- प्रविण भट्ट
- चैत्र ८, २०८१

फेसबुकमा भाइरल फोटोको तथ्य: न नेता, न बैँक लुटेरा, उनी हुन् हुण्डी कारोबारका अभियुक्त
सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो भाइरल भइरहेको छ, जसमा एक व्यक्ति नोटका गड्डीसहित देखिन्छ र उनको दायाँबायाँ सशस्त्र प्रहरीको वर्दी लगाएकाहरु छन्। कुनै पोस्टमा उनलाई नेकपा एमालेको नेता भनिएको छ भने केहीमा माओवादी नेता। ती व्यक्ति बैँक लुटेर भाग्दै गर्दा पक्राउ परेका र उनको रिहाइका लागि ठूला नेताहरूले दबाब दिइरहेको दावी पनि छ।
तर हाम्रो तथ्यजाँचले यो दावी पूर्ण रूपमा भ्रामक भएको देखाएको छ। फोटोमा देखिने व्यक्ति हुण्डी कारोबारमा संलग्न भन्दै मुद्दा चलाइएका अभियुक्त ईसा अन्सारी हुन्, जो सुनसरीको हरिनगर गाउँपालिका-५ का बासिन्दा हुन्।
के हो दावी?
गत फेब्रुअरी २४ मा शक्तिमान थिङ नामक फेसबुक प्रयोगकर्ताले राखेको फोटोमा दुई जना सशस्त्र प्रहरीको बीचमा एक जना सेतो सर्ट लगाएका व्यक्ति छन् भने अगाडि टेबलमा नोटको गड्डी राखिएको देख्न सकिन्छ। त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसमेत जोडेर देखाइएको छ।
पोस्टमा मोरङको विराटनगरमा आइएमइ ब्याङ्क लुटेर भाग्दै गर्दा एमाले नेतालाई प्रहरीले पक्राउ गरेको, केपीको आदेशमा पार्टीको खर्चको लागि यो काम गरेको सो व्यक्तिले बयान दिएको र रिहाईका लागि महेश बस्नेत र गोकुल बास्कोटा लगायतका नेताले प्रहरीलाई दवाव दिइरहेको दावी गरिएको छ।
हेर्नुस स्क्रिनसट (अर्काइभ)
यो तथ्यजाँच तयार पार्दासम्म २८१ जनाले रियाक्ट गरेको उक्त पोस्ट ५०३ पटक सेयर गरिएको छ भने १२३ वटा कमेन्टसमेत रहेका छन्।
यस्तै दावी स्मृति टंक बोहरा नामक फेसबुक प्रयोगकर्ताले पनि फेब्रुअरी २४ मा पोस्ट गरेकी छिन्। अर्काइभ लिङ्क
फेब्रुअरी २५ मा केदार प्रसाद जोशीले पनि सोही फोटो पोस्ट गर्दै उस्तै दावी गरेका भए पनि उनले चाहिँ सो व्यक्ति एमाले नभई माओवादी नेता भएको र प्रचण्डको आदेशमा ब्याङ्क लुट्न गएको हो र रिहाईका लागि अग्नि सापकोटा र वर्षमान पुन लगायतका नेताले दवाव दिइरहेका लेखेका छन्।
हेर्नुस् स्क्रिनसट (अर्काइभ लिङ्क)
कति रियाक्सन आयो भनेर हेर्न नमिल्ने बनाइएको उक्त पोस्ट हामीले तथ्य जाँच गर्दासम्म १९९ पटक सेयर गरिएको छ।
यसैगरी, राज माइकल नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी २४ कै दिन सोही दावीका साथ नेपाल कम्युनिष्ट पार्टी एमाले नामक फेसबुक ग्रुपमा सेयर गरेका छन्। यो तथ्यजाँच तयार पार्दा सम्म २९८ जनाले रियाक्ट गरेको सो पोस्ट २२६ पटक सेयर गरिएको छ। उक्त पोस्टमा ८६ कमेन्ट समेत रहेका छन्।
हेर्नुस् स्क्रिनसट (अर्काइभ लिङ्क)
कमेन्ट लेख्ने अधिकांशले पोस्टमा दावी गरेकै विषय पत्याएको जस्तो देखिएको तथा त्यसमा देखिने व्यक्तिबारे फरक फरक दावी आएको देखेपछि हामीले यसमा तथ्य जाँच गर्ने निर्णय गर्यौँ।
के हो तथ्य?
फेसबुक पोस्टहरुमा विराटनगरमा आईएमई बैँक लुटिएको दावी गरिएको छ। तर यो नामको कुनै बैँक छैन। नेपालमा ग्लोबल आईएमई नामको बैँक भए तापनि यो बैँक वा अन्य कुनै बैँक हालै लुटिएको समाचार कुनै पनि विश्वसनीय मिडियामा देखेनौँ।
भाइरल पोस्टमा फोटो पनि थियो। फोटोलाई हामीले रिभर्स इमेज सर्च गरेर हेर्यौँ। यस क्रममा हामी हिमालखबरमा प्रकाशित एक समाचारमा पुग्यौँ।
हिमाल खबरमा २०८१ जेठ २० गते प्रकाशित समाचारमा देखिएको फोटो र फेसबुकमा एमाले र माओवादी नेता भन्दै भाइरल भइरहेको फोटो दुरुस्तै मिलेको पाइयो।
समाचारका अनुसार फोटोमा देखिने व्यक्ति सुनसरीको हरिनगर गाउँपालिका-५ का ३७ वर्षीय ईसा अन्सारी हुन्। बा १६ च ७६१३ नम्बरको गाडीमा स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्टको टोलीले बरामद भएको समाचारमा उल्लेख गरिएको छ।
हेर्नुस् हिमालखबरमा प्रकाशित समाचारको अर्काइभ लिङ्क।
हेर्नुस् स्क्रिनसट-
यसैगरी अन्य सञ्चारमाध्यमले पनि यही फोटो राखेर इसा अन्सारी स्रोत नखुलेको रकम सहित पक्राउ परेको उल्लेख गर्दै समाचार प्रकाशित गरेका छन्। हेर्नुस् उकेरा, देशसञ्चार र खबरहब मा प्रकाशित समाचार।
यसबारे थप बुझ्न हामीले महान्यायाधिवक्ताको कार्यालयको वेबसाइटमा उपलब्ध अभियोगपत्रको अभिलेख पल्टाएर हेर्दा हुण्डी कारोबारमा इसा अन्सारीलाइ प्रतिवादी बनाइएको एक अभियोगपत्र फेला पर्यो।
इसा अन्सारी सहित अन्य व्यक्तिलाइ पनि प्रतिवादी बनाइएको सो अभियोगपत्रमा उल्लेख गरिएको गाडी नं बा १६ च ७६१३ र कूल रकम रु एक करोड एक लाख बरामद भएको साथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट वसन्तपुरसहितको व्यहोरा हिमालखबरको समाचारसँग दुरुस्तै मिलेको पाइयो।
सो मुद्दाको अवस्थिति बुझ्न हामीले सुनसरी जिल्ला अदालतको वेबसाइटमा प्रत्येक दिनको पेशी सुची पल्टाएर हेर्यौँ। पेशी सुची हेर्दै जाँदा साउन ९ गतेको पेशी सुचीमा इसा अन्सारी विरुद्धको हुण्डी सम्बन्धी कसुरको पेशी चढेको फेला पर्यो। सामाजिक सञ्जालमा दावी गरिए जस्तो बैँक लुटेको नभई हुन्डीसम्बन्धी कसुरमा मुद्दा चलेको देखिन्छ।
हेर्नुस् मुद्दाको विवरण
यसर्थ, बैङ्क लुटेर भाग्दै गर्दा पक्राउ परेका कसैले एमाले र कसैले माओवादी नेता भनेर सामाजिक सञ्जालमा भाइरल बनाइएको पोस्ट भ्रामक सूचना हो। फोटोमा देखिए जस्तै व्यक्ति पक्राउ परेका त हुन् तर बैँक लुटेको कारण नभई हुन्डीसम्बन्धी कसुर मुद्दामा।
तथ्यजाँच
दावीः मोरङको विराटनगरमा बैँक लुटपाट गरेर भाग्दै गर्दा एक नेता पक्राउ परेको।
दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यः भ्रामक सूचना। हालै मोरङको विराटनगरमा बैँक लुटपाटको घटना भएको छैन। फोटोमा देखिने व्यक्ति बैँक लुटेकोमा नभई स्रोत नखुलेको एक करोड एक लाख सहित गत जेठ १९ गते पक्राउ परेका ईसा अन्सारी हुन्। उनीविरुद्ध हुन्डीसम्बन्धी कसुरमा मुद्दा चलिरहेको छ।