- प्रविण भट्ट
- पुस १३, २०८१
टिकटक संसारभर बन्द हुने? भाइरल भिडियोको दावी यसकारण भ्रामक
छोटो भिडियो सम्प्रेषण गर्न मिल्ने सामाजिक सञ्जाल टिकटक संसारभर बन्द हुने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।
हाम्रो तथ्यजाँचमा भने उक्त भिडियो भ्रामक भएको पाइएको छ।
के हो दावी?
समाचार शैलीका भिडियो सम्प्रेषण गरिरहने ९ लाख १० हजार फलोअर रहेको ‘ग्यालेक्सीखबर टिभी’ नामको फेसबुक पेजले गत डिसेम्बर १५ (मंसिर ३० गते) एउटा भिडियो अपलोड गरेको छ। भिडियोमा दुई प्रभावशाली अमेरिकी सांसदले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट टिकटक हटाउन निर्देशन दिएको एवं गुगल र एप्पल स्टोरबाट टिकटक हटे संसारबाटै बिलाउने दावी गरिएको छ।
यो तथ्यजाँच तयार पार्दासम्म १९ लाख पटक हेरिएको सो भिडियोमा ४५ हजार ४ सय रियाक्सन रहेका छन् भने ७९२ वटा कमेन्ट रहेका छन्। भिडियो ३ सय ६१ पटक सेयर गरिएको छ।
हेर्नुस्, स्क्रिनरेकर्ड
हेर्नुस्, स्क्रिनसट
के हो तथ्य?
यो विषयमा तथ्यजाँच गर्न हामीले एप स्टोरबाट सामाजिक सञ्जाल टिकटक हटाउन अमेरिकी सांसदले दिएको निर्देशन बारे अंग्रेजीमा गुगल सर्च गर्यौँ।
गुगल सर्च गरेर हेर्दा सीएनएनमा गत डिसेम्बर १३ (मंसिर २८ गते )मा प्रकाशित एक समाचार फेला पर्यो। यसमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाको चीन सम्बन्धी समितिका दुई जना सांसदले गुगलको मातृ कम्पनी अल्फाबेट र एप्पललाई पत्राचार गरेको उल्लेख छ।
सो पत्रमा संयुक्त राज्य अमेरिकाभित्र चल्ने एप स्टोरबाट जनवरी १९, २०२५ सम्म टिकटक हटाउन तयार रहन भनिएको हो।
हेर्नुस् समाचारको अर्काईभ लिङ्क
हेर्नुस् स्क्रिनसट-
Fox59.com ले गत डिसेम्बर १३ (मंसिर २८ गते)मा प्रकाशित गरेको समाचारमा पनि अमेरिकी सांसदले एप्पल र गुगललाई टिकटकका सम्बन्धमा पत्राचार गरेको उल्लेख गरेको छ।
हेर्नुस्, समचारको अर्काइभ लिङ्क
हेर्नुस् स्क्रिनसट
टिकटकको मातृ कम्पनीका रुपमा चाइनिज कम्पनी बाइट-डान्स हिस्सेदार रहेको छ। सोही बाइट-डान्स कम्पनीले टिकटक बेच्नुपर्ने वा संयुक्त राज्य अमेरिकामा सो एप ब्यान हुने गरी अमेरिकी सरकारले कानून पारित गरेको समाचारमा उल्लेख गरिएको छ।
संयुक्त राज्य अमेरिकास्थित एक पुनरावेदन अदालतमा टिकटकले दायर गरेको मुद्दामा सो कानून मान्य हुने भन्ने फैसला भएपछि सांसदले पत्राचार गरेका हुन्।
अमेरिकी सांसदको पत्रमा टिकटक एपको भौगोलिक प्रतिबन्धबारे कुरा गरिएको समाचारबाट स्पष्ट हुन्छ।
कानून अनुसार जनवरी १९, २०२५ सम्म बाइट-डान्सले टिकटक बेचिसक्नुपर्ने भएकाले जनवरी १९ मा टिकटक एप स्टोरबाट हटाउन तयार रहन भनिएको बुझिन्छ।
यसर्थ, अमेरिकी सांसदले गुगल र एप्पललाई टिकटक अमेरिकी एप स्टोरबाट हटाउन तयार रहन पत्राचार गरेका हुन्। तर यसरी टिकटक अमेरिकी एप स्टोरबाट हट्दैमा संसारभरबाट बिलाउने होइन, अरु देशको भौगोलिक क्षेत्रभित्र भने एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
तथ्यजाँच
दावीः दुई प्रभावशाली अमेरिकी सांसदले गुगल र एप्पललाई उनिहरुको एक स्टोरबाट टिकटक हटाउन निर्देशन दिएको र गुगल र एप्पल स्टोरबाट टिकटक हटे संसारबाटै टिकटक बिलाउने छ।
दावीकर्ताः ग्यालेक्सी खबर टिभी फेसबुक पेज।
तथ्यजाँचः भ्रामक सूचना। अमेरिकी सांसदहरुले गुगलको मातृ कम्पनी अल्फाबेट र एप्पललाई पत्राचार गर्दै जनवरी १९ मा संयुक्त राज्य अमेरिका भित्र चल्ने एप स्टोरबाट टिकटक हटाउन तयार रहन भनेका हुन, हटाउन निर्देशन दिएका होइनन्। अमेरिकी एप स्टोरबाट हट्दैमा टिकट संसारभरबाट बिलाउँदैन, अरु देशको भौगोलिक क्षेत्रभित्र भने एप स्टोरबाट र अन्य माध्यमबाट डाउनलोड गर्न सकिन्छ।