तथ्यजाँच मिथ्या सूचना वागमती

खोपमा हालिएको पदार्थले बालबालिकामा क्यान्सर गराउने दावी मिथ्या


खोपमा हालिएको पदार्थले बालबालिकामा क्यान्सर गराउने दावी मिथ्या

खोपमा हालिएको फर्माल्डिहाइड (formaldehyde) नामक ग्यासले बालबालिकालाई ल्युकेमिया क्यान्सर हुने दावी गरेको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचमा यो दावी मिथ्या सूचना पुष्टि भएको छ।

खोपमा प्रयोग गरिएको फर्माल्डिहाइडले क्यान्सर गराउने कुनै प्रमाण फेला पारेको छैन।

के छ दावी ?

इमरान अलि नामको फेसबुक पेजमा फेब्रुअरी २० मा गरिएको एउटा पोस्टमा भ्याक्सिनमा हालिएको फर्माल्डिहाइड ग्यासका कारण बालबालिकामा ल्युकेमिया क्यान्सर हुनसक्ने दावी गरिएको छ।

हेर्नुस् स्क्रिनसट । अर्काइभ लिंक

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा १२३ रियाक्सन, २८ कमेन्ट र २३ पटक सेयर गरिएको छ।

तथ्यजाँच

यो विषयमा बुझ्नको लागि हामी युनिभर्सिटी अफ अक्सफोर्डको भ्याक्सिन नलेज प्रोजेक्टको वेबसाइटमा गयौँ। उक्त वेबसाइटमा भ्याक्सिनमा प्रयोग हुने तत्वका बारेमा विस्तृतमा जानकारी राखिएको छ।

वेबसाइटका अनुसार, फर्माल्डिहाइड उद्योगहरुमा व्यापक प्रयोग हुने रासायनिक पदार्थ हो। उदाहरणका लागि, यसलाई निर्माण सामग्री र घरेलु उत्पादनहरू बनाउनको लागि प्रयोग गरिन्छ। त्यस्तै यो धेरै जीवित वस्तुहरुमा प्राकृतिक रुपमा पाइन्छ।

केही भाइरस र जीवाणुको विषाक्ततालाई निष्क्रिय गर्न खोपमा फर्माल्डिहाइड प्रयोग गरिन्छ।

दुई महिने नवजात शिशुको रगतमा प्राकृतिक फर्माल्डिहाइडको मात्रा कुनै पनि खोपमा पाइने मात्राभन्दा दश गुणा बढी हुने युनिभर्सिटी अफ अक्सफोर्डको भ्याक्सिन नलेज प्रोजेक्टको वेबसाइटमा उल्लेख छ। एक नास्पातीमा कुनै पनि खोपमा पाइने फर्माल्डिहाइडभन्दा लगभग ५० गुणा बढी फर्माल्डिहाइड हुन्छ।

मानव शरीरले फर्माल्डिहाइलाई ऊर्जाको (मेटाबोलिजम प्रकिया) रुपमा उत्पादन र उपभोग गर्दछ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार, औद्योगिक क्षेत्रमा काम गर्ने कामदार र फर्माल्डिहाइडसँग उच्च स्तरमा प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सा पेशाकर्मीलाई क्यान्सरको जोखिम हुने केही अध्ययनले देखाएको उल्लेख छ। तर, सानो मात्राको फर्माल्डिहाइडसँगको सम्पर्कले पार्ने प्रभाव अझै स्पष्ट छैन।

त्यसैगरी, एएफपी फ्याक्टचेकमा ‘False claim circulates online that formaldehyde in vaccines can cause childhood leukemia’ शीर्षकमा तथ्यजाँच प्रकाशित भएको फेला पार्‍यौँ।

उक्त तथ्यजाँच अनुसार, खोपमा राखिएको फर्माल्डिहाइडको कारण बालबालिकामा ल्युकेमिया क्यान्सर हुने कुनै प्रमाण छैन। खोपमा फर्माल्डिहाइड नामक ग्यास प्रयोग भएतापनि त्यो मानव स्वास्थ्यको लागि सुरक्षित भएको एएफपीको तथ्यजाँचमा उल्लेख छ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)का अनुसार, कुनै पनि खोप उत्पादन गर्नुअघि त्यसको अध्ययन, अनुसन्धान र क्लिनिकल ट्रायल गरिन्छ।

चार चरणको क्लिनिकल ट्रायल मार्फत् खोप सुरक्षित र प्रभावकारी हुने निश्चित भएपछि मात्र प्रयोग गर्न अनुमति दिइन्छ। क्लिनिकल ट्रायल मार्फत संकलन गरेको तथ्यांकले खोपको दुष्प्रभाव देखिएमा प्रयोगको लागि स्वीकृती नदिने भएकाले खोपका कारण बालबालिकामा क्यान्सर हुन्छ भन्ने दावी मिथ्या ठहर हुन्छ।

तथ्यजाँच

दावी : खोपमा हालिएको फर्माल्डिहाइड नामक ग्यासले बालबालिकालाई ‘ल्युकेमिया’ क्यान्सर हुन्छ।

दावीकर्ता :  फेसबुक प्रयोगकर्ता इमरान अली।

तथ्यजाँच : मिथ्या  सूचना। खोपमा प्रयोग गरिने फर्माल्डिहाइडको कारण बालबालिकामा ल्युकेमिया क्यान्सर हुने प्रमाण छैन। खोपमा उक्त पदार्थ सुरक्षित रुपमा प्रयोग गरिएको हुन्छ। क्लिनिकल ट्रायल मार्फत् खोप सुरक्षित र प्रभावकारी हुने निश्चित भएपछि मात्रै मानिसमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले स्वीकृति दिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add