- सागर बुढाथोकी
- फाल्गुन २९, २०८१

बटौलीमा बस चढ्न लाइन लागेको? होइन, भाइरल फोटोको तथ्य यस्तो
पुरानो समयका लुगाफाटा लगाएकाहरु लाइन बसेको एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो राखी ५६ वर्ष पहिला बटौली अर्थात् बुटवलमा बस चढ्न लाइन बसेको दावी गर्दै एउटा फोटो सामाजिक सञ्जालमा चर्चामा आएको छ।
तर हाम्रो तथ्य जाँचमा यो दावी भ्रामक रहेको पुष्टि भएको छ।
के छ दावी ?
२०२५ मार्च ११ मा पत्रकार किशोर नेपालले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा दुई लाख ८८ हजार फलोअर्स भएको आफ्नो खाताबाट एक ग्राफिक्ससहितको फोटो पोस्ट गरेका थिए।
काटिएको (क्रप गरिएको) देखिने फोटोमा देखिएका शब्दहरू छन्- “५६ वर्ष पहिला बटौलीमा… लिनको लागि बसेको लाइ..”
त्यसैलाई आधार मानेर नेपालले पोस्ट गरेका थिए: ‘ छपन्न बर्षअघि बटौली अर्थात बुटवलमा बस चढन लाम लागेका ‘प्रजाहरू !’‘
किशोर नेपालको पोस्ट। अर्काइभ लिङ्क।
हेर्नुस् स्क्रिनसट
हामीले तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २९ हजारभन्दा बढीले हेरेका छन भने १४२ रिप्लाई, ४३ वटा रिपोस्ट र १२५ जनाले फेब गरेका छन्। अर्थात् पोस्ट भाइरल भएको छ।
यही फोटोलाई अन्य फरक सन्दर्भमा समेत प्रयोग गरिएको भेटिएकोले हामीले फोटोको वास्तविक तथ्य पत्ता लगाउने कोशिश गरेका छौँ।
२०२४ सेप्टेम्बर १४ मा साइकोलोजी नेपाल नामक फेसबुक पेजले पनि यही फोटोमा ग्राफिक्स गरेर ५६ वर्ष पहिला बटौलीमा नुन लिनको लागि बसेको लाइन भन्ने क्याप्सन राखेको छ। अर्काइभ लिंक
हेर्नुस्, स्क्रिनसट
तथ्य के हो ?
यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले सबैभन्दा पहिला फोटोलाई रिभर्स इमेज सर्च गर्यौँ। रिभर्स इमेज सर्च गर्दा उक्त फोटो फोटोग्राफर तथा रिपोर्टर माइकल ओलगेनसिङ्गरको रहेको विभिन्न वेबसाइटले देखाए । तर, उक्त फोटो कहाँ र कुन सन्दर्भमा खिचिएको भन्ने बारे त्यहाँ उल्लेख थिएन।
त्यसपछि हामीले माइकल ओलगेनसिङ्गरलाई गुगलमा थप सर्च गर्यौँ । सो क्रममा www.michaelwolgensinger.ch/ नामको वेबसाइट भेट्यौँ।
हेर्नुस्, स्क्रिनसट
उक्त वेबसाइटमा फोटोग्राफी सेक्सनमा क्लिक गर्दा अन्य देशसँगै नेपाल लेखेको सेक्सन पनि देख्यौँ । उक्त सेक्सनमा सोही फोटो राखिएको थियो।
हेर्नुस् स्क्रिनसट-
सोही सेक्सनमा क्लिक गर्दा उक्त फोटो खुल्यो । फोटोको तल अङ्ग्रेजीमा ‘वेटिङ फर राइस’ अर्थात् ‘चामलको प्रतीक्षा’ लेखिएको थियो। एकापट्टी जर्मन भाषामा केही क्याप्सन लेखिएको थियो । र, स्लाइडमा अन्य फोटोहरु पनि राखिएको छ।
हेर्नुस्, स्क्रिनसट ।
उक्त क्याप्सनलाई हामीले गुगल ट्रान्सलेट गरेर हेर्यौँ । गुगल ट्रान्सलेट गर्दा ‘हेल्भेटास’ नामक दातृ निकायले “Dschai Nepal” (अनुवाद : जय नेपाल) नामक फिल्म बनाएको र ती तस्विरहरु सोही क्रममा लिइएको उल्लेख छ। तर उक्त फोटो कुन ठाउँमा खिचिएको भने उल्लेख थिएन।
त्यसपछि हामीले जय नेपाल नामक फिल्म खोज्यौँ। सोही क्रममा Ivy Media नामक युट्युब च्यानलमा ‘ 1964 Nepal | Michael Wolgensinger Documentary | English subtitles’ लेखेको डकुमेन्ट्री भेट्यौँ।
सो डकुमेन्ट्रीमा नेपालको त्यतिबेलाका समस्याहरु पनि देखाइएको छ। र, नेपालको समस्या समाधान गर्नका लागि स्विस सरकारले गरेको सहयोग पनि देखाइएको छ।
उक्त डकुमेन्ट्रीको १४ मिनेट २० सेकन्डमा केही मानिसहरु चामलको लागि लाइन लागिरहेको देखिन्छ। हेर्न क्लिक गर्नुस्। त्यो लाइनका दृश्यहरु पत्रकार किशोर नेपालले हालेको फोटोसँग मिल्न जान्छ। किनकि, उक्त फोटो र डकुमेन्ट्री खिच्ने मानिस माइकल ओलगेनसिङ्गर नै हुन्। ४० मिनेट लामो उक्त डकुमेन्ट्रीमा कतै पनि उक्त दृश्य कुन ठाउँको हो भन्ने चाहीँ उल्लेख छैन।
तथ्यजाँच
दावी : बटौलीमा ५६ वर्षअघि बस चढ्न लाइन लागेका प्रजाहरु।
दावीकर्ता : पत्रकार किशोर नेपाल।
तथ्यजाँच : भ्रामक सूचना। फोटो खिच्ने फोटोग्राफर माइकल ओलगेनसिङ्गर हुन्। उनको वेबसाइट र डकुमेन्ट्री अनुसार उक्त फोटो बटौलीमा बस चढ्न लाइन बसेका बसेका मानिसहरुको नभएर चामल लिन लाइन बसेका मानिसहरुको हो। फोटो खिचिएको स्थान भने खुलाइएको छैन।