तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

मोटरसाइकलमा पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य नयाँ होइन, पुरानै नियम हो!


मोटरसाइकलमा पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य नयाँ होइन, पुरानै नियम हो!

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐनको नयाँ मस्यौदा सार्वजनिक गरेसँगै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यसको चर्चा भइहेको छ। ऐनको मस्यौदामा मोटरसाइकल पछाडि बस्ने व्यक्तिले समेत हेल्मेट लगाउनुपर्ने नियम ‘नयाँ’ भएको दावी पनि भएका छन्। 

तर, हाम्रो तथ्यजाँचमा भने यो दावी भ्रामक भएको पुष्टि भएको छ।

वास्तवमा, मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले हेल्मेट लगाउनुपर्ने व्यवस्था हालै प्रस्तावित नभएर पहिले नै रहेको नियम हो।

के हो दावी?

गत  फागुन १६ गते रातोपाटी अनलाइनले यातायात व्यवस्था ऐनको मस्यौदाबारे “मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने” शीर्षक सहित समाचार सम्प्रेषण गरेको छ।

प्रस्तावित ऐनमा “मोटरसाइकल वा स्कुटरमा चालक र पछाडि बस्ने यात्रुले समेत अनिवार्य हेलमेट लगाउनुपर्ने” व्यवस्था गरिएको समाचारमा दावी गरिएको हो।

रातोपाटीको फेसबुक पेजमा यससम्बन्धी पोस्टमा ५५६ सेयर र २४ सय कमेन्टहरु छन् जसमध्ये अधिकांशले यसलाई कानुनमा हुन लागेको नयाँ व्यवस्थाको आशय व्यक्त गरेका छन्।

फागुन १६ मै ३८ लाख लाइक र ४३ लाख फलोअर रहेको रुटिन अफ नेपाल बन्द  फेसबुक पेजले समेत सोही दावीका साथ पोष्ट गरेको छ।  नयाँ प्रस्तावित कानून अनुसार मोटरसाइकल पछाडि बस्नेले समेत हेल्मेट लगाउनु पर्ने व्यवस्था गर्न लागिएको जानकारी दिइएको हो।

हेर्नुस् स्क्रिनसट

हामीले अर्काइभ गर्दा सम्म ११ हजार जनाले रियाक्ट गरेको सो फेसबुक पोस्टमा १ हजार ४ सय जनाले कमेन्ट गरेका थिए। सो पोस्ट ५९ पटक सेयर समेत भएको थियो। 

यसैगरी इन्स्टाग्राममा चर्चित पेज नो नेक्स्ट क्वेसन (No Next Question) ले पनि सोही दावीका साथ पोस्ट सेयर गरेको छ। १ लाख ४० हजार फलोअर रहेको पेज No Next Question ले सरकारले मोटरसाइकमा बस्ने दुबै जनाका लागि हेलमेट अनिवार्य गर्ने नयाँ नियम ल्याउन लागेको दावी गरेको छ।

हेर्नुस् स्क्रिनसट

हेर्नुस् पोस्टको अर्काइभ 

यो तथ्यजाँच तयार पार्दा सम्म ३ हजार ६ सय ४८ जनाले सो पोस्ट लाइक गरिसकेका छन्।

के हो तथ्य?

तर, सामाजिक सञ्जालमा नयाँ व्यवस्था भनिएको यो नियम वास्तवमा नयाँ होइन।

२०४९ सालको सवारी तथा यातायात व्यवस्था ऐनमै यस्तो व्यवस्था विद्यमान छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३० को उपदफा (२) मा “मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप ( हेल्मेट) लगाउनु पर्छ” भन्ने व्यवस्था गरेको छ।

हेर्नुस् सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० को व्यवस्था

यसर्थ, विद्यमान ऐनमै व्यवस्था गरिएको नियमलाई नयाँ नियमका रुपमा चित्रण गर्नु भ्रामक हो।

नेपाल तथ्यजाँचले यसबारे २०७८ सालमै प्रकाशित गरेको तथ्यजाँच यहाँ पढ्न सकिन्छ

तथ्यजाँच

दावीः प्रस्तावित सवारी तथा यातायात व्यवस्था ऐनमा मोटरसाइकल पछाडि बस्ने ब्यक्तिले हेलमेट लगाउनु पर्ने “नयाँ” व्यवस्था गरिएको।

दावीकर्ताः मिडिया तथा सामाजिक सञ्जालमा चर्चित पेज।

तथ्यः भ्रामक सूचना। प्रस्तावित ऐनमा भएका “नयाँ” व्यवस्थाका रुपमा चर्चा गरिएका प्रवधान विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मै भएका नियम हुन्।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add