तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

साउदी अरबमा इतिहासमै पहिलो पटक हिउँ परेको होइन, भाइरल फोटो दुई वर्ष पुरानो


साउदी अरबमा इतिहासमै पहिलो पटक हिउँ परेको होइन, भाइरल फोटो दुई वर्ष पुरानो

साउदी अरबको मरुभूमिमा इतिहासमै पहिलो पटक हिउँ परेको दावी गर्दै फोटोसहितका फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचमा फोटो र पोस्ट दुवै भ्रामक रहेको देखियो। भाइरल फोटो दुई वर्ष पुरानो (सन् २०२२ को) हो भने साउदी अरबका विभिन्न क्षेत्रमा यसअघि पनि हिउँ परेको थियो। 

के छ दावी ?

६ लाख ५६ हजार फलोअर्स रहेको शिक्षा नामको फेसबुक पेजमा मंगलबार (नोभेम्बर ५) मा ‘इतिहासमै पहिलोपटक साउदी अरबका मरुभूमिहरूमा हिउँ परेको छ’ क्याप्सन राख्दै एउटा फोटो पोस्ट गरिएको छ।

उक्त फोटोमा केही सवारी साधन देखिन्छन् भने जमिनमा हिउँ परेको जस्तो सेतो देख्न सकिन्छ।

अर्काइभ लिंक

यो तथ्य जाँच गर्दासम्म यो पोस्टमा २ हजार २ सय रिक्याक्सन, १ सय ११ कमेन्ट गरिएको छ भने ४५ पटक सेयर गरिएको छ।

सोही दिन सोही पोस्ट र फोटो ‘एनइबी रिजल्ट एण्ड न्यूज’ नामक फेसबुक पोस्टमा समेत पोस्ट गरिएको छ। 

अर्काइभ लिंक 

यो तथ्यजाँच तयार पार्दासम्म उक्त पोस्टमा २३ सय रिक्याक्सन, ११३ कमेन्ट गरिएको छ भने १५ पटक सेयर गरिएको छ।

तथ्य के हो ?

साउदी अरबका मरुभूमिहरुमा इतिहासमै पहिलोपटक हिउँ परेको हो त ?

सबैभन्दा पहिले हामीले नेपालमा भाइरल भएको फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। यस क्रममा २०२२ जनवरी २० मा सीएनएनमा प्रकाशित ‘रेयर स्नो एण्ड हिलस्टोर्म कभर साउदी डिजर्ट’ शीर्षकको समाचार फेला पार्‍यौँ।

 

सीएनएनमा प्रकाशित समाचार अनुसार, शिक्षा र एनइबी रिजल्ट एण्ड न्यूजले राखेको भाइरल फोटो भर्खरैको नभएर दुई वर्ष अघि साउदी फोटोग्राफर ‌ओसामा अल हर्बीले खिचेका हुन्। 

त्यतिबेला साउदी अरेबको बादर (badr) मरुभूमि क्षेत्रमा हिउँ देखिएको थियो।

हामीले ‘स्नोफल इन साउदी अरब, स्नोफल सिन इन साउदी अरब, स्नोफल रेकर्ड इन साउदी अरब’ लगायतका कीवर्डहरु राखेर गुगलमा सर्च गर्‍यौँ। 

यस क्रममा द साउदी प्रेस एजेन्सीले ‘स्नो कभर्स अल लज माउन्टेन्स फर सेकेण्ड टाइम इन फ्रेबुअरी शीर्षकमा  २०२४ फेब्रुअरी १७ मा अल लज क्षेत्रमा दोस्रो पटक हिउँ देखिएको समाचार प्रकाशित गरेको भेट्यौँ । 

त्यसैले भाइरल पोस्टहरुमा दावी गरिए जस्तो साउदी अरबमा पहिलो पटक हिउँ परेको होइन।

अहिले के भएको हो त ?

वातावरणसम्बन्धी विषयमा बढी ध्यान दिने भारतीय मिडिया ‘डाउन टू अर्थ’को अंग्रेजी अनलाइन संस्करणमा ‘साउदी अरबिया गेट्स विन्टर सरप्राइज : अल जौफ रिजन कभर्ड इन स्नो फर फस्ट टाइम’ शीर्षकको समाचार हामीले हेर्‍यौँ।

समाचार अनुसार, साउदी अरबमा इतिहासमा पहिलो पटक हिउँ परेको नभएर त्यहाँको अल जौफ क्षेत्रमा भने इतिहासमा पहिलो पटक हिउँ परेको रेकर्ड भएको हो। साउदी अरबका अन्य क्षेत्रमा यो भन्दा अघि पटक-पटक हिउँ परिसकेको छ।

हेर्नुस्, स्क्रिनसट

त्यस्तै, दि इकोनोमिस्ट टाइम्सले पनि साउदी अरबको अल जौफ क्षेत्रमा इतिहासमा पहिलो पटक हिउँ परेको रेकर्ड भएको लेखेको छ।

हेर्नुस्, स्क्रिनसट।

 

तथ्यजाँच

दावी : साउदी अरबका मरुभूमिमा इतिहासमा पहिलो पटक हिउँ देखिएको।

दावीकर्ता : शिक्षा र एनइबी रिजल्ट एण्ड न्यूज नामका फेसबुक पेज।

तथ्यजाँच : भ्रामक सूचना। साउदी अरबमा इतिहासमै पहिलो पटक हिउँ परेको होइन। यसअघि पनि साउदी अरबका विभिन्न क्षेत्रमा हिउँ परिसकेको छ। अहिले साउदी अरबको अल जौफ क्षेत्रमा इतिहासमा पहिलो पटक हिउँ परेको हो। त्यस्तै, शिक्षा र एनइबी रिजल्ट एण्ड न्यूज फेसबुक पेजले पोस्ट गरेको फोटो पनि अल जौफ क्षेत्रको नभएर बादर क्षेत्रको दुई वर्षअघिको हो। त्यसैले, साउदी अरबका मरुभूमिमा इतिहासमा पहिलो पटक हिउँ परेको दावी भ्रामक हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add