तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

फोटो त सही हो, तर सन्दर्भ गलत! गगन थापाले हितेन्द्र देव शाक्यलाई भेटेको भाइरल फोटोको तथ्य


फोटो त सही हो, तर सन्दर्भ गलत! गगन थापाले हितेन्द्र देव शाक्यलाई भेटेको भाइरल फोटोको तथ्य

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शाक्यलाई भेटेर मायाको चिनो प्रदान गर्दै बधाई दिएको दाबीसहितको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।

तर, हाम्रो तथ्यजाँचमा यो फोटो भ्रामक भएको पुष्टि भएको छ। पुरानो कार्यक्रमको फोटोमा गलत क्याप्सन हालेर भ्रम सिर्जना गरिएको हो।

के छ दावी ?

२० हजार फलोअर्स रहेको ‘मिसन पिएम’ नामक फेसबुक पेजमा ‘विद्युत् कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएसँगै बधाई दिएर आएका छ्न् गगन थापा’ क्याप्सन राखेर फोटो राखिएको छ।

यो तथ्यजाँच गर्दासम्म उक्त फोटोमा १७ वटा कमेन्ट, १४ पटक सेयर र ३८ वटा रियाक्शन छ।

हेर्नुस् स्क्रिनसट । अर्काइभ लिंक

 

त्यस्तै एक लाख १३ हजार फलोअर्स रहेको नेप्लिज टाइम्स नामको फेसबुक पेजमा बुधबार (२०२५ मार्च २६) मा एउटा भिडियो पोस्ट गरिएको छ । ‘कुलमान घिसिङ प्रकरणमा गगन थापा’ क्याप्सन राखेर बनाइएको दुई मिनेट आठ सेकेण्ड लामो भिडियोमा कांग्रेस महामन्त्री गगन थापाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हितेन्द्र देव शाक्यसँग ‘टोकन अफ लभ’ आदान प्रदान गरेको फोटो प्रयोग गरिएको छ।

फोटोमा नेकपा एमालेका सांसद ठाकुर गैरै र विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक डा. मुकेश काफ्ले पनि देखिन्छन्।

हेर्नुस्, स्क्रिनसट

सोही फोटो राखेर भिडियोमा ‘नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा स्टाटस लेखेर विरोध गरेको तर शाक्यलाई भेटेर बधाई दिएर कांग्रेस महामन्त्री थापाले दोहोरो चरित्र देखाएको’ दावी गरिएको छ।

हेर्नुस् स्क्रिन रेकर्ड

यो तथ्यजाँच गर्दासम्म तीन सय ५६ वटा रियाक्शन, तीन सय सात पटक सेयर र २७ वटा कमेन्ट गरिएको छ। त्यस्तै, भिडियो ७९ हजार पटक हेरिएको छ।

त्यस्तै, एक्स (पहिलेको ट्विटर) मा सुमन नामक प्रयोगकर्ताले ‘गगनले मिडिया खपतको लागि मात्र बोल्छन है। यिनी राजनीतिक बिचौलिया हुन। ‘ क्याप्सन राखेर सोही फोटो पोस्ट गरेका छन्। हेर्नुस्, अर्काइभ 

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्ट १० हजार पाँच सय भ्यूज,  दुई सय ८९ लाइक, ८२ रिपोष्ट र ८२ जनाले प्रतिक्रिया जनाएका छन्।

सामाजिक सञ्जालमा सोही फोटो राखेर बनाइएको भिडियो धेरै हेरिएको र हाम्रो फेसबुक पेजमा यो विषयमा तथ्यजाँच गर्न अनुरोध आएकोले हामीले यो विषयमा तथ्य जाँच गरेका छौँ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ । तर, त्यो क्रममा केही फेला परेन।

त्यसपछि हामीले गुगलमा फोटोमा रहेका व्यक्तिहरु, हितेन्द्र देव शाक्य, मुकेश काफ्ले, गगन थापा र ठाकुर गैरेको नाम ‘की वर्ड’ राखेर गुगलमा सर्च गर्‍यौँ।

त्यो क्रममा एक्स (पहिलेको ट्विटर)मा नेपाल विद्युत प्राधिकरणमा पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले सन् २०२३ अगस्ट २७ मा चार वटा फोटो राखेर गरिएको एउटा पोस्ट भेट्यौँ।

पोस्टमा ‘विद्युत् खपत र व्यापारः चुनौती र सम्भावना’ अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि मा. गगन थापा, विशिष्ट अतिथि मा. ठाकुर गैरे, अतिथि पूर्व मन्त्री एवं जलश्रोतविद् दीपक ज्ञवाली, कार्यपत्र प्रस्तोता नेविप्रा पूर्व कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई मायाको चिनो प्रदान’ क्याप्सन राखिएको थियो ।

हेर्नुस्, स्क्रिनसट । हेर्नुस्, अर्काइभ लिंक

ती चार वटा फोटो मध्ये एउटा फोटो सामाजिक सञ्जालमा हालिएको फोटोसँग दुरुस्तै मिल्न जान्छ।

तथ्यजाँच

दाबी: कांग्रेस महामन्त्री गगन थापाले विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई भेटेर बधाई दिए।

दावीकर्ता: नेप्लिज टाइम्स, मिसन पीएम फेसबुक पेजहरु।

तथ्यजाँच: भ्रामक सूचना। गगन थापाले शाक्यलाई बधाई दिएको भनिएको फोटो सन् २०२३ अगस्ट २७ मा आयोजित एक कार्यक्रममा खिचिएको हो। यसलाई हालको सन्दर्भसँग जोडेर गलत ढंगले भ्रम फैलाउने गरी प्रस्तुत गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add