तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

उप-निर्वाचनमा रास्वपा तीन ठाउँमा विजयी भएको भाइरल टिकटक गलत


उप-निर्वाचनमा रास्वपा तीन ठाउँमा विजयी भएको भाइरल टिकटक गलत

स्थानीय तहको उप-निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) तीन ठाउँमा जित हासिल गरेको दावी सहितको पोस्ट सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचमा यो दावी गलत देखियो।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक ठाउँमा मात्र जित हासिल गरेको छ।

के छ दावी ?

Kapil_khadka_1 नामक टिकटक प्रयोगकर्ताले डिसेम्बर २ मा (तथ्यजाँच तयार पार्नु भन्दा आठ घण्टा अगाडि) मतगणना अपडेट : ‘अहिलेसम्म कहाँ को पाटी विजयी भए’  शीर्षक राखेर एउटा पोस्ट गरेको छ।

नेपाल टेलिभिजनमा समाचार प्रसारण हुँदा बज्ने धुन पृष्ठभूमिमा राखेर ‘रास्वपा तीन ठाउँमा विजयी, कांग्रेस ११ ठाउँमा, माओवादी चार ठाउँमा र एमाले पाँच ठाउँमा विजयी भएको’ उल्लेख छ।

हेर्नुस् स्क्रिनसट

यो तथ्यजाँच तयार पार्दासम्म उक्त पोस्टमा ३३५८ रियाक्सन दिइएको छ भने २३६ वटा कमेन्ट छ। त्यस्तै, उक्त पोस्ट ५५ जनाले सेयर गरेका छन्।

तथ्य के हो ?

हामीले उक्त पोस्टमा दावी गरे अनुसार, रास्वपाले तीन ठाउँमा जित हासिल गरेको छ/छैन भनेर खोज्यौँ।

त्यसका लागि हामीले निर्वाचन आयोग र विभिन्न सञ्चार माध्यमले लाइभ गरेका मत परिणाम हेर्‍यौँ। ती मत परिणाम अनुसार, हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको वडा नम्बर १६ मा मात्र जित हात पारेको छ।

इकान्तिपुर डटकममा प्रकाशित समाचार अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको वडाध्यक्ष पदको निर्वाचनमा विजयी भएकी हुन् । हेर्नुस्, अर्काइभ लिंक

यो विषयमा थप बुझ्नको लागि हामीले रातोपाटी डटकममा प्रकाशित ताजा मतपरिणाम हेर्‍यौँ। अहिले भइरहेको स्थानीय तहको उप-निर्वाचन भएका क्षेत्रमा कहाँ, कुन पार्टी र उम्मेदवारले जित हात पारेको छ भनेर विस्तृत रुपमा रातोपाटी डटकमले राखेको छ।

रातोपाटीमा प्रकाशित सोमबार दिउँसो ३ बजेसम्मको मत परिणाम अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ १६ मा मात्र जितेको छ।

यो विषयमा थप बुझ्नका लागि हामीले गोरखापत्र अनलाइनमा सार्वजानिक मतपरिणाम हेर्‍यौँ। गोरखापत्र अनलाइनमा प्रकाशित मतपरिणाम अनुसार, रास्वपाले एक ठाउँमा वडा अध्यक्ष पदमा मात्र विजयी भएको छ।

हेर्नुस्, स्क्रिनसट

अर्थात्, Kapil_khadka_1 नामक टिकटक प्रयोगकर्ताले रास्वपाले तीन ठाउँमा जित हासिल गरेको दावी गर्दै पोस्ट गरेको आठ घण्टापछि पनि रास्वपाले एक ठाउँमा मात्र जित हासिल गरेको छ । त्यसैले Kapil_khadka_1 नामक टिकटक प्रयोगकर्ताले गरेको दावी गलत छ।

तथ्यजाँच

दावी : स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन ठाउँमा जित हासिल गरेको छ।

दावीकर्ता : Kapil_khadka_1 नामक टिकटक प्रयोगकर्ता

तथ्यजाँच : मिथ्या सूचना । हालसम्म सार्वजानिक मतपरिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ १६ वडामा मात्र जित हासिल गरेको छ। त्यसैले Kapil_khadka_1 नामक टिकटक प्रयोगकर्ताले गरेको दावी मिथ्या सूचना हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add