- सागर बुढाथोकी
- फाल्गुन ११, २०८१

नझुक्किनुस्, ट्रम्पले बालेनलाई प्रतिक्रिया दिएका होइनन्, भाइरल भिडियो एआईबाट बनाइएको
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ट्याग गर्दै लेखेको फेसबुक स्टायटसको जवाफ दिएको दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
हाम्रो तथ्यजाँचले सो भिडियो एआई प्रविधि उपयोग गरी जोसुकैले बनाउन सक्ने गरी सार्वजनिक रुपमा उपलब्ध वेबसाइटबाट तयार पारेको देखिएको छ। ट्रम्पले बालेनको नाम लिएर केही भनेका छैनन्।
के छ दावी ?
८६ हजार फलोअर्स रहेको कोपिला भट्टराई नामक फेसबुक पेजमा फेब्रुअरी २२ मा पोस्ट गरिएको भिडियोमा अमेरिकी राष्ट्रपति ट्रम्पले काठमाडौँका मेयर बालेन शाहको नाम लिएर बोलिरहेको हेर्न सकिन्छ।
भाषणमा ट्रम्पले भनेका छन्, ‘Dear mayor balen. Tremendous message. Fantastic that you are a strong leader. Kathmandu is a beautiful city . great potential, great people. I love winner, you have got that energy, big energy. America is still the greatest. I respect leaders who want to build their own nation. Strong nation, strong leadership, just like me. Leep working hard. Make Nepal great. Who knows I will visit some days. There are huge possibilities’
हेर्नुस्, स्क्रिनरेकर्ड
भिडियोमा ‘बालेन त्यसै बालेन भएका होइनन्, स्टायटसले डोनल्ड ट्रम्प झुकिसकेछन्’ समेत लेखिएको छ।
हामीले तथ्यजाँच गर्दासम्म उक्त भिडियोमा ११ हजार रियाक्सन, ६ सयभन्दा बढी कमेन्ट छन् भने भिडियो ७ हजार ३ सय पटक सेयर गरिएको छ।
सोही भिडियो ENT NEPAL मा ४ हजार ६ सय पटक सेयर भएको छ। टिकटकमा अजय यादव अफिसियल को यस्तै भिडियोमा ५२ हजारभन्दा बढी लाइक, २ हजार ७ सयभन्दा बढी कमेन्ट, ६ हजारभन्दा बढी सेयर देखिन्छ। एक्समा एकल यात्रीले राखेको यही भिडियो मा ६० रिपोस्ट छन् भने ३५ हजारभन्दा बढी पटक हेरिएको छ।
तथ्य के हो ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आधिकारिक सामाजिक सञ्जालहरु कुनैमा यो भिडियो हामीले देखेनौँ। त्यसैगरी कुनै विश्वसनीय मिडियामा पनि यो भिडियोको समाचार आएको देखिएन।
त्यसपछि हामीले भिडियोलाई सूक्ष्म ढंगले हेर्यौँ। भिडियोको माथिल्लो पट्टी कुनामा ‘made with TryParrotAI.com’ लेखिएको थियो।
हेर्नुस्, स्क्रिनसट
TryParrotAI.com ले विभिन्न सेलिब्रेटीले बोलेको जस्तै देखिने भिडियोहरु उनीहरुकै आवाजमा बनाइदिनसक्छ। त्यसको लागि को सेलिब्रेटीलाई के बोलाउने भनेर शब्दहरु लेखेर ‘प्रम्प्ट’ दिन सकिन्छ।
उदारणको लागि, हामीले सोही वेबसाइटबाट अमेरिकी राष्ट्रपति ट्रम्पले ‘I haven’t responded to the status of Kathmandu’s mayor Balen Shah’ भनेको भिडियो बनायौँ।
त्यो भिडियो बनाउनका लागि TryParrotAI.com को एआइ भ्वाइस जेनेरेटर लेखेको ठाउँमा गएर डोनाल्ड ट्रम्प लेखेको ठाउँमा क्लिक गर्यौँ ।
त्यसपछि त्यहाँ आफूले तयार गरेको स्क्रिप्ट हाल्ने ठाउँमा ‘I haven’t responded to the status of Kathmandu’s Mayor Balen Shah’ लेखेर जेनेरेटमा क्लिक गर्यौँ।
उक्त एआइले यस्तो भिडियो बनाइदियो ।
तथ्यजाँच
दावी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहको फेसबुक स्टायटसको प्रतिक्रिया दिए।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यजाँच : मिथ्या सूचना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काठमाडौँका मेयर बालेन शाहलाई प्रतिक्रिया दिएको भनिएको भिडियो एआई प्रविधिबाट बनाइएको नक्कली हो। उनले बालेनलाई जवाफ दिएका छैनन्।