तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

बच्चा जन्माउन बाबुआमा नै नचाहिने गरी ‘एडब्ल्यु’को युग आउन लागेको? भाइरल भिडियो यसकारण गलत


बच्चा जन्माउन बाबुआमा नै नचाहिने गरी ‘एडब्ल्यु’को युग आउन लागेको? भाइरल भिडियो यसकारण गलत

बालबच्चा जन्माउन र हुर्काउन आमा-बाबु नै नचाहिने गरी कृत्रिम गर्भ (artificial womb) अर्थात् एडब्ल्युको युग आउन लागेको दाबी गर्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ। भाइरल भिडियोमा जापान, बुल्गेरिया, र दक्षिण कोरियाले मिलेर ५ बिलियन डलरको लगानीमा कृत्रिम गर्भाधान गराउन सकिने उद्योगको स्थापना गरिएको दाबी गरिएको छ।

तर, हाम्रो तथ्यजाँचले उक्त भिडियो मिथ्या सूचना भएको ठहर गरेको छ। युट्युबमा राखिएको एक काल्पनिक भिडियोमा एआईबाट तयार पारिएको अडियो राखेर फेसबुकमा फैलाइएको हो।

के हो दावी?

फेसबुक प्रयोगकर्ता जीवा लामिछानेले अक्टोबर ३१ मा पोस्ट गरेको भिडियोमा तीन देशको संयुक्त लगानीमा कृत्रिम गर्भाधान गराउन सकिने उद्योगको स्थापना भइसकेको दावी गरिएको छ।

भिडियोमा कृत्रिम गर्भाधान गर्न सक्ने साना-साना गर्भाशयहरू बनाइएको देख्न सकिन्छ। यो उद्योगमा ७५ वटा प्रयोगशालाहरू छन्, प्रत्येकमा ४ सय वटा कृत्रिम गर्भाशय छन्, र प्रति वर्ष ३० हजार शिशु उत्पादन गर्न सकिने दाबी भिडियोमा बोल्नेले अङ्ग्रेजी भाषामा गरिरहेको सुन्न सकिन्छ।

“कुनै पनि मानवीय हस्तक्षेप बिना एआई र नवीकरणीय ऊर्जाको मद्दतले स्वतः यो सञ्चालन हुनसक्छ,” भिडियोमा भनिएको छ।

हेर्नुस् स्क्रिनरेकर्ड- 

नेपाली उद्यमी, साहित्यकार एवम् गैर आवासीय नेपाली सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष लामिछानेले सोही फेसबुक पोस्टको कमेन्टमा “प्राकृतिक रूपमा जन्मिने हामीहरू अन्तिम पुस्ता हुनसक्छौँ” भन्ने चिन्ता समेत व्यक्त गरेका छन्।

यो तथ्यजाँच तयार पार्दा सम्म ४६१ वटा रियाक्सन रहेको उक्त भिडियो १ लाख २१ हजार पटक हेरिएको छ भने ७ सय २५ पटक सेयर गरिएको छ।

के हो तथ्य?

हामीले कृत्रिम गर्भाधान गराउन सकिने सुविधा भएको यस्तो उद्योगबारे थप जानकारीका लागि विश्वसनीय मिडियामा प्रकाशित समाचारहरू छन् कि भनी खोज्यौँ।

तर केही पनि भेटिएन।

भिडियोका दृश्य र आवाज प्राकृतिक नलागेपछि हामीले सो भिडियो Truemedia मा अपलोड गरेर जाँच गर्‍यौँ। त्यसमा भिडियो म्यानिपुलेसन गरिएको पर्याप्त प्रमाण रहेको नतिजा देखियो।

 

त्यस्तै, यसको एआई जेनेरेटेड अडियो डिटेक्टर र भ्वाइस एन्टी स्पूफिङले शतप्रतिशत विश्वासका साथ अडियो एआईमार्फत बनाइएको ठोकुवा गर्‍यो।

हेर्नुहोस् परीक्षणको परिणाम 

यसपछि हामीले अन्य तथ्यजाँच संस्थाले पनि सो भिडियोको तथ्यजाँच गरेको छ कि छैन भनी  फ्याक्ट चेक एक्सप्लोररमा artificial womb कीवर्ड राखी खोज्यौँ।

समाचार एजेन्सी एपी एएफपी  लगायत अन्य विभिन्न संस्थाले पनि यसबारे तथ्य जाँच गरिसकेका रहेछन्। 

भाइरल भएको भिडियोमा देखिएका दृश्यहरु फिल्म निर्माता हसिम अल घाइलीले आफ्नो युट्युब च्यानलमा ९ डिसेम्बर २०२२ (२०७९ मंसिर २३ गते) राखेको भिडियोबाट लिइएको हो।  हेर्नुस् उनले राखेको ओरिजिनल भिडियो-

एपीले तयार पारेको तथ्यजाँचमा भिडियो बनाउने अल घाइलीसित इमेल संवादको विवरण पनि राखिएको छ। घाइलीले एक्टोलाइफ नाम गरिएको यो ठाउँ ‘वास्तविक नभएको र भिडियोको उद्देश्य विज्ञान र प्रजनन प्रविधि कति अघि बढेको छ भन्ने देखाउनु र यसप्रकारको प्रविधिबारे छलफल सुरु गर्नु हो’ भनेका छन्।

यो विषयमा अन्य तथ्यजाँच संस्थाहरुले पनि तथ्यजाँच गरेका छन्, जुन यहाँ, यहाँ, र यहाँ हेर्न सकिन्छ।

यसरी नेपालमा भाइरल भएको यो भिडियो घाइलीले तयार पारेको एनिमेटेड भिडियोमा एआईमार्फत् नयाँ अडियो राखी फैलाइएको स्पष्ट हुन्छ। 

तथ्यजाँचः 

दावी : कृत्रिम गर्भधारण गराउन सकिने सुविधा भएको उद्योग स्थापना भइसकेको।

दावीकर्ता : फेसबुक प्रयोगकर्ता जीवा लामिछाने।

तथ्यजाँच : मिथ्या सूचना। भिडियोमा दाबी गरिएजस्तो जापान, बुल्गेरिया, र दक्षिण कोरिया मिलेर ५ बिलियन डलरको लगानीमा कृत्रिम गर्भाधान गराउन सकिने उद्योग स्थापना भइसकेको छैन। यस्तो प्रविधिबारे बनेको काल्पनिक एनिमेटेड भिडियो फिल्म निर्माता हसिम अल घाइलीले आफ्नो युट्युबमा राखेका थिए। त्यही भिडियोमा एआई जेनेरेटेड काल्पनिक अडियो राखिएको भिडियो अहिले भाइरल भएको हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add