तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

पत्रकार रजकको पोस्टमार्टम गरिएकै छैन, शरीरमा गोली भेटिएको खबर गलत


पत्रकार रजकको पोस्टमार्टम गरिएकै छैन, शरीरमा गोली भेटिएको खबर गलत

चैत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा तीनकुनेस्थित एउटा भवनमा भएको आगजनीमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

तर, हाम्रो तथ्यजाँचले यो सूचना मिथ्या रहेको पुष्टि गरेको छ। रजकको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा लगिएको भएतापनि पोष्टमार्टम सुरु नै गरिएको छैन।

दावी के छ ?

२०८१ चैत १२ गते ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले काठमाडौँस्थित तीनकुनेमा विरोध प्रदर्शन गरेको थियो । सोही प्रदर्शन हिंसात्मक बन्दा तीनकुनेको एक घरमा आगजनी तथा ढुंगामुढा गरिएको थियो। सोही घरमा बसेर भिडियो कैद गरिरहेका भनिएका पत्रकार सुरेश रजकको आगोले जलेको शरीर त्यहाँ भेटिएको थियो।

सोही घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका दावी गरिएको छ।

१७ लाख भन्दा बढी फलोअर्स भएको नेपाली न्यूज नामक फेसबुक पेजमा मार्च ३० मा एउटा स्टाटस पोस्ट भएको छ। स्टाटसमा ‘चैत्र १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोलि भेटिएको छ भन्ने कुरो आएको छ! सत्य के होला?’ लेखिएको छ ।

हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक

 

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २९०० रियाक्सन, ३४४ कमेन्ट र ६२५ पटक सेयर गरिएको छ। अर्थात् पोस्ट भाइरल भइसकेको छ।

३३०० फलोअर्स रहेको सोहित विष्ट नामक फेसबुक पेजमा पनि सो सूचना हालिएको छ।

हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा ७९३ रियाक्शन, १२६ वटा कमेन्ट र ४५८ पटक सेयर गरिएको छ।

मोटे ग्याङ नेपाल नामको फेसबुक पेजले पनि ब्रेकिङ न्युज भन्दै सोही सूचना सेयर गरेको थियो। तर हामीले पछि हेर्दा भने उक्त पोस्ट बिना सूचना हटाइसकिएको थियो। हेर्नुस् स्क्रिनसट-

तीन हजार सात सय फलोअर्स रहेको कमल थापा नामक फेसबुक प्रोफाइलमा पनि यो सूचना पोस्ट भएको छ। यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा १४०० रियाक्सन, ३०१ वटा कमेन्ट र २६६ पटक सेयर गरिएको छ।

सोही सूचना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सेयर गरेका छन्।

तथ्य के हो ?

यो विषयको तथ्यजाँच गर्नका लागि हामीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीलाई सम्पर्क गर्‍यौँ। उनले शव फरेन्सिक विभागमा राखिएको भएतापनि पोष्टमार्टमको काम सुरु नभएको बताए।

उक्त घटनाको अनुसन्धान भइरहेकाले पोष्टमार्टमको काम सुरु नभएको उनको भनाइ थियो।

“हामीले पोष्टमार्टमको काम सुरु नै गरेका छैनौँ” उनले भने ।

सोही विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले पनि पत्रकार रजकको पोष्टमार्टम नभएको भन्दै विज्ञप्ति जारी गरेको छ।

उक्त दिन भएको घटनाहरुका सन्दर्भमा यस कार्यलयबाट सुक्ष्म अनुसन्धान भइरहेको साथै निज मृतकको पोष्टमार्टम कार्य नै भइनसकेको अवस्थामा विभिन्न सामाजिक सञ्जालहरुमा चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ लगायतका गलत र भ्रामक शीर्षक राखी भ्रम फैलाइएको छ” विज्ञप्तिमा भनिएको छ।

हेर्नुस्, विज्ञप्ति

यसैगरी सामाजिक सञ्जाल फेसबुकमा आफूलाई मृतक सुरेश रजकको दाजु बताउने रमेश रजकले पनि ‘भाइको शव अहिले टिचिङ अस्पतालमा रहेको र पोस्टमार्टम अझै नभएको’ जानकारी गराएका छन्।

तथ्यजाँच

दावी : राजावादी आन्दोलनको क्रममा भएको आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टमा रिपोर्टमा शरीरमा गोली भेटिएको छ।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यजाँच : मिथ्या सूचना। पत्रकार रजकको शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा लगिएतापनि उनको पोष्टमार्टम सुरु गरिएको छैन। नेपाल प्रहरीले पनि एक विज्ञप्ति जारी गर्दै रजकको पोष्टमार्टम सुरु नै नभएको उल्लेख गरेको छ। त्यसैले यो सूचना मिथ्या हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add