- सागर बुढाथोकी
- कार्तिक २३, २०८१
कमल थापाले ‘बाहुन क्षेत्री मूर्दाबाद’ नारा लगाएका हैनन्, भाइरल भिडियोको तथ्य यस्तो छ
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले ‘बाहुन, क्षेत्री मूर्दाबाद..’ भन्दै नारा लगाइरहेको ‘भिडियो क्लिप’ सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर, हाम्रो तथ्यजाँचले यो भिडियो भ्रामक भएको ठहर गरेको छ। उनको भिडियोमा राजु परियारको गीतको अडियो सम्पादन गरी राखिएको हो।
के छ दावी ?
सेप्टेम्बर १८ (असोज २ गते) २९ हजार फलोअर रहेको सिएम खड्का नामक फेसबुक पेजमा ‘होइन के हो यो..’ क्याप्सन राखेर राप्रपाका अध्यक्ष कमल थापाले नारा लगाइरहेको भिडियो पोस्ट भएको छ।
भिडियोमा मञ्चबाट कमल थापाले हात हल्लाउँदै ‘बाहुन क्षेत्री मुर्दाबाद’ भनिरहेको आवाज आइरहेको छ भने मञ्चको अगाडि पट्टी भाषण सुन्नेहरुले पनि उनीसँगै मूर्दाबाद भनिरहेको सुनिन्छ।
कमल थापासँगै नारा लगाउनेको हातमा राप्रपा नेपालको झण्डा देख्न सकिन्छ।
यो तथ्यजाँच गर्दासम्म यो पोस्टमा ४ हजार कमेन्ट र २६ हजारभन्दा बढी रियाक्सन दिइएको छ भने २२ सय पटक सेयर गरिएको छ। यसले यो पोस्टको भाइरलपना प्रष्ट हुन्छ।
हेर्नुहोस् भिडियोको स्क्रिन रेकर्ड
के हो तथ्य?
कमल थापाले यस्तो नारा लगाएका हुन् कि होइनन् जाँच गर्न हामीले पछिल्लो समय उनी के कस्ता कार्यक्रममा सहभागी भए भन्ने जानकारी खोज्यौँ।
यसका लागि हामीले उनको आधिकारिक फेसबुक प्रोफाइलमा सर्च गर्यौँ। यस क्रममा मार्च १४ मा लाइभ गरिएको ३७ मिनेट लामो एउटा भिडियो भेट्यौँ।
उक्त भिडियोमा कमल थापाले लगाएको पोशाक, मञ्च र कार्यक्रममा उपस्थित मानिसहरुको भीड ‘बाहुन क्षेत्री मुर्दाबाद..’ भनेर नारा लगाइएको भिडियोसँग मिल्न जान्छ। भिडियो लिंक
तर,थापाले सो भिडियोमा भने ‘बाहुन क्षेत्री मुर्दाबाद…’ भनेर नारा लगाएका छैनन्।
भाषणको सुरुवातमा उनले ‘दुई तीनवटा नाराबाट सुरु गर्न चाहन्छु र त्यसमा साथ दिनलाई यहाँहरुलाई हार्दिक अनुरोध गर्दछु’ भनेका छन् । र, उनले ‘हिन्दु राष्ट्र… भनेर भाषण गर्दा कार्यक्रममा उपस्थित मानिसले ‘कायम गर .. कायम गर..’ भन्दै नारा लगाएका छन्। त्यस्तै, ‘जनता आऊ .. भन्दा ‘राजा ल्याउ…’ जस्ता नारा लगाएका छन्।
हेर्नुहोस, स्क्रिनरेकर्ड
हामीले यो भिडियो पूरै हेर्यौँ। तर, कतै पनि उनले भाइरल भिडियोमा जस्तो ‘बाहुन क्षेत्री मूर्दाबाद..’ नारा लगाएका छैनन्।
त्यसो भए ‘बाहुन क्षेत्री मूर्दाबाद’ भनेर नारा लगाइएको आवाज उक्त भिडियोमा कहाँबाट मिसाइयो त ?
यो विषयमा खोज्नको लागी हामीले फेसबुकमा ‘बाहुन, क्षेत्री मूर्दाबाद, ‘कीवर्ड’ राखेर सर्च गर्यौँ।
यस क्रममा उमान सर्बुजा मगर नामक फेसबुक पेजमा अशुद्ध नेपाली भाषामा ‘बाहुन क्षेत्री मूर्दाबाद भन्ने गीत बजारमा निस्किएछ। यो जातीय द्वन्द्व निस्कने गीत किन निकालेको होला’ स्टाटस राखेर एउटा भिडियो पोस्ट गरेको भेट्यौँ।
भिडियोमा भाइरल भएको कमल थापाले नारा लगाएको भिडियोको आवाजसँगै हुबहु मिल्छ।
हेर्नुहोस, स्क्रिनरेकर्ड
हामीले यो विषयमा गुगलमा थप खोज्यौँ। सो क्रममा अनलाइनखबरमा असार १० गते प्रकाशित ‘‘नेपाली हाम्रो जात’बाट हटाइयो राजु परियारको स्वर र विवादित दृश्य’ नामको समाचार भेट्यौँ। समाचारमा लेखिए अनुसार, गीतमा अहिले ‘बाहुन क्षेत्री मुर्दाबाद’ भनिने नारा लगाइएको दृश्यलाई हटाएर ‘जातिवाद मूर्दावाद’ राखिएको नयाँ संस्करण अपलोड भएको छ।
हेर्नुहोस्,स्क्रिनसट
अतः “नेपाली हाम्रो जात” भन्ने गीतको डिलिट गर्नुअघिको विवादित अंशको अडियो र कमल थापाले गरेको भाषणको भिडियोमा जोडेर सम्पादन गरी सामाजिक सञ्जाल फेसबुकमा राखिएको पाइयो।
तथ्यजाँच
दावी : कमल थापाले ‘बाहुन क्षेत्री मूर्दाबाद’को नारा लगाए।
दावीकर्ता : सिएम खड्का (फेसबुक पेज)।
तथ्यजाँच : भ्रामक सूचना। राप्रपा नेपालको अध्यक्ष कमल थापाले यो भिडियोमा बाहुन क्षेत्री मुर्दाबाद भन्ने नारा लगाएका होइनन्। थापाले हिन्दु राष्ट्र र राजतन्त्रको समर्थनमा लगाएको नाराको भिडियोमा ‘नेपाली हाम्रो जात’ नामक गीतमा प्रयोग गरिएको र हाल हटाइसकिएको नारा मिसाइएको हो।