नेपालमा आएको बाढी भन्ने दावी सहितको भिडियो।

दावीकर्ताः सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ता।

तथ्यजाँचः भ्रामक सूचना। सामाजिक सञ्जालमा सन् २०२२ मा पनि भाइरल भएको उक्त भिडियो नेपालको नभई पाकिस्तान को हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add