तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री ओलीविरुद्ध जुलुस निस्किएको हो ?


हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री ओलीविरुद्ध जुलुस निस्किएको हो ?

हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो भिडियो भ्रामक रहेको ठहर गरेको छ।

गुल्मी इस्माकोटमा आयोजित सराय नाचको भिडियोमा फरक प्रसङ्गको अडियो मिसाएर भ्रम फैलाइएको पाइएको छ ।

के छ दावी ?

मुलवासी टिभी नामको २३ हजार फलोअर्स रहेको फेसबुक पेजले कार्तिक २५ मा (नोभेम्बर १०) मानिसहरुले हातमा खुकुरी नचाउँदै ‘केपी चोर देश छोड..’को नारा लगाएको दावी गर्दै भिडियो अपलोड गरेको छ। १६ लाख पटक हेरिएको उक्त भिडियोको स्क्रिनमा ‘केपीको दिनगन्ती सुरु खुकुरीबाट’ भन्ने लेखिएको छ।

तर उक्त जुलुस कुन ठाउँमा र कहिले भएको भन्नेबारे केही खुलाइएको छैन्।

स्क्रिन रेकर्ड

हामीले तथ्यजाँच गर्दासम्म यो भिडियोमा ३५ हजार पटक रियाक्शन दिइएको छ भने १५ सय कमेन्ट लेखिएका छन् र ३७ सय पटक सेयर गरिएको छ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले उक्त भिडियोलाई सूक्ष्म ढंगले हेर्‍यौँ। त्यो क्रममा भिडियोमा देखिएका केही मानिसले  ‘घुमौँ इस्माकोट’ लेखिएको टिसर्ट लगाएको देख्यौँ ।

हेरौँ, भिडियोको स्क्रिनसट गरेको फोटो, कालो क्याप र सेतो टिसर्ट लगाएका मानिसको पछाडि घुमौँ इस्माकोट लेखेको प्रष्ट देखिन्छ।

त्यही शब्दलाई (घुमौँ इस्माकोट) युट्युबमा सर्च गर्दा गुल्मीको इस्माकोटमा आयोजित सराय नाचका थुप्रै भिडियोहरु भेट्यौँ। ति भिडियोहरुमा हातमा खुकुरी बोकेर पञ्चेबाजा बजाउँदै नाचगान सहितको जुलुस गरेकोजस्तो दृश्यहरु देख्न सकिन्छ।

सोही क्रममा हामीले युट्युबमा ‘साझा विचार’ नामको च्यानलमा अक्टोबर १५ मा ‘इस्मा मैदान, गुल्मी एकादशी सराय नाच २०८१, इस्मालि छपालिको भिडन्त !’ शीर्षकमा एउटा भिडियो अपलोड गरेको भेट्यौँ । फरक एंगलबाट खिचिएको उक्त भिडियो प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाएको भिडियोको धेरै दृश्यसँग मिल्न जान्छ।

भिडियो खिचिएको भूगोल, त्यहाँ देखिएको घर, घुमौँ इस्माकोट लेखिएको टिसर्ट, माइक्रो बस, घरको बार्दलीबाट नाच हेरेका बालबालिकाको दृश्य दुबै भिडियोमा उस्तै छ। भिडियो हेर्दा यो भिडियो एकै दिन, एउटै समयमा फरक – फरक लोकेशनबाट खिचिएको बुझ्न सकिन्छ।

हेर्नुस्, मुलवासी टिभीले अपलोड गरेको भिडियोमा देखिएको घर

साझा विचार युट्युबमा अपलोड गरिएको भिडियोमा देखिएको घर

हेर्नुस्, मुलवासी टिभीको भिडियोमा देखिएको माइक्रोबस

सोही माइक्रोबस ‘साझा विचार’ युट्युब च्यानलले अपलोड गरेको भिडियोमा पनि देखिएको छ। (हेर्नुस्, रातो गोलाकार घरभित्र)

दुबै भिडियो सुक्ष्म ढंगले हेर्दा घरको बार्दलीबाट दुई जना बालबालिका देख्न सकिन्छ।

हेर्नुस्, मुलवासी टिभीले अपलोड गरेको भिडियोमा देखिएका बालबालिका

ति बालबालिका साझा विचार युट्युब च्यानलले अपलोड गरेको भिडियोमा पनि देखिन्छन्।

हेर्नुस्, रातो घेराभित्र

यी दृश्यहरु तुलना गर्दा मुलवासी टिभीले अपलोड गरेको भिडियो सोही दिनको सराय नाचको रहेको बुझ्न सकिन्छ।

यो भिडियोबारे थप बुझ्नको लागि हामीले नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालसँग कुराकानी गर्‍यौँ। उक्त भिडियो दशैको टिकाको भोलिपल्ट इस्मा मैदानमा सराय नाच आयोजना गर्दाको रहेको उनले बताए।

इस्माकोटकै स्थानीयवासी रहेका अर्यालका अनुसार सराय नाचमा इस्माको एक समूह र थापाको समूह सराय खेल्दै बिच मैदानमा भेट हुने र खुशीयालीको साथ रमाइलो गर्ने चलन छ। सराय नाचमा हातमा खुकुरीहरु बोकेर अघि बढिने उनको भनाइ थियो।

“त्यो दिन त्यहाँ प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी भएको थिएन,” अर्यालले भने।

त्यसो भए प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको अडियो कहाँको हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले गुगलमा ‘केपी चोर… देश छोड…’ कीवर्ड राखेर सर्च गर्‍यौँ। सो क्रममा विभिन्न फेसबुक पेज र अनलाइहरुले गत कात्तिक १४ गते ‘साफ महिला च्याम्पियनसिप २०२४’ अन्तर्गत नेपाल र बंगलादेशको उपाधी भिडन्तमा प्रधानमन्त्री ओली विरुद्ध नारा लगाएको समाचार र भिडियो हालेको भेट्यौँ । हेर्नुस्, योहो खबर डटकमको समाचारको अर्काइभ लिंक

स्क्रिनसट

समाचार अनुसार त्यो दिन फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका थिए। नेपालले बंगलादेशसँग फाइनल हारेपछि समर्थकहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएका थिए। हामीले समाचारमा राखेको भिडियोको अडियो र मुलबासी टिभीले फेसबुकमा राखेको अडियो सुक्ष्म ढंगले सुन्यौँ।

सो क्रममा ति दुबै अडियो एउटै भएको पायौँ। अर्थात् मुलवासी टिभीले रंगशालामा नारा लगाएको अडियो सराय नाचको भिडियोसँग मिक्सिङ गरेको छ। तसर्थ मुलवासी टिभीले गरेको दावी भ्रामक छ।

सुन्नुस् अडियो

 

तथ्यजाँच

दावी : हातमा खुकरी नचाउँदै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध केपी चोर देश छोडको नारा लगाइयो।

दावीकर्ता : मुलवासी टिभी नामक फेसबुक पेज।

तथ्यजाँच : भ्रामक सूचना। तथ्यजाँचको क्रममा मुलवासी टिभीले गुल्मीको इस्माकोटमा आयोजित सराय नाचको भिडियो हालेर अर्कै अडियो (फरक प्रसङ्गको) मिक्सिङ गरेको पाइयो। तसर्थ मुलवासी टिभीले गरेको दावी भ्रामक छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add