तथ्यजाँच भ्रामक सूचना वागमती

एचपिभी खोपले दुष्प्रभाव गर्छ भन्ने दावी यसकारण भ्रामक


एचपिभी खोपले दुष्प्रभाव गर्छ भन्ने दावी यसकारण भ्रामक

महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि लगाइने एचपिभी खोप प्रभावकारी नभएको र त्यसले घातक असर गर्ने दावी गर्दै ‘लोक संवाद’ अनलाइनमा एउटा लेख प्रकाशन भएको छ। तर, लेखमा गरिएका अधिकांश दावी भ्रामक रहेको हाम्रो तथ्य जाँचको निश्कर्ष छ।

के-के छन् दावी ?

‘लोक संवाद’ अनलाइनमा माघ २९ गते  ‘’महाअपराध’ ! दोष र अबगालको जिम्मा डा. भोला रिजाल र मनीषा कोइरालेले लिने कि नलिने ?’ शीर्षकमा विश्व बस्नेतद्वारा लिखित लेख प्रकाशित गरिएको छ।

यो लेखमा एचपिभी खोपबारे विभिन्न किसिमका दावी गरिएका छन्।  ती दावीलाई हामीले तथ्यजाँच गरेका छौँ।

दावी : एचपिभी खोपले क्यान्सर लाग्नबाट बचाउँछ भन्ने कुरा सरासर झुटो हो।

तथ्य : नेशनल इन्स्टिच्युट अफ हेल्थमा Myths and fake messages about human papillomavirus (HPV) vaccination: answers from the ESGO Prevention Committee शीर्षकमा एउटा लेख प्रकाशित छ।

उक्त लेखमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) जस्ता संस्थालाई उदृत गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक एचपिभी भाइरस भएको उल्लेख छ। त्यसैले यो खोप महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि दिइन्छ।

क्यान्सरको रोकथामको लागि दिइने खोपले क्यान्सर गराउँछ भन्नु गलत भएको उक्त लेखमा उल्लेख छ।

दावी : एचपिभी भाइरस प्रायः सबै वयस्कहरुमा पाइन्छ, अनि अधिकांश समय त्यसले बिगार गर्दैन र अक्सर आफै निको भएर पनि जान्छ।

तथ्य : बालबालिकाहरु यौनिक गतिविधिमा संलग्न हुनुअघि खोप दिँदा एचपिभी भाइरसले गराउने क्यान्सरको जोखिम कम हुने विभिन्न अध्ययनहरुले देखाएको छ ।

केही प्रमुख अध्ययनहरु :

यहाँ केही प्रमुख सिफारिशहरू प्रस्तुत छन्:

  1. Markowitz, L. E., et al. (2007). “Quadrivalent Human Papillomavirus Vaccine: Recommendations of the Advisory Committee on Immunization Practices (ACIP).” MMWR Recommendations and Reports, 56(RR-2), 1-24. यस सिफारिशमा, Advisory Committee on Immunization Practices (ACIP) ले 11 देखि 12 वर्षका बालबालिकाहरूलाई नियमित रूपमा एचपिभी खोप लगाउन सिफारिश गरेको छ, जसले यौन क्रियाकलाप सुरु हुनु अघि खोपको प्रभावकारिता सुनिश्चित गर्दछ।

  2. World Health Organization (WHO). (2017). “Human papillomavirus vaccines: WHO position paper, May 2017.” Weekly Epidemiological Record, 92(19), 241-268. विश्व स्वास्थ्य संगठनले 9 देखि 14 वर्षका बालबालिकाहरूलाई दुई मात्रा एचपिभी खोप लगाउन सिफारिश गरेको छ, विशेष गरी यौन क्रियाकलाप सुरु हुनु अघि, ताकि खोपले उच्च प्रभावकारिता प्रदान गर्न सकोस्।

  3. Saslow, D., et al. (2016). “American Cancer Society Guideline Update on Human Papillomavirus Vaccination for the Prevention of Cervical Cancer.” CA: A Cancer Journal for Clinicians, 66(5), 375-385. अमेरिकन क्यान्सर सोसाइटीले 11 देखि 12 वर्षका बालबालिकाहरूलाई एचपिभी खोप लगाउन सिफारिश गरेको छ, र 9 वर्षको उमेरदेखि खोप सुरु गर्न सकिने उल्लेख गरेको छ, ताकि यौन क्रियाकलाप सुरु हुनु अघि खोपले पूर्ण सुरक्षा प्रदान गर्न सकोस्।

त्यस्तै खोप दिने भनेको उपचारको लागि नभएर रोकथामको लागि हो । त्यसैले बालबालिकाहरुलाई समयमै खोप दिदाँ भविष्यमा एचपिभी भाइरसको कारण हुने क्यान्सरको जोखिम कम हुने सिडिसीले उल्लेख गरेको छ।

दावी :  एचपिभि संक्रमित भएर त्यसको कारणले मर्ने भन्दा त्यही खोपका कारण क्यान्सर भएर मर्ने सम्भावना बढी हुन्छ भनेर विश्वविख्यात डाक्टर, वैज्ञानिकहरुले भनिसकेका छन्।

तथ्य : यो विषयमा फूलफ्याक्ट नामक तथ्यजाँच संस्थाले ‘HPV vaccines have been shown to be safe and effective शीर्षकमा तथ्यजाँच गरेको छ।

उक्त तथ्यजाँच अनुसार, एचपिभी खोप सुरक्षित छ र यसका दुष्प्रभावहरू अत्यन्तै कम छन्। डब्लुएचओ, र सिडिसी जस्ता वैज्ञानिक प्रमाणका आधारमा चल्ने स्वास्थ्यका ठूला निकायहरुले खोपको सुरक्षा पुष्टि गरेको फूल फ्याक्टको तथ्यजाँचमा उल्लेख छ । त्यस्तै लामो समय लगाएर गरिएको अध्ययनहरूले एचपिभी खोपको कुनै स्वास्थ्य जोखिम देखिएको छैन। खोपले क्यान्सर जस्ता गम्भीर रोगहरूको रोकथाममा ठूलो योगदान पुर्‍याउँछ।

दावी : खोपले ‘अटोइम्युन डिजिज’ , बाँझोपन  तथा अन्य समस्याका साथै मृत्यु भएका घटनाहरु धेरै छन्। एचपिभी भ्याक्सिनमा हुने हानिकारक तत्व अरु मध्ये एलुमिनियम पनि हो, जुन आफैमा क्यान्सर कारक अनि ब्रेन ड्यामेज (एल्जाइमर्स र सुस्त मनस्थिति) गराउने तत्व हो, यो कुरा सर्वविदित छ।

तथ्य : खोपले बाँझोपन तथा अटो इम्युन गराउन सक्छ भन्ने दाबीमा कुनै वैज्ञानिक प्रमाण नभएको सिडिसीले उल्लेख गरेको छ। डब्लुएचओ र सिडिसीजस्ता संस्थाहरुले खोपलाई सुरक्षित र प्रभावकारी मानेका छन् । नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित लेख अनुसार, एचपिभी खोप लगाएका मानिसबारे गरिएको अध्ययनमा  कुनै दुष्प्रभाव देखिएको छैन। त्यस्तै १० लाख महिलामा गरिएको अध्ययनमा बाँझोपन समबन्धि कुनै समस्या देखिएको छैन।

अमेरिकन क्यान्सर सोसाइटीको लेख अनुसार, एचपीभी खोपमा ‘एल्युमिनियम’ प्रमाणित रुपमा सुरक्षित रहेको छ। यो खोपको प्रभावकारिता बढाउन प्रयोग गरिने एक प्रकारको तत्व हो।  केही खोपहरूको अतिरिक्त एल्युमिनियम विभिन्न खाद्य तथा पेय पदार्थमा  पाइन्छ। जसमा  फलफूल, सागसब्जी, मसला, मैदा, अन्न, नट, दुधजन्य उत्पादन तथा मह समेत पर्छ।  वयस्क मानिसले सामान्यतया प्रत्येक दिन ७ देखि ९ मिलिग्राम एल्युमिनियम पिउँछन्, जबकि एचपीभी खोपमा प्रति डोजमा ०.५ मिलिग्रामभन्दा बढी एल्युमिनियम हुँदैन।

विश्व स्वास्थ्य संगठनको ग्लोबल एडवाइजरी कमिटी अन भ्याक्सिन सेफ्टीको अध्ययनले पनि भ्याक्सिनमा भएको ‘एल्युमिनियम’ले स्वास्थ्यमा जोखिम नगराउने भनेको छ।

दावी : पाठेघरको मुखको क्यान्सर हुने औसत उमेर ४५, ५० हो भने ९ देखि १४ वर्षका बालिकाहरुलाई अहिलेबाट यो दिनु महाअपराध र अनैतिक कार्य हो ।

तथ्यजाँच : जति कम उमेरमा खोप लगाइन्छ त्यति नै भाइरसविरुद्ध इम्युनिटी प्राप्त हुने सिडिसीको भनाइ छ। सिडिसीको अनुसार, १५ वर्ष भन्दा कम उमेरमा खोप लगाउदाँ खोपको डोज धेरै आवश्यक पर्दैन।

एचपिभी खोपको अफवाहको अन्य तथ्यजाँच पढ्न यहाँ यहाँयहाँ, यहाँयहाँ  क्लिक गर्नुहोस्।

तथ्यजाँच

दावी : एचपिभी खोपबारे विभिन्न दावीहरु।

दावीकर्ता : विश्व बस्नेत

तथ्यजाँच : भ्रामक सूचना । विश्व स्वास्थ्य संगठन तथा सिडिसीले एचपिभी खोप प्रभावकारी भएको बताएका छन्। विभिन्न अध्ययनले खोपले बाँझोपन, अटो इम्युन तथा मृत्यु गराउने दुष्प्रभाव पुष्टि गरेको छैन। लामो समय लगाएर गरिएका विभिन्न अध्ययन र ट्रायलले खोपलाई सुरक्षित र प्रभावकारी पुष्टि गरेको छ। त्यसैले विश्व बस्नेतले गरेको दावी भ्रामक छ।

 

 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add