तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

के रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड रुपैयाँ सहयोग गरेका हुन् ?


के रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड रुपैयाँ सहयोग गरेका हुन् ?

फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले सन् २०१५ मा नेपालको भूकम्पपीडितलाई ५० करोड नेपाली रुपैयाँ सहयोग गरेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको पुष्टि भएको छ। रोनाल्डोले नेपालको भूकम्पपीडितलाई सहयोगको आह्वान गरेको सत्य भए पनि आफैले ५० करोड रुपैयाँ सहयोग गरेका भने होइनन्।

के छ दावी ?

एक लाख २० हजार फलोअर्स रहेको नेपाली खेलकुद समर्थक नामक फेसबुक पेजमा जनवरी १ मा ‘खेलाडीको इतिहासमा सबैभन्दा बढी दान दिने फूटबलर cristiano ronaldo 💗’ क्याप्सन राखेर एउटा भिडियो पोस्ट गरिएको छ।

भिडियोमा रोनाल्डोका केही फोटो/भिडियो क्लिप र भूकम्पका जस्ता देखिने तस्विर राखेर एक मानिस बोलिरहेका छन्, ‘सन् २०१५ मा नेपालमा गएको भूकम्पमा पनि नेपाली ५० करोड रुपैयाँ उनले सहयोग गरेका थिए, खेलाडीको इतिहासमा उनी सबैभन्दा बढी दान दिने फुटबलरको रुपमा चिनिन्छन्।’

हेर्नुस्, स्क्रिनरेकर्ड

 

हामीले तथ्यजाँच गर्दासम्म उक्त भिडियोलाई ९६ हजार भन्दा बढी रियाक्सन,६६१ कमेन्ट र ९८४ पटक सेयर गरिएको छ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले गुगलमा ‘Ronaldo, help, Nepal, earthquake, victims’ की वर्ड राखेर सर्च गर्‍यौँ।

त्यो क्रममा अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्समा सन् २०१५ मे १४ मा ‘Footballer Ronaldo campaigns for Nepal but $8 million donation is false – charity शीर्षकमा प्रकाशित रिपोर्ट फेला पार्‍यौँ।

रिपोर्ट अनुसार, फुटबलर रोनाल्डोले नेपालको भूकम्प पीडितलाई ८ मिलियन डलर (५ मिलियन युरो) सहयोग गरे भनेर आएका समाचारहरु झुटा हुन्।

रोनाल्डोले नेपाललाई कुनै आर्थिक सहयोग नगरेको तर भुकम्प पीडितलाई सहयोग गर्न अपिल गरेको समाचारमा उल्लेख छ।

हेर्नुस् स्क्रिनसट

त्यस्तै, बेलायती मिडिया ‘इन्डिपेन्डेन्ट’मा पनि २०१५ मे १५ मा ‘Cristiano Ronaldo did not donate £5million to aid Nepal earthquake efforts, confirms Save the Children, but he has helped raise awareness शीर्षकमा प्रकाशित अर्को रिपोर्ट भेट्यौँ।

रोनाल्डोले नेपालका भूकम्पपीडितलाई ५ मिलियन युरो सहायता दिएको दावी गरेका समाचार आएतापनि सेभ दि चिल्ड्रेनले त्यो झुटो भएको बताएको समाचारमा उल्लेख छ।

हेर्नुस् स्क्रिनसट-

त्यस्तै सोही विषयमा काठमान्डु पोष्टले ‘Ronaldo ‘didn’t donate to aid Nepal quake efforts’ शीर्षकमा २०१५ मे १४ मा प्रकाशित समाचार प्रकाशित गरेको भेट्यौँ।

तथ्यजाँच

दावी : फुटबलर रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड नेपाली रुपैयाँ सहयोग गरे।

दावीकर्ता : ‘नेपाली खेलकुद समर्थक’ नामक फेसबुक पेज

तथ्यजाँच : भ्रामक सूचना। फुटबलर रोनाल्डोले नेपालको भूकम्पमा कुनै आर्थिक सहयोग गरेका छैनन्। सेभ दि चिल्ड्रेनलाई उद्‍धृत गर्दै रोनाल्डोले कुनै आर्थिक सहायता प्रदान नगरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add