- प्रविण भट्ट
- फाल्गुन २, २०८१

मेक्सिकोकी राष्ट्रपतिले ट्रम्पलाई जवाफ दिएकी होइनन्, भाइरल सन्देश भ्रामक
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पद सम्हालेपछि मेक्सिकोलाई लक्षित गरी विभिन्न घोषणा गरेपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले ट्रम्पलाई कडा रुपमा जवाफ फर्काएको दावी गर्दै एउटा भनाई सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर, हाम्रो तथ्यजाँचमा भने यो गलत देखिएको छ। मेक्सिकोकी राष्ट्रपतिले यस्तो जवाफ दिएकी छैनन्। भाइरल भनाई आठ वर्षअघिदेखि नै चेन मेसेजको रुपमा चल्दै आएको हामीले भेट्यौँ, जसमा कसले भनेको हो, किटान गरिएको छैन।
के हो दावी?
८ लाख ४५ हजार फलोअर रहेको खबर नेपाली नामक फेसबुक पेजले गत फेब्रुअरी ९ तारिख (माघ २७ गते) मेक्सिको देशकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले अमेरिकी राष्ट्रपतिलाई दिएको जवाफ भएको दावी गर्दै एक पोस्ट सार्वजनिक गरेको हो।
खबर नेपाली फेसबुक पेजको पोस्टः
हेर्नुस् स्क्रिनसट-
यो तथ्यजाँच तयार पार्दा सम्म २ हजार ९ सय जनाले रियाक्ट गरेको पोस्टमा १ सय ६६ कमेन्ट छन्। सो पोस्ट २ सय ७६ पटक सेयर समेत गरिएको छ।
यसैगरी १२ लाख फलोअर रहेको निरौला फेमिली नामक फेसबुक पेजले पनि सोही व्यहोरा उल्लेख गर्दै गत माघ २७ गते पोस्ट गरेको छ। यो तथ्यजाँच तयार पार्दा सम्म २ हजार १ सय जनाले रियाक्ट गरेको सो पोस्टमा १ सय ६३ कमेन्ट रहेका छन्। पोस्ट २२० जनाले सेयर पनि गरेका छन्।
हेर्नुस् स्क्रिनसट
यसैगरी एक्स प्रयोगकर्ता प्रदिप भट्टराई ले गत माघ २७ गते मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमलाई उदृत गर्दै सोही व्यहोराको पोस्ट गरेका हुन्। यो तथ्यजाँच तयार पार्दा सम्म १ सय २९ जनाले लाइक गरेको उक्त पोस्टमा १६ रिप्लाइ रहेका छन्। पोस्ट १२ पटक रि-पोस्ट पनि गरिएको देखिन्छ।
के हो तथ्य?
तथ्यजाँचका लागि हामीले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमको आधिकारिक फेसबुक तथा एक्स ह्याण्डलमा सर्च गरेर हेर्यौँ। शेइनबाउमको फेसबुक तथा एक्स ह्याण्डलमा नेपालमा फैलिएजस्तो कुनै भनाई राखेको नभेटिएपछि हामीले विभिन्न सर्च इन्जिनको प्रयोग गर्यौँ।
नेपालीमा लेखिएका शब्दहरुलाई अंग्रेजीमा अनुवाद गरी हामीले गुगल सर्च गर्यौँ। गुगलमा सर्च गरी हेर्दा स्ट्याक एक्सचेन्ज (अर्काइभ) नामक प्रश्नोत्तर गर्न सकिने वेबसाइटमा नेपालीमा लेखिएको जस्तै अंग्रेजी अनुच्छेद भेटियो।
गएको फेब्रुअरी ५ मा एक प्रयोगकर्ताले मेक्सिकोकी राष्ट्रपतिले पर्खाल बनाउनुको परिणामबारे बोलेकी हुन् र भन्दै सोधेको प्रश्नमा उत्तरहरु पनि पढ्न सकिन्छ।
हेर्नुस् स्क्रिनसट
स्ट्याक एक्सचेन्जका एक प्रयोगकर्ताले सन् २०१९ मै शेइनबाउमलाई उदृत नगरिकनै यस किसिमको संदेश फैलिएको बताएका थिए। २०१९ मा प्रकाशित एक ब्लगको कमेन्टमा (अर्काइभ) सोही किसिमको सन्देश थियो।
सन्देशको अन्त्यमा १२ जनालाई सो संदेश फरवार्ड (फेरि पठाउन) गर्न अनुरोध गरिएको थियो।
अमेरिकी संस्था स्नुप्सले पनि यस विषयमा तथ्यजाँच प्रकाशित गरेको छ। स्नुप्सका अनुसार अहिले क्लाउडिया शेइनबाउमको नाम उदृत गर्दै फैलिरहेको सन्देश फेसबुक र इन्स्टाग्राममा सन् २०१७ बाटै फैलाइएको हो।
सन् २०१७ मा अहिले भाइरल भएको जस्तै शब्द भएको सन्देश कसैको नाम उद्धृत नगरी फैलिएको थियो।
स्नुप्समा प्रकाशित तथ्यजाँचको अर्काइभ
स्पेनिसमा भाषामा लेखिएको सो सन्देशको पहिलो केही हरफहरुलाई पुनः डक-डक गो सर्च इन्जिनमा राखेर सर्च गर्यौँ। यसरी सर्च गर्दा मेक्सिकन तथ्यजाँच संस्था एनिमल पोलिटिकोले पनि तथ्यजाँच प्रकाशित गरेको पाइयो। एनिमल पोलिटिकोका अनुसार शेइनबाउमलाई उदृत गरिएको सन्देश चेन मेसेज हो।
एनिमल पोलिटिकोमा प्रकाशित तथ्यजाँचको अर्काइभ
यसर्थ मेक्सिकन राष्ट्रपति क्लाउडिया शेइनबाउमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएको जवाफ भन्दै सामाजिक सञ्जालमा फैलिएको सन्देश शेइनबाउमले भनेकी होइनन्। शेइनबाउमको नाममा फैलिरहेको सन्देश पुरानै चेन मेसेजको एक हिस्सा हो। हाम्रो तथ्यजाँचको क्रममा सो सन्देशको पुरानो संस्करणहरुमा भने कसैको नाम उदृत नगरेको पाइयो।
तथ्यजाँच
दावीः मेक्सिकन राष्ट्रपति क्लाउडिया शेइनबाउमले ट्रम्पलाई दिएको कडा जवाफको अंश।
दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यः भ्रामक सूचना। सामाजिक सञ्जालमा फैलिएको जस्तो कुनै पनि जवाफ मेक्सिकन राष्ट्रपतिले दिएकी छैनन्। सामाजिक सञ्जालमा फैलिरहेको जवाफको अंश सात वर्ष पुरानो एक चेन मेसेजको हिस्सा हो।